मेयर विरामी परेपछि महानगर ठप्प

सराङकोट न्यूज
26 September, 2021 5:48 pm

पोखरा : देशकै ठूलो भनी गनिएको पोखरा महानगरपालिका विगत ६५ दिन देखि ठप्प रहेको छ । मेयर मानबहादुर जि.सी. गत आ.व.को अन्तिम दिन २०७८ असार ३१ गते ब्रेन हेमरेज भई ढलेपछि उपचारको लागि काठमाडौंमा छन्। उपचार फलो– अपका लागि काठमाडौं मै बस्न पर्ने भएपछि मेयर जि.सी आफ्नो छोरीको घरमा बसेका छन् ।
नयाँ आर्थिक वर्ष सुरु भएको २ महिना ५ दिन बितिसकेको छ । यस अवधिमा महानगरपालिकाका महत्वपूर्ण कामहरु प्राय ठप्प छन्। यति लामो अवधिसम्म महानगर ठप्प रहँदा पनि उपमेयरलाई अधिकार प्रत्यायोजना गरिएको छैन । उपमेयर स्वयम् दुइ पटक सम्म मेयरसँग भेटघाट गरेर फर्केकी छिन्, यस अलावा पनि मेयरका विश्वास पात्र वडा अध्यक्ष र कर्मचारीहरु समेत काठमाडौं पुगेर भेटघाट गरेर फर्किए तर महानगरको विकास निर्माण लगायत महत्वपूर्ण काम कारवाहीको बाधा अड्कानउ फुकाउने गरी अधिकार प्रत्योयोजना सम्बन्धी कुनै प्रगति देखाउन सकेनन् ।


महानगरका एक कर्मचारी भन्छन् “मेयरसाप महानगरपालिकाको विषयमा चासो र चिन्ता व्यक्त गर्नुहुन्छ मेरो कारण कुनै काम नरोकियोस है पनि भन्नुहुन्छ तर उनका छोरीज्वाइले अधिकार प्रत्यायोजन बारेमा कागज पेश गर्न र सही गराउन आनाकानी गर्छन्” आनाकानी गर्दा गर्दै यसो गर्नै पर्छ भन्ने आँट कसैले गरेको पाइदैन ।
पोखराका मेयरको स्वास्थ्यको बारेमा सबैको चिन्ता र सदासयता रही आएको छ । महानगरले उनको सबै उपचार खर्च बेहोर्ने बताएको पनि छ तर महानगरका यावत काम कारवाही विकास निर्माण ठप्प भएर समस्यामा जकडिरहेको बेलामा मेयर जि.सीका आफन्तले भने आम पोखरा बासीका बारेमा किन सहयोगी भूमिका निर्वाह गर्न सकेनन् भन्ने प्रश्न उब्जिएको छ ।
मेयर जि.सीको स्वास्थ्य सुधारात्मक नै छ भेटेर फर्कनेहरु भन्छन् । कहिले कहिले सेन्स गुम्ने समस्या पनि रहेको छ । बोली, दृष्टि सबै ठीक रहेको भएपनि अझै केही महिना कार्यस्थलमा खट्न सक्ने अवस्था नरहेको बताइएको छ । उप–मेयर, कार्यपालिका सदस्यहरु र क्रियासील राजनीतिक दलको सहमति बनाई पोखरा महानगरपालिका प्रमुखको अधिकार उप–मेयरलाई प्रत्यायोजना गर्न जरुरी देखिएको छ । मेयर जि.सी दुर्भाग्य बस ढलेका छन् तर त्यसको असर पुरै महानगरलाई परेको छ । यही अवस्था रही रहे स्थानीय सरकार पोखरा महानगरको यो साल निरर्थक हुनेछ त्यसको जस कसले लिने ?
१ उपमेर ३३ जना वडा अध्यक्ष सहितको कार्यपालिका सदस्य प्रमुख प्रशासकी अधिकृतको नेतृत्वमा रहने ७ सय बढी कर्मचारी के का लागि ? साढे तीन लाख नागरिक पनि मेयर सँगै ढले जस्तै हुनुपर्ने अवस्था कहिले सम्म ?

Advertisements

के के काम रोकिए ?

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय सरकार पालिका प्रमुखलाई तोकेर दिएका थुप्रै अधिकार रहेका छन् । ती मध्ये केही मुख्य यी कामहरु रोकिएका छन् ।
१. नयाँ आर्थिक वर्ष यता औपचारिक कार्यपालिका वैठक वसेन ।
२. नगर सभाको निर्णय माइनुट प्रमाणित भएन । निर्णय प्रमाणित नहुँदा विकास निर्माण, योजना कार्यान्वयनमा आउन सकेनन् ।
३. एक लाखभन्दा ठूलो वजेटका कामहरु ठप्प रहे ।
४. फोहोरमैला व्यवस्थापन सम्बन्धि सम्झौताको म्याद थप सम्बन्धि निर्णय हुन सकेन
५. राज पत्र प्रमाणित हुन सकेन
६. करारका कर्मचारीका म्याद थप लगायतका समस्याहरु अलपत्र रहे
७. विपत्, महामारीका समयमा समय अनुकुल र आकस्मिक कार्यहरु हुन सकेन
८. ठूला योजनाहरु, रामघाट ठेक्का लगायतका विषय अनिर्णित बनेको छ । स्थानिय सरकार संचालन ऐन २०७४ ले सवैसर्वा अधिकार सहित स्थापित पालिकाका प्रमुख ढल्दा परेको समस्या कहिले सम्म ढलिरहने त ? स्पष्ट जवाफ कोहीसँग छैन ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: