चण्डिका स्कूलको जग्गा संरक्षण माग गर्दै स्थानीय

सराङकोट न्यूज
1 January, 2020 11:44 am
Advertisements
Advertisements

पोखरा १६ अम्वरेमा रहेको चण्डिका आधारभूत विद्यालयको जग्गा संरक्षणको माग गर्दै स्थानिय अम्मरे र डाँडा थोक वासीहरु राज्यका निकायहरुको ढोका ढोका चाहार्न वाध्य भएका छन् । उक्त विद्यालयको जग्गा हडप्न नजिकै रहेको मातृशिशु अस्पतालले विभिन्न शक्ति केन्द्र प्रयोग गर्दै आएको खवर सार्वजनिक भइरहेको छ ।
२०७६ वैशाख देखि नै चण्डिका स्कूललाई हटाएर वाल अस्पताल निर्माण गर्ने विषयमा पत्राचार गरिएको थियो । तत्कालिन विद्यालय व्यवस्थापन समितिले विद्यालयको जग्गा नदिने अडान लिदै आएको थियो । विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन भए लगत्तै मातृशिशु अस्पताल व्यवस्थापन समितिको सेटिङ वमोजिम अनिरुद्र थापा को अध्यक्षतामा रहेको विद्यालय व्यवस्थापन समितिको मंसिर २२ गतेको वैठकले विद्यालयको जग्गा मातृ शिशु अस्पताललाई दिने निर्णय गरेपछि विद्यालयको नाममा रहेको जग्गा मासिने अवस्था आएको प्रति स्थानिय समुदायले चिन्ता व्यक्त गरेका छन् । तीन दशक पुरानो उक्त विद्यालयमा हाल ८६ जना विद्यार्थीको निःशुल्क अध्ययन गरिरहेका छन् ।
आफ्नो टोलमा रहेको गरिव दुखी जनताको छोराछोरी पढ्न २०४७ सालमा स्थापना भएको विद्यालयको जग्गा हड्पने कार्यमा वडा कार्यालय १६ समेतले मंसिर २७ गते वडा समितिको वैठक वसी जग्गा उपलव्ध गराउन पोखरा महानगरपालिका समक्ष सिफारिस गर्ने निर्णय गरेर पत्राचार गरिसकेको छ ।
कि.नं. ४६ को ५८७५ वर्गमिटर को जग्गामा कक्षा ५ सम्मको पठन पाठन हुदै आएको छ । सरकारको निति वमोजिम उक्त विद्यालय आधारभूत तह कक्षा ८ सम्म विस्तार गर्नु पर्दछ । हाल तीन वटा भवन रहेको उक्त चण्डिका प्रा.वि. को शैक्षिक गुणस्तरमा अपेक्षाकृत सुधार आएपछि वर्षेनी विद्यार्थी संख्या वढ्द गएको छ । ढाडै सेक्ने निजि विद्यालयको शुल्कवाट पिडित हरुको लागि निर्विकल्प शैक्षिक तन्तव्यमा रहेको सामुदायिक विद्यालयलाई जोगाउनु पर्ने जिम्मेवारी वोकेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सदस्यहरु नै विद्यालय मास्ने खेलमा सकृय रहेको पाइएको छ ।
विद्यालय व्यवस्थापन समितिले पदिय अख्तियारी विपरित काम गरी विद्यालयको जग्गा मास्ने कार्य गरेको भन्दै विद्यालयका जग्गाको रक्षा गरी गलत निर्णय गर्ने विव्यसलाई कारवाही गर्न स्थानिय समुदायको तर्फबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अख्तिार कार्यालयले विद्यालयको जग्गा स्वास्थ्य संस्थालाई दिने निर्णय सम्वन्धमा छानविन गरिने वताएको छ ।
यस्तै महानगरपालिका समक्ष पनि विद्यालयको जग्गा संरक्षणको माग गर्दै मेयर समक्ष निवेदन हालिएको छ । मेयर मान बहादुर जिसीले विद्यालयको जग्गा स्वास्थ्य संस्थामा हस्तान्तरण गर्ने कार्य सहज नरहेको प्रतिकृया दिएका छन् । महानगर शिक्षा महाशाखा प्रमुख गंगा वहादुर गुरुङ ले पनि शिक्षाको जग्गा स्वास्थ्य अन्तर्गत जान र लान नमिल्ने वताए । विव्यसले निति नियम विपरित गरेको निर्णय वदर गरेर सामुदायिक विद्यालयको गुणस्तर सुधार र उचित व्यवस्थापन गर्न जरुरी रहेको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: