ठेकेदारको नजर, नदीमा डोजर ! अनुगमन र नियमन शून्य

सराङकोट न्यूज
16 February, 2021 5:14 pm
Advertisements

राज्यको निकायले गर्नुपर्ने अनुगमन र नियमन शुन्य हुँदा नदी खोलाका प्राकृतिक स्रोत साधनको दोहन अनियन्त्रित बन्दै गएका छन्। स्थानिय सरकारले ठेक्का लगाएर दिने घाट खानीहरुमा ठेकेदारहरुको एकलौटी राज चल्ने गरेको छ । ठेक्का दिँदा लेखिने सर्तहरु कागजी रुपमै सिमित हुने गरेका छन् । खोला नदीका किनारामा ‘कानुनी राज’ हैन केवल ‘ठेकेदार राज’ चल्ने गरेको छ ।
बालुवा खानी घाटहरुमा राज्यले तोकेका सर्त कानुन केहि चल्दैनन् । न रोयल्टीको दर लागु हुन्छ न भ्याट बिल नै काटिन्छ। गर्न नहुने कुरा मात्रै गरिन्छ ठेकेदारको तजविजमा । कसैले नियम कानुन खोजे दुख पाउँछ त्यसैले नदी खोलाका घाट खानीमा कोही केहि बोल्दैन । ठेक्का दिने स्थानिय सरकार र बाटोमा चेक जाँच गर्ने प्रहरी पनि त्यो रुटमा चेक जाँच नै गर्दैनन् । बालुवाको रोयल्टी सरकारले तोकेभन्दा बढी भयो भनेर पटक पटक उजुरी निवेदन हालेका गण्डकी ढुवानी प्रा.लि. का अध्यक्ष शिवु तामाङ भन्छन् “कतैबाट सुनुवाई भएन ।”

पोखरा महानगरले यो वर्ष ७ वटा प्याकेजमा ढुंगा गिट्टी वालुवाको ठेक्का लगाएको छ । त्यसबाट वार्षिक २२ करोड ७३ लाख १८ हजार ७ सय ६८ रुपैयाँ आम्दानी गर्छ। यति आम्दानी गर्ने ति घाटहरुको अनुगमन र कारवाही गर्ने कुनै संयन्त्र बनाएको छैन अनुगमन नै नहुने भएपछि गिट्टी वालुवा ढुंगाको मनपरी रोयल्टी असुल गर्न ठेकेदारलाई स्वर्ग नै भएको छ । यतिसम्मकी ठेक्का दिने सम्झौता पत्रमा समेत रोयल्टीको दर उल्लेख गरिएको छैन ।

नदीमै चल्छ डोजर

पोखरा महानगरपालिकाले लगाएको ७ वटा प्याकेजको घाट खानी ठेक्का मध्य प्याकेज नं. ६ को गडी घाटको सेती नदीमा जेसिभी (डोजर) चलाएर बालुवा निकालिएको छ । पोखरा महानगर पालिकाको वार्ड नं. ३२ मा पर्ने उक्त गडी घाट महत गौडे कान्छा भन्ने हुम बहादुर रानाको नाममा रहेको एनिका निर्माण सेवाले पाएको छ । उक्त निर्माण सेवाले गत हप्ता सेती नदी भित्रै पसेर जेसिभीले वालुवा उठाइरहेको भिडियो सहितको दृश्य विवरण स्थानिय सचेत नागरिकले सराङकोट पत्रिकालाई उपलब्ध गराएका थिए । उक्त भिडियोमा जेसीभी नदी भित्रै पसेर निर्वाध काम गरिरहेको प्रष्ट देखिन्छ । नम्वर प्लेट

नदेखिएकोे जे.सि.भी. त्यहाँ प्रयोग गरिएको प्रत्यक्ष दर्शीले वताएका छन् ।

प्रहरीलाई खवर गर्नुपर्छ भन्ने हाम्रो भनाईप्रति ति स्थानिय प्रत्यक्षदर्शी प्रहरीबाट सूचना चुहिन सक्ने त्यसबाट आफै असुरक्षित भइने त्रास रहेको बताउँछन् । प्रहरीले अवैध उत्खनन् र मेसिन चलाएको कुरा हेर्दैनन् । ठेकेदार कम्पनीहरुले प्रहरीसँग सेटिङ मिलाएको पनि आरोप लाग्ने गरेको छ । गढी घाटमा सेती नदीमै जेसीभी चलेको बारे हामीले गगनगौंडा प्रहरी चौकीलाई सोध्दा थाहा पत्तो नपाएको बताए । चौकी प्रमुख प्र.ना.नि. हिरा थापा नदीमा जेसीभ चलेको बारे टोली पठाउने बताउँछन् ।
एनिका निर्माण सेवा कम्पनीका संचालक हुम बहादुर रानालाई तपाइले गढी घाटको सेती नदीमा मेसिन किन चलाउनु भयो भन्ने हाम्रो जिज्ञाशामा उनले ठाडै अस्वीकार गरे । सर्त विपरित जेसीभी चलाउने तर ठाडै अस्वीकार गर्ने प्रवृत्ति कायमै छ। यस वारेमा महानगरका सूचना अधिकारी भरतराज पौडेलले महानगरको तर्फबाट हुने अनुगमन संयन्त्रलाई सकृय बनाउन र प्रहरी प्रशासन र वडा कार्यालयलाई पत्राचार गर्ने बताएका छन् ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: