चाड पर्वमा राजमार्गको यात्रा प्रहरी र चालक दुवैलाई स्वर्ग

सराङकोट न्यूज
2 November, 2021 5:57 pm
Advertisements
Advertisements

पोखरा : अरु बेला घुम्ने, फिर्ने फुर्सदै नमिल्ने । जहिले पनि कामको चटारो । पत्रपत्रिका चलाउने काम भन्दा पनि आफू आवद्ध संघ, संस्थाहरु त छँदैछन् त्यसका अलावा हाम्रा पाठक, शुभचिन्तकहरु र तिनका वरिपरिका मान्छेलाई पर्ने विविध उल्झन, समसामयिक समस्याहरुका निराकरणमा घुलमिल हुँदा हुँदै बित्ने दिनेहरुले पनि कर्मथलो पोखरालाई छोड्नै नमिल्ने ।
बडा दशैंको विशेष अवसरमा देश नै ठप्प हुन्छ । अदालत, स्कूल कलेज, सरकारी कार्यालय मात्र हैन निजी उद्योग व्यवसाय पनि बन्द हुन पुग्छन् । काठमाडौं, पोखरा जस्ता शहरहरुबाट लाखौ जनता आफ्नो गाउँमा फर्कन्छन् । शहर सुनसान हुन्छ । गाउँमा चहलपहल ह्वात्तै बढ्छ । राजमार्गका होटल व्यवसाय मात्र हैन पुराना जिर्ण सवारी साधनहरु समेत मान्छे ओसार पसार गर्न व्यस्त देखिन्छन् ।
त्यसो त दशैं पर्वको अवसरमा घुमफिरको यात्रा तय गर्नुलाई अनुकुल मानिदैन । राजमार्गका होटलहरु सडेगलेका तरकारी र बासी भात व्यापार गरेर कमाउ धन्दामा मस्त देखिन्छन् भने घुम्न जाने विभिन्न शहर बजारका होटल रेष्टुरेण्ट समेत बन्द हुने हुँदा मीठो खाना खाने र आरामदायी बसोबास गर्ने होटलहरु समेत पाइदैन । दशैं नमान्ने केही व्यक्तिहरु बाहेक अधिकांशले होटल तथा लज व्यवसायलाई ३–४ दिन ताला नै बन्द गरेर राम रमितेमा भुल्ने गरेको पाइन्छ ।
दशैं चाड पर्वको महत्व बझ्न यस पटक दार्जिलिङ सम्म पुग्ने जमर्को गरियो । पश्चिम बंगालको सुदुर पूर्वी जिल्ला दार्जिलिङ हो तर त्यहाँ अधिकांश नेपाली भाषीहरु नै बसोबास गर्छन्, व्यापार व्यवसाय गर्छन् । हामी नेपालीले भन्दा दार्जिलिङ नेपालीहरु शुद्ध र स्पष्ट नेपाली बोल्छन् । हालको भारत प्रदेशमा पर्ने दार्जिलिङ, खस्र्याङमा दशैको टिकाको दिन अधिकांशले बजार व्यवसाय बन्द गर्ने रहेछन् । विहान उठ्न अलि ढिलाई भयो भने फर्कन जिप, भ्यान नै नपाइने कुरा थाहा पाइयो नभन्दै त्यस्तै सत्य रहेछ । ९ बजे पछि खचाखच रहने बजार सुनसान बन्ने रहेछन् । नेपालीहरुको प्रभाव भारतको दार्जिलिङ, सिक्किम, खस्र्याङमा प्रतक्ष्य पर्ने रहेछ ।

चाड पर्वमा लुट सबैलाई छुट

१९ महिना लामो कोरोना महामारीबाट नेपालले पनि राहत अनुभूति गर्न पाएको छ । बन्द गरिएका अधिकांश व्यवसायहरु खुल्ला गरिएका छन् । कोरोना लकडाउनमा सबैभन्दा बढी पीडित मध्येमा यातायात व्यवसाय पनि परेको थियो । बन्दको पीडाबाट बल्ल निस्कने बेलामा सरकारले निर्देशन दिएको थियो । लामो वा छोटा दुरीका यात्रु बसहरुमा स्वास्थ्य मापदण्ड पूरा गर्नुपर्ने छ, सिटभन्दा बढी यात्रु बोक्न पाइने छैन, मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गर्नु पर्नेछ । सरकारले जारी गरेको यो निर्देशन कसैले पनि टेरेको पाइएन । पोखराबाट सुदुर पूर्व झापा र सुदुर पश्चिम महेन्द्र नगरसम्म यात्रु ओसार्ने बसहरु सडकमा उभिए जति लोकल यात्रुहरु टिपेर गुन्दु्रक झै खाँदेर ओसारिएको छ न मास्क न सेनिटाइजरको प्रबन्ध नै मिलाइएको छ ।
पोखराबाट विराटनगरसम्म पुग्ने साथी यातायातको ग १ ख ९९९७ नम्बरको बसमा ढोका नै बन्द नहुने खालको थियो । बसका जिउ, करङ, टाउको, खुट्टा सबै कराउँदा कराउँदा यात्रुको टाउको नै दुखाउँथ्यो । प्रति व्यक्ति १५ सय रुपैया भाडा उठाउँदा कानून खोज्नेले यात्रुलाई सेवा दिने बारेमा भने कानूनको धज्जी उडाउदै आएको पाइएको छ त्यति अभद्र र मनोमानी कार्य हुँदा पोखराबाट १४ जिल्ला पार गर्दा समेत प्रहरीले कहि कतै चेक जाँच नगर्दा कबाडी बसका यात्रुहरुले न्याय पाउन सकेनन् । सायद बस चालकले हप्ते वा महिनावारी रुपमा आर्थिक भेर्टी ट्राफिक प्रहरीलाई चढाउने गरेका हुन् कि भन्ने बलियो आशंका उब्जाएको छ।

राजमार्गका होटल कि शोषक ?

पूर्व पश्चिम राजमार्गहरुका होटलमा खाना खानु यात्रुहरुको चरम बाध्यता बनेको हुन्छ । लामो दुरीमा चल्ने बसहरुले होटलवाला सँग सेटिङ मिलाएका हुन्छन् । एकान्त ठाउँ जहाँ एउटा मात्र होटल रहेका हुनछन् त्यही खाना खाना रोक्छ । गत वर्ष मात्र १ सय पचास रहेको खाना अहिले दुई देखि साढे दुई सयसम्म बनाइएको छ । बासी दाल, तरकारी, कुल्ली र शरणार्थीलाई सित्तैमा खुवाउन पकाएको जस्तै सोना मन्सुलीको भात, दुई चार गास निल्न बाध्य हुने गरेका छन् । मनोमानी मूल्य राखेर कमसल खाना खुवाउँदा पनि राज्यका कसैको अनुगमन छ न कारबाही ।
राजमार्गमा बस यात्रा गर्नेहरुले कानूनी राजको अनुभूति नै गर्न पाउँदैनन् । होटल वाला र बस चालकको सेटिङले दैनिक लाखौं रुपैया यात्रुहरुबाट शोषण गरिन्छ त्यसको हिस्सा कहासम्म भागवण्डा पुगेको हुन्छ त्यो भने अनुसन्धान के विषय बनेको छ । दिन दहाडै यात्रुलाई ठग्ने कार्य भइरहदा पनि तिन तहका सरकार र मातहतका प्रहरी प्रशासन, नागरिक समाज उपभोक्ता अधिकार वादी भनिनेहरु किन मौनता सोधेर बसेका छन् ? बस चालक र कण्डक्टरलाई छुट्ट कोठामा खुवाइने ताजा भात र सपेटा अनि मटनले मात्र छोपेको छैन यात्रु शोषणलाई त्यहाँ आर्थिक टिप्स पनि बुझ्ने गरेका हुन्छन् । ग्राहकलाई अजिंगरको मुखमा हालिदिए बापत खाने कमिशन र लुट कहिले सम्म रहने हो त्यो भने अझै अनिश्चित नै छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: