नेविसंघमा तीन गुट तिन तिर

सराङकोट न्यूज
14 August, 2018 3:08 am

आधिकारिकता विवाद उग्र, कार्यकर्ता अन्योलमा

यदुनाथ बञ्जारा

नेपाली कांग्रेसको केन्द्रीय तहमा रहेका गुटको प्रभाव भातृ संगठनहरुमा सरेपछि कार्यकर्ताहरु किकर्तव्यविमूढ भएका छन् । कास्कीमा पनि गुटगत प्रभाव छताछुल्ल हुन पुगेको छ । पार्टीको नेतृत्व पंक्ति नै गुटगत राजनीतिबाट अलग हुन नसकेपछि जिल्ला देखि इकाई सम्म गुटको प्रभाव परेको छ ।
खासगरि नेपाल विद्यार्थी संघमा गुटगत प्रभाव उत्कर्षमा पुगेको छ । विगत लामो समय देखि सुल्झन नसकेको यो समस्या झन् पछि झन् पेचिलो वन्दै गएको छ । एक ढिक्का भएर लड्नु पर्ने, संगठन गर्नु पर्ने युवा शक्ति सैदान्तिक आस्थालाई केन्द्र मानेर अघि वढ्नु पर्नेमा एउटा नेताको पुच्छर समातेर जिल्ला तहमा नेतृत्वको वैतरणी तर्न खोज्ने पात्र र प्रवृत्तिका कारण पार्टी कमजोर वनेको तितो यथार्थ कोही कसैबाट लुकेको छैन ।
नेविसंघको केन्द्रिय नेतृत्ववाटै सुरुआत भएका गुटगत राजनीति अभिसाप वनेर जिल्ला जिल्लामा पुगेको छ । नैनसिंह महर जो नेविसंघको अध्यक्ष छन् उनि स्वयम् सभापति शेर बहादुर देउवाको पुच्छर समातेर वैतरणी तर्न खोजेपछि छुटेकाहरुले अर्को गाइको पुच्छर समातेर वैतरणी तर्न खोजेको देखिन्छ तर यसको निवारण कसले गर्ने ? केन्द्रिय नेतृत्वमा देखिएका देउवा, रामचन्द्र र सिटौटा गुटको लाइन अधिकांस भातृ संस्थामा देखिएका छन् । कतिपय संगठनले जवर्जस्त मिलाएर लगेका छन् तिनीहरुमा अन्तसंघर्ष जारी रहेको छ लोकतान्त्रिक पार्टी भित्र वैचारिक अन्तरसंघर्ष हुनुलाई अन्यथा मान्न सकिन्न तर सतहमै उत्रिएर पदका लागि अरुको हैसियत नै नसहने, अस्तित्व नै नस्वीकार्ने प्रवृत्ति परस्पर विरोधी मात्र हैन घातक पनि हुने गरेको छ ।
नेपाल विद्यार्थी संघले यति खेर जिल्ला जिल्लामा अधिवेशन गर्ने, नेतृत्व चयन गर्ने वेला हो तर अधिकांस जिल्लामा परस्पर विरोधी गुटहरु छताछुल्ल भएर सतहमै आएका छन् । कुन नेतृत्व आधिकारिक ? हाम्रा यि प्रश्नहरुले यथार्थ जवाफ पाएको छैन । सवै जसो नेतृत्वमा पुगेकाहरु भन्छन्, हामी मात्र आधिकारिक तर आधिकारिकताको आधार के ? उत्तर आउँछे “नेताको निर्देशन” हो सवै गुटका नेताको आ आफ्नै निर्देशन छन् ।
कसैको लिखित त कसैको मौखिक निर्देशन । त्यहि निर्देशनका आधारमा गठित समितिहरु तिन धुर्वमा विभाजित छन् । एउटै व्यक्तिलाई तीनवटै समितिमा राखिएकाछन् ।
कास्कीमा यस्तै भएको छ । वर्षौ देखि कास्कीले सर्वसम्मत नेतृत्व पाउन नेविसंघले पाएको छैन । नेतृत्वको आलोचना स्वभाविक हो वहस, टिप्पणी, अन्तरसंघर्ष पनि स्वभाविक हो तर समानान्तर समितिको गठनले संगठनलाई मात्र हैन पार्टीलाई पनि फसाएको छ । हुनत पार्टीका नेतृत्वबाट सिर्जित पालित पोषित गुटगत प्रवृत्ति नै यसमा मुख्य दोषी छन् ।
पाटी सभापति देउवाले रामचन्द्र पौडेल र कृष्ण सिटौलालाई रिझाउन नसक्दा देखिएको यो रोग भाइरस वनेर फैलिइसकेको छ । देउवा गुटका नेविसंघ अध्यक्ष नैन सिंह महरको सिफारिसमा कास्की नेविस.घका अध्यक्ष वनेका विकाश थापालाई चुनौती दिदै सिटौला गुटका केन्द्रिय उपाध्यक्ष दिल्ली सुवेदी लगायतले परशुराम वस्नेतको नेतृत्वमा नेविसंघ कास्कीको समानान्तर समिति घोषणा गरेका छन् । सिटौंला गुटको समिति वने लगतै रामचन्द्र पौडेल गुटको नेतृत्व गर्दै विक्रम आदित्य सिंह गिरीले कास्की नेविसंघमा आफ्नो नेतृत्वको अर्को समानान्तर समिति घोषणा गर्दैछन् । मंगलबार बुधवार भित्रै समिति घोषणा हुने गिरीले सराङकोटलाई वताए । केन्द्रिय सह महामन्त्री इश्वर वहादुर विस्टको निर्देशनमा गिरीले नेविसंघ कास्कीको समानान्तर समितिको घोषणा तयारी गरेको बताइएको छ ।
कार्तिकमा नेविसंघको केन्द्रिय महाधिवेशन हुने तय भएको छ । जिल्ला जिल्लामा व्याप्त विवाद मिल्नुको साटो वल्झदै गएको छ । तीनवटै गुटका नेताहरु केन्द्रमा वसेर गाइजात्रा हेरिरहेका छन् । केन्द्रिय समितिले नितिगत निर्णय गरेर दिनु पर्ने टिकट खल्तीको खाजा झै गरि नेताहरुले व्यक्तिगत रुपमा वाढ्न थालेपछि विवादको गाँठो फुक्नुको साटो कसिदै गएको छ । नेताले केन्द्रबाट व्यक्तिगत रुपमा टिकटको हण्डी वाढ्न थालेपछि इमान्दार र दुःख गरेका कार्यकर्ताहरु पाखा लगाइएको छ भने नेताका निकटका व्यक्तिहरुले अवसर पाएका छन्। नीति भन्दा नेताले प्रश्रय पाउन थालेपछि क्रियासिल कार्यकर्ताहरुले आफू दण्डित भएको महसुस गर्न वाध्य भएका छन् । पार्टीमा देखिएको तीन नेताको गुटको स्कुलिङ जस्ताको तस्तै जिल्ला र इकाई सम्म आइसकेका छन् । यहि अवस्था रहेमा केन्द्रले हस्तक्षेप गर्ने र तीनै गुटबाट भागवण्डामा केन्द्रिय प्रतिनिधिको लागि मोलमोलाई गर्ने संकेत देखिएको छ । प्रतिनिधिको मतका आधारमा केन्द्रिय नेतृत्व हत्याउनु पर्ने भएपछि देउवा, सिटौला र पौडेल तीनै गुटले अस्तित्वको लागि गर कि मरको निति लिने अवस्था देखिएको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: