समिति त्यागेर कम्पनीका नामबाट गुड्न थाले सुविधाजनक बस

सराङकोट न्यूज
20 April, 2018 3:43 am
Advertisements

समिति त्यागेर कम्पनीका नामबाट दाङमा सुविधाजनक बसहरु संचालन हुन थालेका छन्। समितिबाट भएको एकाधिकारको विपक्षमा वकालत गर्दै आएका व्यवसायीले कम्पनीमार्फत सुविधाजनक नयाँ बस गुडाउन थालेका हुन्।

राप्ती समितिबाट अलग भएका व्यवसायी वामदेव खनालले ‘नमस्ते राप्ती यातायात प्रालि’ नामक कम्पनीमार्फत बस गुडाउन थालेका छन्। सिन्डिकेटकै कारण समितिमा रहेर पनि आफूले पुराना बस हटाउन नपाएको बताउँदै उनले नयाँ बसहरु समेत थपेर कम्पनीमार्फत सेवा दिन थालेको जानकारी दिए।

खनालको कम्पनीले बिहीबारबाट दाङको तुलसीपुर–काठमाण्डौं, तुलसीपुर–सल्यान–रुकुम, तुलसीपुर हुँदै घोराहीको मुकुर्टी लगायतका रुटमा सुविधासम्पन्न नयाँ बस सञ्चालन गर्न थालेको छ।

उनले तुलसीपुर हुँदै छिमेकी देश भारतको दिल्लीसम्मका लागि समेत गाडी सञ्चालन गर्न लागिएको बताए। तुलसीपुर–घोराहीमा २ वटा बस सञ्चालनमा ल्याइने उनले बताए। अन्य रुटहरुमा भने कम्पनीका एउटा–एउटा गाडी सञ्चालनमा छन्। अन्य थप सातवटा नयाँ बस भारतको दिल्लीमा तयार हुँदै गरेको खनालले बताए। ति बसहरु ल्याएपछि रुटहरु थप व्यवस्थित हुने उनको भनाई छ।

‘हामीसँग यसअघि नै एसी र डिलक्स गाडिहरु थिए, ति पनि समितिबाट निकालेर कम्पनीमार्फत सञ्चालन गर्न थालेका छौँ’ कम्पनी अध्यक्ष खनालले भने।

वैशाख १ गते मात्रै उनको कम्पनी स्थापना भएको हो। राप्ती समितिमा बर्षौंसम्म पदाधिकारीको भूमिकामा रहेर काम गरेका केही व्यक्तिहरु समेत अहिले उनको कम्पनीमा आबद्ध छन्। ‘अहिलेको समय प्रतिपर्धाको युग हो, स्तरीय सेवा दिने उद्देश्यले प्रालिमा गएका हौँ’ खनालले भने।

स्वच्छ प्रतिपर्धाको लागि नयाँ रुटहरुको खोजी गर्दै स्तरीय सेवा दिनु आफूहरुको मुख्य उद्देश्य रहेको उनले बताए।

विभिन्न समितिमा रहेकाले पनि प्रालिमा आउने चाहाना व्यक्त गरेको उनले बताए। ‘अब पुरानै ढर्राले कुनै पनि सेवामा प्रतिस्पर्धा हुन सक्दैन’ खनालले भने ‘समितिहरुबाट सोचे अनुरुपको सेवा प्रदान गर्न संभव नदेखेरै प्रालि खोलेको हुँ।’

समितिमा रहँदा खुल्ला प्रतिस्पर्धात्मक तवरले नयाँ बसहरु थप्न र संचालन गर्न नपाएको गुनासो केही व्यवसायीहरुले गर्दै आएको खनालले बताए।

यसैबीच राप्ती अञ्चल सार्वजनिक यातायात समितिले समेत संचालन हुने गाडीहरुलाई कुनै अवरोध नगर्ने जनाएको छ।  दुई वर्षअघि पहिलो पटक दाङमा कालिका यातायात प्रालिले सेवा सुरु गर्दा गाडिमाथि तोडफोड, झडप र कुटाकुट भएपनि यसपटक कुनै अवरोध सृजना नगर्ने समिति पदाधिकारीहरुले बताए।

स्रोत: सेतोपाटी डट कम

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: