मासु व्यवसायी संघ कास्कीमा पवन नेपाल

सराङकोट न्यूज
25 March, 2021 2:34 pm

मासु व्यवसायी संघ कास्कीको दोश्रो अधिवेशनले पवन नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । संघको उपाध्यक्षमा लोकराज शर्मा, सचिवमा चिन बहादुर गुरुङ, कोषाध्यक्षमा बद्रीनाथ भूर्तेल, सह–सचिवमा ज्योती अधिकारी सर्वसम्मत चयन भएका हुन् । यस्तै सदस्यहरु मसहुर शाह, गोविन्द श्रेष्ठ, श्यामभक्त श्रेष्ठ, सृजना दुवाडी, गंगा थापा, रोशन केसी पनि सर्वसम्मत चयन भएका हुन् । दुई वर्षे कार्यकाल रहेको संघको पदस्थापना भने हुन बाँकी छ ।

संघको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनको उद्घाटन सत्रमा बोल्दै कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्री लेख बहादुर थापाले व्यवसायी र कृषकको अपेक्षा बमोजिम गण्डकी प्रदेश सरकार काम गर्न तयार छ तर त्यसको लागि उनीहरुका समस्या र चुनौतीका बारेमा लिखित रुपमै मन्त्रालयलाई जानकारी गराउन आग्रह गरेका थिए । स्वीकृत कानूनी मापदण्ड परिपालन गर्न पनि मन्त्री थापाले आग्रह गरे । ६५ प्रतिशत रोग पशुपंक्षी बाट मान्छेमा सर्ने हुँदा सचेतना जरुरी रहेको औंल्याएका थिए ।

Advertisements

कार्यक्रममा अद्योग वाणिज्य तथा उपभोक्ता हित निर्देशनालयका निर्देशक नारायण प्रसाद आचार्यले पेशागत मर्यादा र उपभोक्ता हित विपरित काम गरेमा सरकार चुप लागेर नबस्ने बताए । दर्ता नभइ आफूखुसी चलेका व्यवसायीलाई नियमन गरिने पनि निर्देशक आचार्यले बताए । अनुगमन र कारबाहीको काम स्थानीय सरकारको भएपनि जनप्रतिनिधिहरुले आफ्नो भोट घट्छ कि भनेर दण्डात्मक कारबाही गर्न नसकेकोले बजारमा मनोमानी चलेको उनले बताए ।

पशु सेवा शाखा कास्कीका प्रमुख नवराज अधिकारी महानगर भित्र रहेका माछा, मासु पसल रितपूर्वक दर्ता गर्ने कार्य भइरहेको बताउँछन् । मोडेल फ्रेस हाउसलाई प्रोत्साहन गरिने पनि उनले बताए । खाद्य निरीक्षक शिवजी बरालले गुणस्तरलाई ध्यान दिएर व्यवसाय गर्न आग्रह गरे । पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अर्जुन पोखरेलले व्यवसायिक समस्या र समाधानका चुनौतीका बारेमा राज्य र व्यवसायी दुवै पक्षको ध्यानाकर्षण गराएका थिए । सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल कास्कीका संयोजक यदुनाथ बञ्जाराले सूचनाको हक र त्यसको कार्यान्वयनका बारेमा सहजीकरण गरेका थिए । पोखरा महानगर ७ नम्बर वडा अध्यक्ष रामचन्द्र बरालले व्यवसायीले आफ्नो व्यवसायिक मर्यादा र उपभोक्ता अधिकारका बारेमा सचेत रहनुपर्ने औल्याए ।

उद्घाटन सत्रमा भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र प्रमुख डा. शोभा शर्मा, उपभोक्ता मञ्च कास्कीका सह–सचिव दिपेन्द्र अर्याल, किसान संघ कास्कीका अध्यक्ष यज्ञ बहादुर गुरुङ, पोल्ट्री व्यवसायी संघ कास्कीका अध्यक्ष गुरुप्रसाद पौडेल, नेल्टाका केन्द्रीय महासचिव सुरेश कुमार श्रेष्ठ, मासु व्यवसायी संघ कास्कीका संरक्षक अशोक श्रेष्ठ, पोखरा चेम्बर अफ कमर्शका का.वा.अध्यक्ष गिता तिवारीले शुभकामना दिएका थिए ।

संघका अध्यक्ष गोविन्द प्रसाद तिवारीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव राजेन्द्र तिमिल्सिना र स्वागत मन्तव्य उपाध्यक्ष ज्ञानहरी आचार्यले गरेका थिए ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: