वगरमा नहरको अतिक्रमण हटाइयो

सराङकोट न्यूज
24 June, 2021 1:00 pm
Advertisements

पोखराको सिचाँई नहरको अतिक्रमण श्रृखलावद्ध रुपमा वढिरहेको छ । नहरको दायाँ वायाँ लाग्ने मापदण्ड मात्र हैन नहरकै माथि पक्की भौतिक संरचना निर्माण गरेर नहरको संवेदनसिलता माथि धावा वोल्ने काम भएको छ । पहुँच र पैसाको भरमा नहर मिच्नेहरु नै आफूलाई समाजसेवी वताउन पछि पर्दैनन् । कानुन मिचेर वर्षौ देखि व्यक्तिगत र संस्थागत लाभ लिनेहरुलाई राज्यले कानुनी डण्डा चलाउन आनाकानी गर्दै आएको छ राज्यको कमजोर नीतिलाई फाइदा लिने क्रम सोही अनुसार वढेको छ ।
नहरको निर्माण गर्दा सरकारले व्यक्तिका जग्गा अधिकरण गरेको थियो । जग्गा प्राप्ति ऐन वमोजि म अधिकरण गरी निर्माण गरिएको नहरको दाया वायँ २–२ मिटर सम्म मापदण्ड लाग्ने प्रावधान छ तर धेरै ठाउँहरुका मापदण्ड मिचिएका छन् ।
पोखरा १ वगरमा यसै गरी वर्षौ देखि मिचिएको नहरको मापदण्ड हटाउने कार्य अगाडि वढाइएको छ । पृथ्वी नारायण क्याम्पस अगाडि बाट प्रदेश सभा कार्यालय तर्फ गएको नहरको दायाँ वाँया र माथि समेत अतिक्रमण गरी निर्मित संरचनाहरु असार ७ गते सोमवार वाट हटाउन सुरु गरिएको छ ।
भिमकाली साझेदारी टोल विकास संस्थाले २०७४ वैशाखमै अतिक्रमण हटाउन माग गरेको थियो । सिचाँई डिभिजन कार्यालय कास्कीले अतिक्रमण हटाउन महानगरलाई अनुरोध गरेको थियो तर ४ वर्ष वितिसक्दा पनि अतिक्रमण हटाउन महानगरपालिकाले चासो नदिएको विषयमा दुई हप्ता अगाडि सराङकोटले समाचार प्रकाशन गरेपछि सिचाँई डिभिजन कार्यालयले अतिक्रमण संरचना हटाउन टोल विकास संस्था र वार्ड नं. १ कार्यालयलाई ताकेदा पत्र पठाएको थियो । सिचाँईको पत्र पछि स्थानिय टोलविकास संस्थाले अतिक्रमण हटाउन पहल गरेको थियो ।
अतिक्रमित संरचना हटाउन वडा नं. १ कार्यालयले वजेटको प्रवन्ध मिलाइदिएको भिमकाली साझेदारी टोल विकास संस्थाका निवर्तमान अध्यक्ष स्वदेश साहीले वताए । अतिक्रमित संरचना हटाएको ठाउँमा नहरको किनारमा फुट ट्रयाक निर्माण गरी प्रदेश सभा गेट सम्म पुग्ने निकास खोलिने साहीले वताए ।
ढिलै भएपनि पोखरा महानगरपालिका वडा नं. १ कार्यालयले अतिक्रमण हटाउने साहस गरेको छ । स्थानिय टोलविकास संस्थाको सहयोग र वडा कार्यालयको आर्थिक सहयोगले सार्वजनिक जग्गा नहरको मापदण्ड हटाउने कार्य भएको छ । अन्य वडाहरुमा पनि अतिक्रमण हटाउन वडा नं. १ वटा सिक्नु पर्ने अवस्था आएको छ । झण्डै वीस वर्ष अघिबाट अतिक्रमण भएको नहरले न्याय पाएको छ । पिएन क्याम्पसले नहरमाथी सटर वनाएर भाडा खाइरहेको ठाउँपनि खाली गराउन आफूले कुरा उठाएको वडा अध्यक्ष शारदा कुमारी पराजुलीले वताइन् ।
यस्तै पि.एच.एस.ले महानगरलाई झुक्याएर ल्याएको नहरमाथि ढलान गर्ने योजना त्यहाँबाट रद्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय समक्ष उजुरी परेपछि गैह्रकानुनी ढंगबाट निर्माण हुन लागेको ढलानका सामग्री र आइ विम हटाउन लगाइने कास्कीका प्रजिअ थानेश्वर गौतमले वताएका छन् ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: