आकर्षक तर अस्तव्यस्त पुम्दीकोट, महादेव मन्दिर बन्यो तर व्यवस्थापन फितलो

यदुनाथ बन्जारा
10 November, 2021 9:29 am
Advertisements
Advertisements

पोखरा : नेपालमा पछिल्लो समय पर्यटकीय क्षेत्रको व्यवसायमा विस्तार सुधार हुँदै आएको छ । त्यसमा पनि पोखरा पर्यटकीय राजधानी शहर हो। पोखरामा रहेको ताल पर्यटन, मन्दिर पर्यटन, गुफा पर्यटनलाई ओझेल पार्दै डाँडा पर्यटनको लहर चल्दै गएको छ। आन्तरिक पर्यटकहरुको भिड डाँडा पर्यटनतर्फ आकर्षित हुन थालेको छ । भिडभाड अब डाँडामा रहेका मन्दिर, भ्यु टावरतर्फ लक्षित हुन थालेको छ ।
यस्तै डाँडा पर्यटन मध्यको मुख्य गन्तव्य बनेको छ । पोखरा महानगरपालिका वडा नं. २२ को पुम्दीकोट स्थित शिवजी महादेव मूर्ती निर्माण स्थलमा । यतिखेर दैनिक हजारौ आन्तरिक पर्यटकहरु पुम्दीकोट तर्फ जाने गरेका छन् । सार्वजनिक विदाका दिनहरुमा पुम्दीकोट जाने अवलोकन कर्ता पर्यटकहरुको भिड अत्याधिक हुने गरेको छ । कोट रहेको क्षेत्र टाढा भएकाले पैदल यात्रा गरेर पुग्न सक्ने अवस्था सबैलाई अनुकुल छैन ।
पुम्दीकोटको यात्राको क्रममा सडकको अवस्था जिर्ण रहेको छ । साँघुरा सडक भएका कारण सडकमा सवारी साधन जाम हुने रोग जिर्ण बनेको छ । पुम्दीकोट महादेव मूर्ती निर्माण कार्य बनाउने योजनाकारहरुले त्यहाँसम्म पुग्ने सडक र पार्किङको उचित प्रबन्ध गर्ने तर्फ सोचिएको पाइदैन । करिब ४० करोडमा निर्माण गर्ने लक्ष राखिएको पुम्दीकोट टावर यतिखेर निर्माणकै क्रममा रहेको छ । पुम्दीकोट विकास समितिले निर्माणको पूर्ण श्रेय लिए पनि पार्किङ व्यवस्थापन देखि निर्माण कार्यको समापन बारे कुनै कार्य अगाडी बढेको छैन ।
यस बारेमा ध्यानाकर्षण गराउँदा पाखेरा महानगरपालिका वडा नं.२२ का वडा अध्यक्ष मित्रलाल बराल पुम्दीकोटको निर्माण पूरा भईनसक्दै भिड बढेकाले अस्तव्यस्तता बढेको, पार्किङका नाममा निजी व्यक्तिहरुको हस्तक्षेप बढेको, ट्राफिक जाम र सडक असुविधा बढेको कारण आम नागरिकमा समस्या परेको स्वीकार गर्छन् । उनले पुम्दीकोट कोट विकास समिति सँग तत्काल समन्वय गरेर उचित व्यवस्थापनका लागि पहल गरिने बताएका छन् ।
यता पुम्दीकोट विकास समितिका परिकल्पनाकार समेत रहेका स्थानीय समाजसेवी चन्द्रकान्त बराल राज्यको निकायको ध्यान जान जरुरी रहेको बताउँछन् । मन्दिर निर्माण गर्ने काम चन्दा उठाएर महायज्ञ गरेर गरिएको भए पनि बाटो, पार्किङ लगायतका कार्य चन्दा उठाएर नमिल्ने बताउँदै त्यसमा स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारको ध्यान जानुपर्ने पुम्दीकोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताएका छन् । पुम्दीकोट महादेव मन्दिरको निर्माण कार्य पूरा गरेर आगामी मंसिरमा उद्घाटन गर्ने तयारी भइरहेको बरालले बताएका छन् । उद्घाटन पछि सरसफाई शुल्क शीर्षकमा प्रवेश टिकट लगाउने तयारी भईरहेको र त्यसपछि सबै प्रबन्ध मिल्दै जाने बताइएको छ ।

ट्राफिक प्रहरीको आँखा पुगेन

पुम्दीकोट शिवालय र छोरेपाटन प्रहरी चौकी बीच समन्वय नभएको पाइएको छ । ५ जना ट्राफिक रहेको छोरेपाटन ट्राफिक पोस्ट र प्र.ना.नि.को कमाण्डमा रहेको छोरेपाटन प्रहरी चौकीका आँखा पुम्दीकोट पुग्न सकेको छैन ।
छोरेपाटन प्रहरी चौकी अन्तर्गत पर्ने पोखरा २२ को पुम्दीकोट शिवालयमा व्याप्त विकृति, ट्राफिक जाम, हुल भिडभाड नियन्त्रणका लागि प्रहरीको सक्रियता नपाइएको स्थानीयहरुले गुनासो गर्दै आएका छन् । यस बारेमा हामीले छोरेपाटन स्थित ट्राफिक प्रहरी पोस्टकी इन्चार्ज जौमाया राना सँग पुम्दीकोट सम्मको सडकमा व्याप्त ट्राफिक अस्तव्यस्तबारे किन ध्यान नदिएको भन्ने जिज्ञासा राख्दा उनले जनशक्ति अभाव भएको बताइन् । पोखराको शहरी क्षेत्रको व्यवस्थापन तर्फ मात्र ध्यान जाने तर वास्तविक समस्या भएको तर्फ प्रहरी प्रशासनको ध्यान नजाँदा आम सर्वसाधारणले दुःख सास्ती पाइरहेका छन् ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: