फुटपाथमा पेट्रोल वम, सरकार मौन ! यात्रुलाई सास्ती, व्यापारीलाई मस्ती

सराङकोट न्यूज
2 October, 2019 2:38 pm
Advertisements
Advertisements

पेट्रोलियम पदार्थलाई अत्याधिक प्रज्वलनशिल पदार्थको रुपमा लिइन्छ । यसको ओसार पसार, सञ्चय तथा विक्री वितरणलाई उच्च सावधानीपूर्वक व्यवस्थापन गर्नु पर्दछ । तर त्यस्ता जोखिम पूर्ण व्यवसायमा अपनाउनु पर्ने सावधानीका न्यूनतम सर्त नअपनाउँदा पेट्रोलियम पदार्थको व्यवसायमा उच्च जोखिम रहेको पाइएको छ ।
घनावस्तीका सडक किनारा र पेटीमै राखिएको पेट्रोल पम्पहरुका कारण जनजीवन आतंकित वनिरहेको तर्फ सरकारी निकाय मौनता साँधेर वसिरहेको छ । राज्य नियन्त्रित व्यवसाय भएर पनि सडक किनारका वम जस्तै पेट्रोल पम्पहरुको सुरक्षा र व्यवस्थापमा कति पनि ध्यान गएको छैन । दुर्घटना भएर अपुरणिय क्षति भइसकेपछि मात्र चेत खुल्ने जिम्मेवार निकायको नियती टिठ् लाग्दो रहेको छ ।
सडक किनारामा राखिने पेट्रोल पम्प व्यवसाय समय सापेक्ष परिवर्तनसहित यथोचित व्यवस्थापन हुनु पर्छ भन्ने जान्दा जान्दै सवै पक्ष र सरोकारवाला निकायहरुको रहस्यमय मौनता विडम्वना पूर्ण रहेको छ ।
स्थानिय सरकार पोखरा महानगरपालिकाले साधारण व्यवसाय गर्ने व्यापारीहरुलाई फुटपाथे भन्दै धरपकड गर्दै नियन्त्रणमा लिने, समान जफत गर्दै आएको छ । त्यहि फुटपाथ कव्जा गरेर पेट्रोल पम्प संचालन गर्दै आएपनि त्यसको व्यवस्थापन र फुटपाथ खाली गराउन सकेको छैन ।
पोखरा महानगरका करिव आधा दर्जन पेट्रोल पम्पहरु फुटपाथको मापदण्डभित्र संचालित छन् । पैदल यात्रु हिड्ने ठाउँमा कार, ट्याक्सी र मोटरसाइकल स्कुटरले कव्जा गरेका कारण पैदलयात्रुहरु व्यस्त सडकमा झरेर हिड्न वाध्य छन् । आम सर्वसाधारण नागरिकले जोखिम पूर्ण ढंगले सडकबाट यात्रा गरि रहँदा न महानगरको ध्यान गएको छ न आयल निगमको । निगमलाई केवल आफ्नो तेल विक्री गर्ने भए पुग्छ । सडक, ट्राफिक प्रहरीले समेत प्रष्ट कानूनको अभाव भएको भन्दै सडक र फुटपाथको मापदण्ड भित्र रहेको पेट्रोल पम्पको व्यवस्थापनमा चासो दिएका छैनन्। सानालाई ऐन ठूलालाई चैन हेर्न पोखराका सडक पेटिका पेट्रोल पम्प नै काफी रहेकोे छ । यस वारेमा नागरिक समाज, आम संचार जगतले कुरा नउठाएको भने हैन । कुरा जति नै चर्काए पनि पम्प सञ्चालकहरुको अटेरी पना र सरकारी संयन्त्रको निरिहतावीच गज्जवको संयोग परेको छ । पेट्रोल पम्प आसपासको क्षेत्र समेत अत्यन्त जोखिमपूर्ण मानिन्छ। पेट्रोलियम पदार्थको जोखिम वुझेर सुरक्षा संयमता अपनाउन नसक्ने सर्वसाधारण जनताले सार्वजनिक सडकमै चुरोट सल्काएर हिड्ने गर्दा कतिखेर दुर्घटना हुने हो भन्ने कुनै ठेगान नहुने जानकारहरु वताउँछन्।

सडक र फुटपाथ मापदण्ड भित्रै पेट्रोल संचालन भइरहेको बारे सरोकारवालाहरु के भन्छन् ?

सडकपेटीका पेट्रोल पम्प बाध्यता

विनी श्रेष्ठ
प्रमुख, आयल निगम डिपो, गगनगौंडा

अहिले फुटपाथमा रहेका पेट्रोल पम्पहरु तत्कालिन अवस्थामा आयल नियमको आग्रहमा खोलिएका हुन् । वस्ती विकास हुनु अगाडि नै खोलिएका पम्पहरु अहिले सडक फराकिलो हुँदा वस्ती बाक्लिदा समस्याग्रस्त वनेका छन् । सुनसान ठाउँमा खोलिएका गगनगौंडा डिपो नै वस्तीको वीचमा परेको छ भने अत्याधिक प्रज्जवलन सिल पदार्थको व्यवसाय जोखिमपूर्ण रहेको छ ।
हामी सडकपेटीका पेट्रोल पम्पलाई प्रोत्साहन दिने पक्षमा छैनौ । नेपाल आयल निगम, सरकारको संस्थान भएकोले सरकारले कानूनमै व्यवस्था गरेर जोखिमपूर्ण पम्प विस्थापन गरेर नयाँ र सुरक्षित नमूना पम्प राख्न जोड दिनु पर्छ । डिपो प्रमुखको हैसियतबाट आफूले केहि गर्न नसक्ने तर पेटीका पम्प हटाउन सवैले पहल गर्नुपर्छ र आफूहरुले नविकरण गर्दा यथार्थ वस्तु स्थितिले पठाउने गरेका छौं । तर केन्द्रले सुनेको छैन । कुनै अप्रिय दुर्घटना हुनु अगाडि नै सावधानी अपनाउन जरुरी छ । सडक किनारैमा र पैदल यात्री हिड्ने ठाउँमा भएका पम्पहरु बढी जोखिममा छ्रन् ।
सडक पेटीमा पेट्रोल पम्प राखिँदा सर्वसाधारण जनताहरु सवैभन्दा वढी पीडित छन् । फुटपाथ तेल भर्ने कार जीप, मोटर साइकल र स्कुटरले कव्जा गरिदिँदा पैदल यात्रुहरु व्यस्त कालोपत्रे सडकमा झरेर हिड्न वाध्य छन् तर पनि व्यापारी हरु पेशागत अधिकार वोलिरहेका छन् उनिहरु नागरिकको अधिकारमा आँखा चिम्लिएका छन् भने राज्यका नियमनकारी निकायहरु जनउत्तर दायी वन्न आतुर छैनन् वरु विभिन्न वहानावाजी गरेर व्यवसायीलाई ढाडस दिइरहेका छन् ।
सरक्षाका दृष्टिले उच्च जोखिममा रहेका पम्पहरु हटाउन र त्यसको व्यवस्थापन गर्न स्थानिय सरकार पोखरा महानगरपालिका, प्रदेश सरकार आयल निगम, सडक डिभिजन ले दुरगामी कदम उठाउन जरुरी औल्याइएको छ । आमसंचार जगतमा पटक पटक खवरदारी भइरहेको वारे राज्यका निकायले चासो दिन जरुरी छ ।

राज्यले पेट्रोल पम्प सम्वन्धि कानून कार्यान्वयन गर्न जरुरी

सुरेन्द्ररमण पराजुली
अध्यक्ष, गण्डकी धौलागिरी पेट्रोलियम ढु.व्य. संघ

सडक पेटी आसपास जोडिएका पम्पहरु व्यवसायिक र मानवीय दुवै रुपले जोखिममा छन् । सुरक्षित ढंगले पेट्रोल पम्पहरु व्यवस्थापन गर्न जरुरी छ । राज्यका निकायले समय सिमा दिएर विकल्प सहित व्यवस्थापन गर्न जरुरी हुन्छ । नेपाली जनमानसमा पेट्रोलियम पदार्थको जोखिम र संवेदनसिलता वारे चेतना अति न्यून भएका कारण चुरोट सेवन गर्दै सडक पेटीमा निर्वाध हिडिरहेका हुन्छन्, फुटपाथमै पेट्रोल पम्प हुँदा सानो असावधानी ले ठूलो नोक्सानी पार्ने खतरा हुन्छ । राज्यले पेट्रोल पम्प सम्वन्धि कानून कार्यान्वयन गर्न जरुरी छ । एउटा पम्प र अर्को पम्पको दुरी कार्यान्वयन नै गरिएको छैन । यसवाट पनि अराजकता मौलाएको छ । कानून लागू गर्दा सवैलाई समान लागु गर्नु पर्छ ।

सडकपेटीको वेथितीबारे महानगर चुप बस्दैन

मान बहादुर जि.सी.
प्रमुख, पोखरा महानगरपालिका

फुटपाथ पैदल यात्रीले प्रयोग गर्ने मार्ग हो । फुटपाथमा हुने जुनसुकै प्रकारको व्यापार, व्यवसाय अवैध कार्य हो । पोखराका सडक र पेटीमे राखिएका पेट्रोल पम्पका कारण पैदल यात्रुलाई हिड्डुल गर्न समस्या परेको विषयमा महानगर जानकार छ । हामीले पेट्रोल पम्प व्यवसायको कारण सिर्जित समस्यावारे पहिचान भई सकेको छ । सहरी सडक यातायात व्यवस्थापन समितिले सो को वारेमा अध्ययन गरेर कार्य अगाडि वढाइसकेको छ । विगतमा अनुमती दिएको वारे व्यवसायीको भनाई प्रति हामी जानकार छौ त्यसो भन्दैमा सडक पेटीको  वेथिती वारे महानगर चुपचाप वस्न सक्दैन ।
हामीले स्थानिय प्रशासन र सरोकारवाला व्यक्ति र समूह राखेर केहि समय दिएर मापदण्ड विपरित खुलेका पम्पहरु व्यवस्थापन गरिन्छ । पोखराको नयाँ वजार क्षेत्र लगायत वजार क्षेत्र जहाँ जनघनत्व वढी छ ति स्थानहरुको जोखिम र सम्भाव्यता वुझेर महानगर अवैध पेट्रोल पम्प व्यवस्थापनमा होमिन लागेको छ जसरी भएपनि हामी कानून सम्मत ढंगवाटै सडक पेटीका पम्प हटाउँछौं ।

सडकपेटीका पम्प हटाउन सकिन्न

राजन गोंगजु
अध्यक्ष, पेट्रोलियम डिलर्स एसोशिएसन, गण्डकी

हाल सञ्चालनमा रहेका सडक पेटीका पम्प लगायत सवै पम्पहरु तत्कालिन सरकार र तिनका निकायहरुले दिएका हुन् हामीले आफू खुसी राखेका हैनौं। अहिले जनघनत्व वढेपछि, सडक चक्लाएपछि पम्प पेटीमा देखिएका हुन्। यस परिवेशमा पेटीमा हिड्ने यात्रुहरुलाई परेको समस्या हामी सम्वोधन गर्न सक्दैनौ । सरकारले नै मापदण्ड सच्चाएर पम्प व्यवसायीलाई न्याय दिनुपर्ने हुन्छ । पेटीको पम्प हटाउन सरकारले हेरिदिनु पर्ने हुन्छ । गगन गौंडा डिपो नै वस्तीको वीचमा रहेको छ भने पेट्रोल पम्प सडक पेटीमा हुनु ठूलो कुरा नभएको गोगजुले वताए । सडक किनार र पेटीमा जोडिएका पम्प हटाउने पक्षमा व्यवसायी सहमत हुन सक्दैनन् ।

क्षतिको जिम्मेवारी निगम र व्यवसायीले लिनुपर्छ

कपिलनाथ कोइराला
संयोजक, उपभोक्ता मञ्च, गण्डकी

पेट्रोल पम्प व्यवसायीलाई पेट्रोलियम पदार्थ विक्री वितरण निर्देशिका वमोजिम व्यवस्थित गरिनुपर्छ ।

समुदायको सुरक्षालाई मध्य नजर गरी सुरक्षित व्यवसाय गर्नु गराउनु निगम र पम्प मालिकको दायित्व हो । आज सम्म अप्रिय दुर्घटना भएको छैन भन्दै हेलचेक्र्याई गरिरहने हो भने कुनै पनि बेलामा भयानक घटना घट्न सक्छ त्यस पूर्व नै सडक पेटीका पम्पहरु विस्थापन गरिनु पर्छ हैन भने भोली कुनै पनि जनधनको क्षति भएमा त्यसको सम्पूर्ण जिम्मेवार सम्वन्धित व्यवसायी भई क्षतिपूर्ति दिन व्यवसायी तयार हुनु पर्छ । नियमनकारी निकायको वेलैमा चेत खुलोस् ।

अव बन्ने पम्पहरु प्रकृया र मापदण्ड पुरा गरेर मात्र खोल्नु पर्छ

ई. कल्याण खड्का
निमित्त प्रमुख, सडक डिभिजन पोखरा

पोखराका कतिपय पेट्रोल पम्पहरुका कारण समस्या वल्झिएको, खतरा वढाएको सडक कार्यालयलाई जानकारी आएको छ। हामीले तत्कालिन अवस्थामा कसरी स्वीकृति दियो भन्ने तर्फ लाग्नु भन्दा अवको समाधान कै हुन सक्छ भन्ने तर्फ लाग्नु आवश्यक छ । सडक पेटी किनाराका पम्पहरु उच्च खतरामा रहन्छन् । सडकको मापदण्ड वमोजिम पम्प वनाउन र संचालन गर्न जरुरी छ । अव वन्ने पम्पहरु प्रकृया र मापदण्ड पुरा गरेर मात्र खोलिन्छ भइरहेका पम्पहरुको वातावरणीय सुरक्षा नीति वमोजिम संचालन गर्नुपर्छ ।

 

 

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: