स्थानीय चुनावमा पोखराका सम्भावित उम्मेद्वार, सम्भावना र चुनौती के छन् ?

यदुनाथ बन्जारा
16 March, 2022 9:21 am

पोखरा 

संघियता लागु भए पश्चात स्थानीय तहको दोस्रो चुनाव २०७९ वैशाख ३० गते देशैभर एकै पटक हुँदैछ । ७५३ वटा पालिकाहरुले नयाँ नेतृत्व पाउने यो निर्वाचनलाई महत्वका साथ हेरिएको छ । सिंह दरवारको अधिकार गाउँ गाउँमा ल्याउने नाराका साथ संघियतालाई कार्यान्वयनमा अघि सारियो । तर धेरै पालिकाहरु सिंहलाई गाउँ शहर र वडा वडामा भित्र्याए तर दरवार अर्थात् अधिकार भने भित्र्याउन नपाएको गुनासाहरु छरपष्ट भएको पाइन्छ ।
संक्रमणकालिन अवस्थाबाट पहिलो पटक नेतृत्वमा प्रवेश गरेकाहरुका लागि त्यो एउटा चुनौतीको विषय पनि थियो, सिकाइको चरण पनि रह्यो तर ५ वर्ष सम्मको मूल्यांकन अव गर्ने वेला आएको छ । स्थानीय चुनौती र नागरिकको समस्या पहिचान गरेका स्थानीय जनप्रतिनिधिहरुले अपेक्षाकृत सफलता सँगै जनमत पनि थप्न सक्ने देखिन्छ भने अधिकांस पालिका हरुमा सन्तुष्टि भन्दा वढि वितृष्णा पाइएको छ ।
आगामी स्थानीय निर्वाचन नेपालकै सवैभन्दा ठूलो महानगरपालिकाले कस्तो नेतृत्व पाउँला भन्ने सर्वत्र चर्चाको विषय वनेको छ । निर्वाचन आउन ६० दिन वाँकी छ । ६० दिन वाँकी भइरहँदा महानगरको मेयरका लागि आकांक्षी उम्मेद्वारहरुको चर्चा सुरु भइरहेको छ । ठूला दलका तर्फबाट उम्मेद्वारको सूचि वाक्लै देखिन सुरु भएको छ । कतिपयले प्रचार प्रसारलाई केन्द्रित गर्न थालिसकेका छन् भने कतिपयले टिकट को लविङमा केन्द्रित देखिन्छन् ।

Advertisements

को को छन् आकांक्षी?

हाल नेतृत्वमा रहेको नेकपा एमालेका तर्फबाट उपमेयर मञ्जुदेवी गुरुङ मेयरमा चुनाव लड्ने योजनामा रहेकि छिन् । उपमेयरमा रहँदा विवादमा खासै नमुछिएकी गुरुङलाई मेयरमा लड्ने टिकट ल्याउन केन्द्रको राम्रो आर्शिवाद रहने चर्चा छ । दुई पटक राष्ट्रपति वन्न सफल विद्या देवी भण्डारीकी मितिनी भएको वल मिल्ने सम्भावनाका वारेमा जानकारहरु वताउँछन् । तर पोखरा हाक्न नरम स्वभावकी मञ्जु गुरुङलाई कठिन पर्ने भन्दै हठी र जव्वर स्वभाको पात्र पोखरामा मेयरमा आवश्यक रहने वताउनेहरु पनि वाक्लै छन् ।
एमालेबाटै अर्का आंकाक्षीमा पूर्व मेयर कृष्ण थापाको चर्चा छ । लोतेपोते कुरा नगर्ने, दह्रो गोडा टेकेर कठोर निर्णय गर्ने, पेलेर आफ्नो निर्णय लागु गर्न सक्ने पात्रको रुपमा कृष्ण थापालाई मेयर बनाउने प्रयास एमाले कास्की वृतमा चर्चा चलेको छ । गण्डकी प्रदेशका सदस्य रहेका थापाले आकांक्षाको घोषणा भने गरिसकेका छैनन् तर उनि निकटका कार्यकर्ताहरुवीच कोठे छलफल भइरहेको स्रोत बताउँछ । तर सवैभन्दा वढी भोट (११ हजार बढी) रहेको आफ्नै गृह वडा लाई चित्त बुझाउन नसकेर अर्कै क्षेत्रमा गएर चुनाव जितेका थापाको जितको सम्भावना आफ्नैबाट टर्न सक्ने बताउनेहरु पनि बाक्लै रहेका छन् । मतदातावीचमा उनी अपेक्षाकृत लोकप्रिय मानिदैन ।
यस्तै नेकपा एमालेबाट प्रदेश सभा सदस्य राजीव पहारी पनि मेयर उम्मेद्वारको चर्चामा छन् । उनि आफूलाई वलियो उम्म्देवार बताउँछन् तर लेकसाइड घर भएका पहारी लेकसाइडडकै कारण गृह वडाबाटै आलोचित छन् विद्यार्थी राजनीतिको छवि बनाएका पहारीको उम्मेद्वारीलाई नेपाली कांग्रेसले सहज उम्मेद्वारको रुपमा लिएको छ । यि वाहेक युवा संघका भूपू केन्द्रीय उपाध्यक्ष माधव वास्तोला, महिला नेतृ मिना गुरुङको नाम पनि आकांक्षीको सूचिमा चर्चा भइरहेको छ ।
यस्तै अर्को ठूलो दल नेपाली कांग्रेसबाट पनि आधा दर्जन उम्मेद्वारले आकांक्षा राखेका छन् । सरस्वती गुरुङ संघियता कार्यान्वयन लगत्तै भएको पोखरा महानगरको चुनावमा उपमेयरकी उपविजेता महिला नेतृ सरस्वती गुरुङले आफूलाई मेयरको वलियो उम्मेद्वारको रुपमा रहेको बताउँदै आएकिछिन् । पोखरेली जनताको समस्या र पोखराको विकासको खाका सुक्ष्म रुपले अध्ययन गरेकोले सुशासन र पारदर्शिता लाई मुख्य एजेण्डा बनाउँदै वितेका ५ वर्षलाई सदुपयोग गरेकी उनले संगठनमा स्थानिय देखि केन्द्रीय तहसम्म प्रभाव जमाएको दावी गर्दै पार्टीले समय र परिस्थितिको मूल्यांकन गर्नेमा पूर्ण विस्वस्त रहेको बताउँछिन् । वर्तमान सत्ता गठवन्धन आउँदो चुनाव सम्म जारी रहने सम्भावना वढेर गएकोले यो चुनाव जित्ने सम्भावना वढेको छ । माओवादीबाट उपप्रमुख युवालाई दिने केन्द्रको तयारीले मूर्त रुप पाउने देखिएको छ यसले पनि सरस्वती गुरुङको उम्मेद्वारी टिकट पाउने अधिक सम्भावना रहेको छ ।
त्यसो भएमा अघिल्लो चुनावमा झै आउँदो चुनावमा मञ्जु गुरुङ र सरस्वती गुरुङको रोमाञ्चक प्रतिस्पर्धा देखिन्छ । अहिले सम्म भएका पछिल्ला निर्वाचनहरुमा गठवन्धनले अधिकांसमा जित हासिल गरेको छ । वर्तमान गठवन्धनले अघिल्लो चुनावलाई वदला लिन सक्ने प्रवल सम्भावना पनि देखिन्छ । वार चुनाव, सिडेन चुनाव, उद्योग वाणिज्य संघको चुनाव, पत्रकार महासंघको चुनाव, राष्ट्रिय सभाको चुनाव, उपचुनावले छनक दिइसरेको छ अघिल्लो चुनावमा एमालेबाट सहजै जितेका एक पालिका अध्यक्षले नाम नछाप्ने सर्तमा भने “यो चुनाव गाह्रो छ ।”
नेपाली कांग्रेसबाट अर्का वलिया प्रतिस्पर्धी उम्मेद्वार पूर्व सचिव वावुराम आचार्य हुन् । प्रशासनिक क्षेत्रमा राम्रो दख्खल राख्ने आचार्य निस्कलंक पात्र हुन । उनले पनि आफ्नो दौड सुरु गरेका छन् । यस्तै कास्कीका निवर्तमान सभापति कृष्ण केसीले पनि मेयरमा ईच्छा जाहेर गरेका छन् । केसीले आफूले टिकट पाएमा जित सुनिश्चित रहेको दावी गरेका छन् ।
कांग्रेसको तर्फबाट किशोरदत्त बराल, विरेन्द्र नारायण विजुक्छे, विन्दु थापाको समेत नाम चर्चामा रहेको छ । यता नेकपा माओवादीबाट वखानसिंह तमू, विश्व प्रकाश लामिछाने विज्ञान गिरीको नाम चर्चामा आएको छ। गठवन्धन भएमा नतिजा सहजै जित्ने अवस्था छ त्यसमा पनि उम्मेद्वार जनमुखी र निस्कलंक हुनु पर्छ । गठवन्धन नभएमा कडा टक्कर एमाले उम्मेद्वार र नेपाली कांग्रेस वीच हुनेछ अघिल्लो चुनावमा सहज जित लिएपनि यो पटक अवस्था फेरिएको एमालेका नेता तथा कार्यकर्ताहरु बताउँछन्।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: