एक वर्षभित्र प्रदेश ५ पूर्ण साक्षरः मन्त्री बराल

सराङकोट न्यूज
29 March, 2018 11:42 am

१५ चैत, बुटवल । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेश ५ लाई एक वर्षभित्र पूर्ण साक्षर बनाउने बताएका छन् ।

शिक्षाको विकास विना समृद्धिको कल्पना गर्न नसकिने भन्दै उनले प्रदेश सरकारले बनाउने नीति तथा कार्यक्रममा प्रदेशलाई साक्षर बनाउने योजना पहिलो प्राथिमकतामा रहेको बताए ।

Advertisements

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसान (एनप्याब्सन) ले शिक्षामा सुधारका लागि बुझाएको अवधारणापत्र बुझेपछि मन्त्री बरालले प्रदेशलाई पूर्ण साक्षर बनाउने अभियानमा आवश्यक परे आफू र मन्त्रालयका सचिवहरु समेत खटिने बताए । ‘म आफै पनि प्रौढ शिक्षा पढाउन जानुपरे जान्छु,’ उनले भने ‘प्रदेशका सबै नागरिकलाई ल्याप्चे ठोक्ने हैन,हस्ताक्षर गर्न सक्ने बनाउने मेरो लक्ष्य छ ।’

मन्बी बरालले सरकारी विद्यालयका शिक्षकहरुले तलब सुविधा अनुसार राम्रोसँग नपढाएकाले शैक्षिक स्तर खस्केको स्वीकार गरे ।

नीजि विद्यालयका शिक्षकहरुले मेहनत गरेकाले नै नतिजा राम्रो आएको उल्लेख गर्दै उनले नीजि क्षेत्रको योगदान बिर्सन नमिल्ने बताए ।

नगरपालिका र गाउँपालिकामा प्राविधिक शिक्षालय तथा प्रत्येक जिल्लामा कम्तीमा एउटा स्नातकसम्म पढाई हुने विज्ञान कलेज स्थापनाको योजनालाई प्रदेश सरकारले अगाडि बढाउने बताए ।

एन प्याब्सनका केन्द्रीय सदस्य कृष्ण पौडेल र प्याब्सनका केन्द्रीय सल्लाहकार लोकनाथ उपाध्यायले संयुक्तरुपमा अवधारणा पत्र बुझाउंदै सामुदायिक तथा संस्थागत विद्यालय र विद्यार्थीबीच विभेद नगर्न माग गरे ।

उच्च शिक्षा अध्ययनमा नीजि विद्यालय पढेका उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्तिमा सहभागी नगराइनु अन्याय भएको उनीहरुको गुनासो छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: