तनहुँ ट्राफिकको सक्रियताले देखिएको डरलाग्दो चित्र

सराङकोट न्यूज
30 November, 2021 10:35 am
Advertisements

पारिजात खराल/यदुनाथ बञ्जारा

राजमार्ग कति सुरक्षित छ छैन र त्यस्ता मार्गमा यात्रा गर्दा सवारी चलाउँदा कस्तो सतर्कता अपनाउन पर्छ भन्ने कुरा थाहा पाउन ट्राफिक गतिविधिको रिपोर्ट हेरे पुग्छ । नेपालका अधिकांस राजमार्गहरु सुरक्षित मानिएका छैनन् । सुरक्षित नहुनुमा सवारीको दुरावस्था, चालकको लापरवाही र सडकको खराब अवस्था मुख्य कारण रहने गरेका छन् । त्यस बाहेक चालकको लापरवाही, सिकारुको ड्राइभिङ, सडक प्रयोगकर्ताको हेलचेक्र्याई समेत मुख्य कारण रहने गरेको छ ।
तीमध्ये अधिकांस दुर्घटनाको कारण न्यूनिकरण गर्न सडकमा खटिने ट्राफिक प्रहरीको पनि उल्लेख्य भूमिका रहने गरेको छ। सडकको दुरावस्थाका कारण भइरहेका दुर्घटना न्यूनिकरणमा ट्राफिक प्रहरीको खासै भूमिका रहदैन । त्यस बाहेक चालकले मापसे गरी सवारी चलाउने, सवारीलाई चुस्त दुरुस्त नराख्ने, अदक्ष चालकले सवारी हाँक्ने, सडक प्रयोग कर्ता, पैदल यात्रुहरुको लापरवाही गर्ने देखि लाइसेन्स नभएका हरुलाई सडकमा खटिने ट्राफिक प्रहरीहरुले चेक जाँच गरी नियन्त्रण र नियमन गर्ने अधिकार रहन्छ । कानूनले दिएको अधिकार प्रयोग गरेर सवारी तथा यातायात ऐन नियमानुसार दण्डित गर्ने व्यवस्था रहि आएको छ । ट्राफिकले गल्तीको प्रवृत्ति हेरि जरिवाना असुल गर्ने, थप कारवाहीका लागि जरिवाना असुल गराउन यातायात व्यवस्था कार्यालय पठाउन सक्छ भने मापसे गरि सार्वजनिक सवारी हाँक्नेलाई सार्वजनिक मुद्दा चलाउन जिल्ला प्रहरी कार्यालयमा सिफारिस गर्न सक्छ भने १ पटक जड्याहा चालकको लाइसेन्स प्वाल पारी लाइसेन्स निलम्बन समेत गर्न सक्छ ।
यसै सिलसिलामा तनहुँ ट्राफिक प्रहरी कार्यालयले सडकमा सवारी चेक जाँचलाई तिव्रता दिएको छ । तनहुँ ट्राफिकले २०७८ कार्तिकमा मात्र ट्राफिक नियम कानून उल्लंघन गर्ने ५३ सय सवारीलाई कारवाही गरि ३७ लाख २ हजार रुपैया राजस्व असुल गरेको छ । चालु आ.व. २०७८।०७९ को बितेका ४ महिनामा मात्र कुल १५ हजार १ सय वटा सवारी चालक कारवाहीमा परेका छन् त्यसबाट १ करोड २ लाख २७ हजार ५ सय रुपैया राजस्व असुल गरेको छ यो अहिले सम्मकै उच्च कारवाही र राजस्व असुली रहेको पाइएको छ ।

कारवाहीमा पर्नेमा को ? कति ?

२०७८ श्रावणमा सबैभन्दा बढी ८४९ वटा दुई पा·्रे साधन स्कुटर र मोटरसाइकलले कारवाहीमा परेको र त्यसबापत ५ लाख ५७ हजार ५ सय राजस्व उठेको पाइएको छ । यस्तै भदौमा १०५७ दुई पा·्रे कारवाहीमा परेका छन् त्यसबाट ७ लाख ३७ हजार ५ सय राजस्व उठेको छ । असोजमा १६६८ मोटरसाइकल कारवाहीबाट ११ लाख ६५ हजार राजस्व उठेको छ भने कार्तिक महिनामा मात्र २०२६ वटा मोटरसाइकल कारवाहीमा परि १५ लाख १० हजार जरिवाना बापतको राजस्व उठेको छ । यसरी हेर्दा सबैभन्दा बढी कारवाही पर्ने ट्राफिक नियम उल्लंघन कर्तामा दुई पाङ्ग्रे अर्थात मोटरसाइकल, स्कुटर रहेका छन् यो तथ्याङ्क डरलाग्दो सूचकको रुपमा रहेको पाइन्छ ।
यस्तै कार, जिप तथा ट्याक्सीहरु कारवाहीमा पर्नेमा दोस्रो स्थानमा रहेका छन् । श्रावणमा ४७०, भाद्रमा ५९८, असोजमा १२१६ र कार्तिकमा १२०७ गरि कुल ३४८२ वटा कार, जिप, तथा ट्याक्सी कारवाहीमा परि २२ लाख ८० हजार ५ सय राजस्व असुल भएको पाइएको छ । तेस्रो कारवाहीमा पर्ने ठूलो संख्या ट्रक तथा ट्रिपर रहेका छन् । श्रावणमा ५८२, भाद्रमा ६११, असोजा ९७१ र कार्तिकमा ८३५ वटा ट्रक ट्रिपर ट्राफिक तथा सवारी नियम उल्लंघनमा परेका छन् । ४ महिनामा २९९९ ट्रक ट्रिपरबाट मात्र १९ लाख ९३ हजार राजस्व असुल भएको तनहुँ ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्र.ना.नि. डोलेन्द्र हमालले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।
यात्रुबाहक बस ट्राफिक तथा सवारी नियम उल्लंघन गर्नेमा चौथो नम्बरमा परेको छ । श्रावणमा १९८, भाद्रमा २७०, असोजमा ६०२ र कार्तिकमा ९८८ वटा बसहरु गरि कुल २०५८ कारबाहीमा परेका छन् जसबाट मात्र १३ लाख ५७ हजार ५ सय रुपैया राजस्व असुल भएको छ । पाँचौ नम्बरमा ट्याक्टर रहेका छन् । जसमा श्रावणमा २०६, भाद्रमा १३६, असोजमा २४०, कार्तिकमा २०५ गरि कुल ७८७ वटा ट्याक्टर कारवाहीमा परेका छन् त्यसबाट मात्र ५ लाख १८९ हजार राजस्व संकलन भएको छ । कृषि प्रयोजनका लागि कर, भन्सार छुटमा आएका ट्याक्टरहरुले भाडाको अन्य ढुवानीका काम गर्ने कागजपत्र दुरुस्त नहुने समस्या ट्याक्टरमा हुने गरेको र राजमार्गमा समेत निर्वाध ढ·ले कानून विपरित चल्ने गरेको अस्थायी ट्राफिक पोस्ट थर्पु तनहुँका ट्राफिक प्रहरी जवान सुदिप वि.कले बताए । राजमार्गमा नियमित सवारी जाँच गर्ने र ट्राफिक नियम उल्लंघन कर्तालाई कारवाहीको दायरामा ल्याउने गरेको ट्रा.प्र.ज. सुदिपले बताए ।
सवारी तथा ट्राफिक नियम उल्लंघन बाट राजस्वको असुली दर उठेर राज्य कोषमा टेवा दिए पनि दुर्घटना बाट भएको अपुरणिय क्षतिको सूची पनि उस्तै डरलाग्दो छ । तनहुँ जिल्ला भित्र ७२ किलो मिटर लामो राष्ट्रिय राजमार्ग रहेको छ भने ग्रामीण तथा शाखा सडकहरु पनि लामै रहेको छ । सबभन्दा सुगम र सबैभन्दा दुर्गम जिल्ला भएका कारण जनशक्ति प्रर्याप्त नहुँदा अपेक्षाकृत ट्राफिक चेकिङ, नियमन निगरानी एवम् कारवाही गर्न नसकिएको ट्राफिक प्रमुख हमाल बताउँछन् । कतिपय ठाउँमा दुर्घटना भएपछि खबर आउने तर समयमा पुग्नै कठिन भएकोले सोचेजस्तो प्रभावकारीता देखाउन नसकिएको प्र.ना.नि. हमालले स्वीकार गरे ।
तनहुँ जिल्लाका विभिन्न सडकमा श्रावण देखि कार्तिक सम्म ३७ वटा सवारी साधन दुर्घटना भएका छन् । ती मध्ये मोटरसाइकल दुर्घटनामात्र २० वटा भएको छ । अरुमा जीप, कार ५ वटा, बस ३ वटा, ट्याक्टर ३ वटा, ट्रक ट्याङ्कर ५ सहित भएका दुर्घटनामा परि १२ जना मानिसको मृत्यु भएको छ । त्यसमा पुरुष ९ जना र महिला ३ जना रहेका छन् भने दुर्घटनामा परि २४ जना मानिस गम्भिर घाइते भएका छन् भने साधारण घाइते भएकाको संख्या १७ रहेको छ । सडकमा छाडा छोडिएका सहित ३ वटा चौपायको मृत्यु पनि दुर्घटनाकै सिकारबाट भएको पाइएको छ । सडक यातायात सुविधाको महत्वपूर्ण पाटो भएपनि विभिन्न लापरवाहीका कारण धनजनमा कहाली लाग्दो क्षति पुगेको छ । दुर्घटना न्यूनिकरणका लागि सरकारको तर्फबाट ट्राफिक प्रहरी र जनपथ प्रहरीबाट भइरहेका प्रयासहरुका बाबजुद दुर्घटना रोकिएको छैन् । ट्राफिक प्रहरीहरुको सक्रियता अझ बढाउनुपर्ने देखिन्छ त्यसमा पनि सवारी चालक देखि सडक प्रयोग कर्ताहरुलाई चेतनामूल प्रशिक्षण दिनु जरुरी छ । राजमार्गमा हुइकिने सवारी तिव्र गतिका सवारीका लागि टाइम कार्ड लागू गर्नु जरुरी छ भने सवारी तथा ट्राफिक नियम नमान्नेहरु पटकेलाई कडा कानूनी कारवाही हुने नियम बनाई लागू गर्नुपर्छ । ट्राफिक जनशक्तिको अभावलाई राज्यले तत्काल परिपूर्ति गर्न पहल गर्नुपर्छ तबमात्र दुर्घटनामा न्यूनिकरण निश्चित छ ।
तनहुँमा भएका दुर्घटना सम्बन्धी तीन वर्षको तथ्याङ्क हेर्ने हो भने पनि सोच्न बाध्य बनाएको छ । २०७५ साउन देखि २०७८ असार सम्मको ३ वर्षे अवधिमा मात्र २६६ वटा दुर्घटना भएका छन् । सडक दुर्घटनामा परि १६२ जनाको अल्पायुमै मृत्यु भएको छ भने २५७ जना गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा २ तिहाई संख्या पुरुषको रहेको छ । तीन वर्षमा दुर्घटनाबाट मृत्यु भएका १५२ जना मध्ये पुरुष मात्र १०९ जनाको रहेका छन् महिला ३२ र बालबालिका ११ जनाको दुखद निधन भएको छ ।

राजमार्गका सडक नै जिर्ण

पृथ्वीराजमार्गको ७२ किमी सडक तनहुँमा पर्छ । ती सडकको ठाउँ ठाउँमा जिर्ण अवस्था छ । खाल्टा खुल्टी सडकका कारण दुई पाङ्ग्रे सवारी बढी दुर्घटनामा परेका छन् भने कार, जिप, ट्याक्सी, बस, ट्रक हरु समेत जिर्ण सडकमा नियन्त्रण गुमाउने गर्दा दुर्घटनामा पर्दै आएको पाइन्छ । स्थानिय देखि केन्द्र सरकार सम्मको तीनै तहका नेता, मन्त्री, मेयर सबैले जिर्ण सडक देखेपनि तत्काल सुधार हुन सकेको छैन । एक वर्ष अगाडी करिब २२ अरबमा लागेको ठेक्का पनि सुरु भएको छैन । तत्काल बिग्रेका सडक निर्माण गर्ने तर्फ सरकार जवाफदेही हुन नसके ट्राफिक प्रहरीले मात्र दुर्घटना रोक्न सक्ने अवस्था छैन । समयमै सबै पक्षको ध्यान जान जरुरी छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: