स्थानिय यातायात प्रालि र भीमाद यातायात प्रालिबीच एकीकरण घोषणा

सराङकोट न्यूज
20 July, 2021 2:29 pm
Advertisements

नेपालमा अन्य संघसंस्था र अन्य राजनीति दलहरु समेत फुट र गुटको दलदलमा भासिएको वेला गण्डकी प्रदेशका दुई यातायात प्रालिबीच एकीकरण भएको छ । स्थानिय यातायात प्रालि (कास्की) र भीमाद यातायात प्रालि(तनहुँ) बीच एकीकरण भएको हो । पोखरामा सोमबार एक कार्यक्रमबीच स्थानिय यातायात प्रालि (कास्की)का अध्यक्ष केदारप्रसाद पौडेल र भीमाद यातायात प्रालि(तनहुँ)का अध्यक्ष महेन्द्रबहादुर श्रेष्ठले संयुक्त रुपमा दुई यातायात प्रालि एक भएको घोषणा गरे ।
अब यी दुई यातायात प्रालिले एकीकृत रुपमा व्यवसाय सञ्चालन गर्ने भएका छन् । साथै एकले अर्को ठाउँको रुटमा गाडी सञ्चालन गर्नसमेत दिइने जनाइएको छ । एकीकरण भएका दुई यातायात मध्ये स्थानिय यातायात प्रालि (कास्की)को २२५ र भीमाद यातायात प्रालि(तनहुँ)को ८० भन्दा बढी सवारी साधन रहेको जनाइएको छ । पोखरादेखि कास्कीका विभिन्न ठाउँहरुका साथै तनहुँ, स्याङ्जा, पाल्पालगायतका जिल्लाका विभिन्न ठाउँहरुमा सञ्चालन हुने स्थानिय यातायात प्रालि (कास्की)को जीप, हायसलगायतका गाडीहरु छन् भने भीमाददेखि काठमाडौं, पाल्पा, स्याङ्जा, रामपुर, नवलपरासीलगायतका जिल्लाका विभिन्न ठाउँमा सञ्चालन हुने भीमाद यातायात प्रालि(तनहुँ)ले जीप, मिनिबस, हायसलगायतका सवारी साधन सञ्चालन गर्दै आएको छ ।
एकीकरण घोषणा गरिएपनि एकीकृत यातायात प्रालिको नामाकरण भने गरिएको छैन । नाममा छलफल गर्दा एकीकरणमा असर पर्ने भएकाले तत्काल एकीकरण गर्ने र पछि नाम तय गर्नेगरी एकीकरण गरिएको दुई संस्थाले जनाएका छन् । दुवै संस्था घाटामा रहेकाले हाल दुबै संस्थाको कुल पुँजी कति छ भन्ने यकीन भइनसकेको बताइएको छ ।
एकीकरणपछि यातायात प्रालिको अध्यक्षमा स्थानिय यातायात प्रालि (कास्की)का केदार पौडेललाई अध्यक्ष र भीमाद यातायात प्रालि(तनहुँ)का महेन्द्रकुमार श्रेष्ठलाई सह–अध्यक्ष तोकिएको छ ।
घोषणा कार्यक्रममा बोल्दै एकीकरण पछिको संयुक्त यातायात प्रालिका अध्यक्ष केदारप्रसाद पौडेलले छिन्नभिन्न हुने अवस्थामा पुगेको यातायात क्षेत्रलाई बचाउन दुई यातायात प्रालिबीच एकीकरण गरिएको बताए । उनले २÷३ वर्ष अघिदेखि नै एकीकरण गर्ने प्रयास भइरहेपनि अहिले आएर त्यसले सार्थकता पाएको बताए । उनले एकीकरणपछि बन्ने एकीकृत यातायात प्रालि बलियो हुनुका साथै सेवा बिस्तार, शाखा बिस्तार गर्दै व्यवसायीको कमाईसमेत बृद्धि हुने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा अन्य यातायात प्रालिसँगपनि मर्ज गर्दै लैजाने योजना रहेको उल्लेख गरे ।
एकीकरणपछि बनेको यातायात प्रालिका सह–अध्यक्ष महेन्द्रकुमार श्रेष्ठले फुटेर भन्दापनि जुटेर लागि भनेमात्र संस्थापनि बलियो हुने र व्यवसायीको कमाईपनि बृद्धि गर्न सकिने भएकाले एकीकरण गरिएको बताए । उनले छरप्रष्ट रहेको यातायात क्षेत्रलाई एकीकरण गर्दै उद्योगको रुपमा विकास गर्ने उद्धेश्यले आफूहरु एकीकृत भएको बताए ।
एकीकरण घोषणा कार्यक्रममा दुबै यातायात प्रालिका सञ्चालक समितिका पदाधिकारी मात्र सहभागि थिए । कोरोनाका कारण सामाजिक दुरीलगायतका स्वास्थ्यका मापदण्ड पूरा गरेर कार्यक्रम गर्नुपर्ने भएकाले सञ्चालक समितिबाहेकका अन्य व्यवसायीलाई नबोलाइएको अध्यक्ष पौडेलले बताए । स्थिति सहज भएपछि यातायात व्यवसायी सबैलाई बोलाएर शुभकामना आदानप्रदानसहित मनोरञ्जनात्मक कार्यक्रमसमेत गरिने उनले बताए ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: