नमुना विद्यालयको नमुना योजना, कक्षा शिक्षकलाई “हेडसर”को जिम्मेवारी

सराङकोट न्यूज
24 March, 2021 7:20 pm
Advertisements
Advertisements

भरतपुरको नारायणी नमुना मा.वि.मा २६ सय विद्यार्थी एकै सिफ्टमा पढ्छन्। यति धेरै विद्यार्थीले नारायणी नमुना मा.वि.लाई विस्वास गर्नु सामान्य कुरा होइन । संस्थागत विद्यालयहरुले सरकारी लगानीका सामुदायिक विद्यालयहरुलाई पाखा लगाउँदै गएको अवस्थामा उक्त विद्यालयले राज्यको लगानी मात्र सुरक्षित गरेको छैन ठूलो संख्याका विद्यार्थी र तिनका अभिभावकको विस्वास पनि जितेको छ ।
विन्ध्यावासिनी माध्यमिक विद्यालय पोखरा–१६, बाटुलेचौरको वि.व्य.स. एवम् शिक्षकहरुको अध्ययन अवलोकन भ्रमणका क्रममा चितवन पुगेर नारायणी नमुना मा.वि. भरतपुर र भिमोदय नमुना मा.वि. कालिका–५, पदमपुर पुगेर अनुभव आदान प्रदान गर्ने क्रममा ती दुई विद्यालयको सफलताको राज के रहेछ भन्ने जानकारी हुन आएको थियो । ६ विघा ५ गठ्ठा जग्गामा निर्मित नारायणी नमुना सामुदायिक विद्यालयको नतिजा नेपालकै अग्र पंक्तिीमा रहेको छ । २०५७ साल अघि नामो निसान नरहेको उक्त रात्री विद्यालय २०५७ सालमा चितवन जिल्ला प्रथम भएपछि शैक्षिक गुणस्तरले फड्को मार्न सुरु गरेको थियो । त्यस पछिका वर्षहरुमा मध्यमाञ्चल प्रथम हुदै राष्ट्रिय स्तरमा उत्कृष्ट पाँचौ सम्म पुग्ने सफल उक्त विद्यालयमा ९ वटा सम्म सेक्सन रहेको पाइयो । प्रति कक्षा बढीमा ४५ विद्यार्थी राख्ने गरिएको छ । हाल २६ सय विद्यार्थी पढाउन ६१ वटा कक्षा कोठा रहेका छन् भने राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट २४ वटा कोठाको भवन निर्माणाधिन रहेको छ । विद्यालयका प्र.अ. पूर्ण प्रसाद दवाडी अबको केही वर्षमा ५ हजार विद्यार्थी पढाउने गरि कार्ययोजना अगाडी बढाइएको बताउँछन् । राष्ट्रिय स्तरकै सर्वोत्कृष्ट विद्यालय बनाउने योजना रहेको पनि प्र.अ.दवाडीले सुनाए।

कक्षा शिक्षक नै “हेड सर”

सामान्यतया एउटा विद्यालयमा एउटा मात्र ‘हेड सर’ अर्थात् प्र.अ. हुने गर्छ तर चितवनको नारायणी नमूना मा.वि.मा प्रत्येक कक्षा शिक्षकलाई त्यो कक्षाको “हेड सर” को जिम्मेवारी दिइएको छ । आफ्नो कक्षामा आइपर्ने सबै जिम्मेवारी र चुनौती समाधान गर्ने गरि ‘हेड सर’ बनाइएको छ । “जिम्मेवारी र कार्यबोझ मात्र हैन सरकारले दिने प्र.अ. भत्ता बराबरको रकम दिने व्यवस्था विद्यालयले मिलाएको छ । त्यसो गर्दा विद्यार्थी र अभिभावक सम्मका सबै क्रियाकलाप एवम् आइपर्ने समस्या र गुनासाहरु कक्षा शिक्षकबाटै समाधान हुने गरेका छन्” मुख्य प्र.अ. पूर्ण प्रसाद दवाडीले बताए ।
शिक्षक कर्मचारीको विश्वास
नारायणी नमूना मा.वि. सफल हुनुमा त्यहाँको समुदाय मात्र हैन कार्यरत शिक्षक कर्मचारीको विस्वास पनि मुख्य कारण रहेको पाइयो । ११७ जना शिक्षक कर्मचारीहरुले विद्यालय कक्षा १२ सम्मको पढाइ आफूले पढाइरहेकै विद्यालयबाट आफ्नो छोरा छोरीको पढाइ गराएका कारण विद्यालय थप सफल र जनविस्वास हासिल गर्न सफल भएकाले पनि शैक्षिक गुणस्तर अपेक्षाकृत सफल रहेको विद्यालयका प्र.अ.ले दाबी गरे। उनले आफ्ना छोरा छोरीले पनि यही विद्यालयबाटै १२ कक्षा सम्मको पढाई गरेको अनुभव सुनाए ।

अध्यक्षको जीवन नै विद्यालयलाई

७७ वर्षिय टेक बहादुर थापा अहिले पनि विहान ६ बजे देखि साँझ ६ बजे सम्म नारायणी नमूना मा.वि. मै भेटिन्छन् । उनी विगत ५५ वर्षदेखि शिक्षा सेवामा तल्लिन छन् । २०२२ साल देखि शिक्षण पेशामा होमिएका टेक बहादुर थापा ४१ वर्ष लामो शिक्षकको जागिरे जीवनबाट अनिवार्य अवकास पाए । उनि नारायणी मा.वि.को प्रधानाध्यापकबाट २०६३ सालमा अवकास भएका थिए । त्यति लामो शिक्षण पेशा गरेका उनीमा थकाइ भन्दा उर्जा थपिएको थियो । प्र.अ. बाट रिटायर्ड भए लगतै उनलाई त्यहि समुदाय तिनै अभिभावकले विद्यालय व्यवस्थापनको जिम्मेवारी प्रदान गरे थापा २०६३ सालदेखि हालसम्म निरन्तर विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेर काम गरिरहेका छन् । उनी यति लोकप्रिय छन् कि उनको विकल्पमा अर्को अध्यक्षको नाम उच्चारण गर्ने शाहस कसैमा छैन। सर्वदलीय, सर्वपक्षिय सहमतिआम शिक्षक, कर्मचारी विद्यार्थी र अभिभावको विस्वासको विरासत धानेर विद्यालय व्यवस्थापनमा खटिएका थापा एक मुठ्ठी सास छउञ्जेल विद्यालयको सेवामा समर्पित रहिरहने बताउँछन् ।
२०३८ सालमा नारायणी माध्यमिक विद्यालयको शैक्षिक नतिजा शून्यमा झरेको थियो । रात्री स्कूलको रुपमा परिचित त्यति बेलाको नारायणी स्कूल अन्यत्र फेल भएका, श्रमिक मजदुर विद्यार्थीहरुको लागि सीमित थियो । क्रमिक रुपमा सुधार गर्दै लैजाँदा यहाँसम्म आइपुगेकोमा अध्यक्ष टेक बहादुर थापा सन्तुष्ट छन् तर दुई तिहाइको सरकार बनेको तीन वर्ष पूरा भइसक्दा पनि सरकारले राष्ट्रिय शिक्षा ऐन ल्याउन नचाहनुले सरकार सामुदायिक विद्यालय सुधार गर्न चाहँदैन भन्ने स्पष्ट भएको उनले बताए ।
सामुदायिक विद्यालय सुधार ल्याउन दुरदर्शी विद्यालय व्यवस्थापक समिति, ईमान्दार र कर्तव्य निष्ट “टिचर्स टिम”, लगनसिल विद्यार्थी र चेतनसील अभिभावकको तारतम्य मिल्न जरुरी छ । नेपालमा नाम चलेका बुटलको कालिका मानव ज्ञान मा.वि., मिर्मीको मिर्मी राष्ट्रिय आ.वि., कावासोतीको शिव मा.वि., भरतपुरको नारायणी मा.वि., चितवन पदमपुरको भिमोदय मा.वि., पोखराको सितलादेवी मा.वि. लगायतका विद्यालय अनुकरणीय छन् ।
(चितवनबाट फर्केर यदुनाथ)

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: