ठूला बडाले बढाए दण्डहिनता घार्मी वन फडानी मुद्धा किन भएन दर्ता ?

सराङकोट न्यूज
16 March, 2021 5:21 pm
Advertisements

आजभन्दा ठीक एक वर्ष अघि पोखरा महानगरपालिका वडा नं.१९, घार्मी डाँडामा वन फडानी भयो । २०७६ चैत्रको पहिलो साता घार्मीको नेपाल टेलिकम टावरको पश्चिम तर्फ रहेको पूर्व युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा सुनारको घरबारी सँगै जोडिएको दक्षिणतर्फको कुनै व्यक्तिको नाममा दर्ता पूर्जा नभएको सार्वजनिक वन क्षेत्रको चिलाउने, उतिस मौवा लगायतका रुख, बुटाहरु मेसै लगाएर सोतराम पारेर ढलाई गिण्डा, दाउरा समेत छुट्याइएको थियो । डिभिजन वन कार्यालय कास्कीले ऐन मौकामै उठाएको स्थलगत प्रवृत्ति मुचुल्कामा ५ सय ३ वटा रुख काटिएको प्रतिवेदन उठाएको थियो । उक्त प्रतिवेदन सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रारम्भिक प्रतिवेदन समेत वन डिभिजन कार्यालय कास्कीबाट झिकाई तत्काल अनुसन्धान गरि विस्तृत प्रतिवेदन पेश गर्न पटक पटक निर्देशन दिइसकेको अख्तियार स्रोतले सराङकोटलाई बताएको छ ।
घामीको सार्वजनिक वन फडानी प्रकरणमा तत्कालीन बहालवाला मन्त्री जगत विश्वकर्मा, उनका भाई भतिजा, भिनाजु लगायत मुछिएका कारण मुद्दा अनुसन्धान कार्य अगाडी बढाउन समेत अवरोध भएको थियो । अनुसन्धान अधिकृत तोक्ने कानूनी अधिकार बोकेका कास्कीका सिडियो ज्ञान प्रसाद ढकाल समेतले १५ दिन सम्म अनुसन्धान अधिकृत तोेकेका थिएनन् । चौतर्फी दबाब पछि डिभिजन वन कार्यालय कास्की सहायक वन अधिकृत ममता शर्मालाई अनुसन्धान अधिकृत तोकियो तर एक वर्षसम्म अरु दर्जनौ मुद्दा दर्ता भए तर घार्मी वन फडानी काण्ड अझसम्म दर्ता भएको त के अनुसन्धान कार्य नै अगाडी बढ्न सकेको छैन । शक्ति केन्द्र जोडिएका कारण यति ठूलो काण्ड प्यारालाइसिस बनाएर राखिएको छ ।
नापी कार्यालयका प्राविधिक लगेर फडानी भएको जग्गाको प्रकृति छुट्याउने काम समेत गरिएको छैन । नापी कार्यालयका सूचना अधिकारी दिनेश लामिछाने भन्छन् “पत्र आएको छ तर अनुसन्धान अधिकृतले स्थलगत नापजााचमा जाने मिति पोस्टपोण्ड गरिरहनु भएको छ ।” उनी भन्छन् “वन डिभिजनले भने हामी जुनसुकै बेला घटनास्थल गएर हाम्रो काम गर्न सक्छौ ।”
तर किन आलटाल गर्दैछन् अनुसन्धान अधिकृत भन्ने बारेमा बुझ्न सकिएको छैन । अख्तियारी प्राप्त अनुसन्धान अधिकृत ममता शर्मा सँग भेट पनि हुन सकेको छैन । वहाँ कार्यरत कुँडहर स्थित वन सब डिभिजन कार्यालयमा सराङकोट टोली ३ पटक पुग्दा पनि वहाँलाई कार्यालयमा भेट्न सकिएन। मोबाइलमा सम्पर्क गर्न खोज्दा वहाँको मोबाइल उठ्दैने । राष्ट्र सेवक कर्मचारी किन सार्वजनिक चासोका विषयमा किन तर्कन खोज्छन् ? के छ गोप्य कुरा त्यो रहस्यमै छ । हामीले अनुसन्धान के के कुरा आए भनेका छैनौं । हाम्रो चासो सार्वजनिक वनका ५ सय बढी रुख ढालिएको काण्डको मुद्दाको दर्ता किन भएन भन्ने हो, अनुसन्धानको प्यारामिटर पूरा गर्न किन आलटाल? भन्ने हो ।
केही महिना अघि डिभिजन वन कार्यालय कास्कीले जम्मा ५ जनाको नाममा पत्र काट्यो । ९ जना माथी आरोप लागेका उक्त काण्डमा ४ जनाको नाम जोगाएर ५ जनाको नाममा मात्रा पत्राचार गरिएपछि ती ५ जनाले पनि पत्र बुझ्न नमानेको खुल्न आएको छ । ९ जना माथी आरोप लागिरहेको उक्त काण्डमा ४ जनालाई किन जोगाइयो र ५ जनालाई मात्र किन पत्र काटियो भन्ने विषयमा स्थानीय सरोकारवाला एवम् आरोपीहरु बीच चर्चा चलेको थियोा ।
फडानी भएको वन क्षेत्र सँगै जोडिएको भूमे पुज्ने सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष रमेश विश्वकर्मा वर्षौदेखि भोगचलन गर्दै आएको वन भएकोले गोडमेल गर्न मिल्ने बताउँछन् । ५ सय रुख सोतराम पारेर काट्न मिल्थ्यो र भन्ने हाम्रो जिज्ञासामा उनले भने “ काटिनु नपर्ने थियो काटिएछ त्यो ठीक थिएन ।” वन संरक्षक समेत रहेका पूर्व अध्यक्ष रमेश विश्वकर्माले समाचारमा आए जस्तो तत्कालीन मन्त्रीको संलग्नता नरहेको बताए । उक्त प्रकरणमा मन्त्रीका दाई, भाउजु, दिदी लगायत संलग्न रहेको र उक्त वन वर्षौ देखि भोगचलन गर्दै आएका व्यक्तिहरुबाटै हटाइएको बताए । भूमेपुज्ने सामुदायिक वन उपभोक्ता समितिका पूर्व अध्यक्ष रमेश विश्वकर्माले सामुदायिक वन क्षेत्रको एउटा पनि रुख, बुटा नकाटिएको दाबी गरे ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: