प्रेस युनियनले मनायो २९ औं स्थापना दिवस

सराङकोट न्यूज
26 May, 2020 12:07 pm
Advertisements
Advertisements

नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सांसद सूर्यबहादुर केसीले प्रेस जगतले लिपुलेकको कुरा उठाएपछि मात्र सीमा विवाद राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय मुद्धा बनेको बताएका छन् । उनले सत्तामा बस्नेहरूले आफू टिक्नका लागि भएपनि सीमाका विषयमा दह्रो ढंगले कुरा उठाउन नसकेकै कारण समस्या बल्झिरहेको बताए ।
नेपाल प्रेस युनियनको २९औं स्थापना दिवसमा कास्की शाखाले आयोजना अवार्ड वितरण कार्यक्रममा नेता केसीले राज्यले सञ्चार जगतलाई जहिले पनि दुश्मनको रुपमा हेर्ने गरेको भन्दै यसबाट पत्रकार र सञ्चारकर्मी अझ धेरै सजक र सशक्त हुनुपर्ने खाँचो औंल्याए ।
लिपुलेक हाम्रा बाबुबाजेले आर्जेको सम्पत्ति भएकाले कुनै पनि हालमा छोड्न नहुने भन्दै उनले यसलाई फिर्ता लिन सबै एकतावद्ध हुन आवश्यक रहेको बताए ।
नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले मुलुकको प्रजातान्त्रिक आन्दोलनमा प्रेस जगतको भूमिका निकै महत्वपूर्ण रहेको भन्दै प्रजातन्त्र र प्रेस स्वतन्त्रताको विषयमा कलम अझै चलाउनुपर्ने आवश्यकता रहेको बताए । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले प्रेस युनियनले श्रमजीवि पत्रकारको आवाजमात्र होइन सिंगो पत्रकारिता जगतलाई नै अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको स्पष्ट पारे ।
युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष गंगाधर पराजुलीले श्रमजीवि पत्रकारको पेशागत हकहित र भौतिक सुरक्षाका लागि प्रेस युनियनको महत्व अझै धेरै रहेको स्पष्ट पारे । वर्तमान सरकार प्रेसप्रति अनुदार देखिएको भन्दै पराजुलीले प्रेस जगत र मिडियाको सवलिकरणका लागि राज्यले ध्यान दिन नसकेको बताए ।
नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष रवीन्द्र वाँस्तोलाले अहिलेसम्म पनि प्रेस स्वतन्त्रता प्राप्ति नभएको भन्दै प्रेस स्वतन्त्रताको आन्दोलन अझै गरिरहनुपर्नेमा जोड दिए । प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले युनियनलाई बलियो बनाएर अघि बढाउने आफ्नो सपना रहेको भन्दै यसमा युनियनकर्मी सकैको साथ आवश्यक पर्ने बताए ।
सम्मानित व्यक्तित्व तथा युनियनकी कार्यसमिति सदस्य अनिषा श्रेष्ठले पुरस्कारले आफूलाई जीवनभरि पत्रकारितामा लाग्ने प्रेरणा दिएको बताइन् । सदस्य श्रेष्ठलाई युनियनले वेष्ट अफ दी अवार्डबाट पुरस्कृत गरेको हो । अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य टंकराज अधिकारी, जिल्ला उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा र सचिव प्रदीप पौडेलले पनि बोलेका थिए ।
उक्त अवसरमा युनियनका कार्यसमिति सदस्य सुमन गुरुङ सडक दुर्घटनामा परी उपचाररत रहेकाले युनियनको तर्फबाट आर्थिक सहयोग गरिएको थियो ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: