फिर्के पुल अलपत्र पार्ने ठेकेदार गायव, २ वर्षमा १५ प्रतिशत प्रगती

सराङकोट न्यूज
16 September, 2020 9:02 am

नेपालका सार्वजनिक निर्माण सम्बन्धि काममा ढिलासुस्तीको रोग जुनसुकै सरकार आएपनि निको पार्न सकेन । वर्तमान वामपन्थी सरकारका पालामा सार्वजनिक निर्माणमा ढिलासुस्ती गर्ने, कमसल काम गर्नेहरुलाई कारवाहीको सट्टा संरक्षण गरिदै आएको पाइएको छ । निर्माण व्यवसायीहरुले सरकारका उच्च अधिकारी पार्टीका उच्च नेताहरुलाई रिझाएर राज्यकोषमा होली खेल्ने कार्यले संस्थागत मान्यता पाएको छ ।
स्याङ्जा सेती दोभानको पुल ५ वर्ष देखि अलपत्र छ । ल्वाङ घलेलको पुल ४ वर्षबाट अलपत्र रहेको भन्दै स्थानिय नागरिकहरु विरोधमा छन् तर सरकारका निकायहरु कालोसुचिमा राखेर कारवाही गर्नु पर्ने ठेकेदारहरुलाई ज्वाँइ जस्तै मानेर पालन पोषण गरिँदा सरकारी निर्माण कार्य गुणस्तर हिन र समय भित्र सम्पन्न हुन सकेका छैनन् ।
यस्तै एउटा ढिलासुस्तीको उदाहरण पोखरा मा पनि भेटिएको छ । पोखरा ५ मा निर्माण सम्झौता भएको दुई वर्ष पुरा भइसक्दा जम्मा १५ प्रतिशत पनि कार्यप्रगती हुन सकेको छैन डिभिजन सडक कार्यालय पोखराका इञ्जिनियर सन्तोष जंग थापाका अनुसार २०७५/६/८ मा १२ करोड ३२ लाखमा सम्झौता भएको फिर्के पुल २०७७ चैत्र ३० गते भित्र निर्माण सम्झौता गरिसक्नु पर्ने हो तर दुई वर्षमा जम्मा १५ प्रतिशत मात्र कार्य प्रगती भएको छ ।
शान्ती आरोग्य जेभी सानेपा ललितपुरले पाएको ठेक्का सक्नु पर्ने म्याद आउन अव ६ महिना मात्र वाँकी छ तर निर्माण व्यवसायी गायव छन् । झण्डै एक वर्ष पहिला झारेको रड खियाले रातो भएको छ । सडक कार्यालयले पटक पटक पत्राचार गरेको दावी गरेको छ तर निर्माण व्यवसायीले सरकारी पत्रको कुनै वास्ता नै गरेको छैन ।
सत्ता र शक्तिको आडमा मनोमानी काम गर्न पल्केका निर्माण व्यवसायीहरु राज्यको कानुनै सच्चाउने हैसियत राख्छन् भने कर्मचारीका कुरा किन सुन्थे ?
बाँकी ६ महिना र थप भएको म्याद ६ महिनामा ८५ प्रतिशत काम कसरी सम्पन्न होला त्यो हेर्न वाँकी छ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: