पोखरा–३३ पुडीमा रोकिएन डाँडाकटान, प्रहरी रमिते ! वडा कार्यालयको मिलेमतो

सराङकोट न्यूज
22 December, 2021 10:01 am

पोखरा : पोखरा महानगरपालिका वडा नं. ३३ तल्लो पुडीमा डाँडै कटान गरी ग्रेवल उत्खनन् कार्यको निकासी तथा डम्पिङ कार्य अझै रोकिएको छैन । महानगर प्रशासनले पटक पटक सचेत गराई कारवाही स्वरुप जरिवाना असुल गराउँदा पनि सेतीको तिर क्षेत्रमा रहेको तल्लो पुडीमा ग्रेवल को लागि डाँडै भत्काएर संयौ ट्रिपर ग्रेवेल ओसार पसार गर्दै आइएको छ ।
मंसिर मसान्तमा उक्त क्षेत्रमा सेती गण्डकी हाइड्रोपावरको नाममा भइरहेको अवैध उत्खनन् कार्यको सम्बन्धमा सराङकोटले सप्रमाण समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशन भए लगत्तै पोखरा महानगरपालिकाको राजस्व प्रशासन टोली सुरक्षा प्रवन्ध सहित उत्खनन् स्थल तल्लो पुडीमा पुग्दा उत्खनन् भइरहेको पाइएपछि चावी नियन्त्रणमा लिएको थियो ।
चावी पाउनु अगाडि हाइड्रोपावर कम्पनीले ७ लाख ७२ हजार रुपैयाँ महानगरमा जरिवाना वुझाएको थियो । महानगरपालिकाले व्यवसाय दर्ता समेत नगरी हाइड्रो पावर निर्माण गरेको भन्दै दर्ता र नविकरण वापत करिव डेढ लाख रुपैयाँ असुल गरेको राजस्व महाशाखा प्रमुख कृष्ण प्रसाद तिवारीले वताए । हाल सम्म गरेका अवैध कार्यको जरिवाना असुल गरिएको र ग्रेवल उत्खनन् कार्य रोक्का राखिएको जानकारी राजस्व प्रमुख तिवारीले गराएका थिए।
महानगरले डाँडा कटान र ग्रयावल उत्खनन् कार्य रोकेको दावी गरेपनि तल्लो पुडी क्षेत्रमा स्काभेरट लगाएर डाँडा कटान गर्ने र ट्रिपरले ओसार्ने कार्य जारी रहेको पाइएको छ । सोमवार सराङकोट साप्ताहिकका प्रतिनिधि उक्त स्थलमा पुग्दा २ वटा स्काभेटर र ३ वटा ट्रिपरले कटान र ओसार पसार गरिरहेको पाइएको थियो ।
महानगर पालिकाको नीति नियम विपरित भइरहेको उक्त कार्यमा पोखरा ३३ नम्वर वडाका जनप्रतिनिधि र तिनको इशारामा क्रसरका गिरोह लागि रहेको वुझिन आएको छ । पुडीमा रहेको प्रहरी चौकी समेत रमिते वनेर अवैध उत्खनन् र ओसार पसार कार्यको संरक्षण गरिरहेका हुन् । त्यहाँ प्रहरी नायव निरीक्षकको नेतृत्वमा टोली खटिएको भएपनि उक्त प्रहरी टोलीले गैह्र कानुनी कार्य रोक्न भन्दा जोगाउन सकृय रहेका छन् । सरकारी कानुन विपरित हुने कार्यमा राज्यकै निकायको अकर्मण्यता रहस्यमय वनेको छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: