मातृशिशु अस्पतालमा दरबन्दीका डाक्टर शून्य ! अस्थायी करार डाक्टरका भरमा कहिलेसम्म ?

यदुनाथ बन्जारा
7 June, 2022 10:22 am
Advertisements
Advertisements

पोखरा

गण्डकी प्रदेश सरकार मातहतमा रहेको मातृशिशु मितेरी अस्पताल जिल्लास्तरीय अस्पताल हो । ५० शैयाको क्षमतामा रहेको यस अस्पतालमा यति खेर दरबन्दीका डाक्टर एक जना पनि छैनन् । ४ जना मेडिकल अधिकृतको दरबन्दी रहेका मातृशिशु मितेरी अस्पतालमा दरबन्दीका एकजना डाक्टर पुस्कर पौडेल निमित्त मेसु थिए तर उनी पनि अमेरिका अध्ययनका लागि विदा भए। पोखराका मेयर धनराज आचार्य सहितले खुसी साथ डा.पौडेलको विदाई त गरे तर अस्पताल आउने नागरिकको सेवा विहिन अवस्था बारे केहि सोचिएन कुनै चिन्ता पाइएन।
मातृशिशु अस्पतालमा रहेको ४ जना दरबन्दीका डाक्टर मध्ये एक जना पनि कार्यरत छैन भन्दा अनौठो लाग्न सक्छ तर तितो सत्य यही हो कि त्यहाँ दरबन्दीका डाक्टर सबै अध्ययन विदामा रहेका छन् । प्रदेश सरकारले पुल दरबन्दीमा रहेका डाक्टरहरु लाई समेत पोखरा झिकाउन सकेको छैन । कार्यरत दरबन्दीका डाक्टर नाम मात्रका छन् । उनीहरु दरबन्दी मातृशिशु अस्पतालमा राखेर अध्ययन विदामा पठाइएको अवस्था छ । डा. अस्मिता पाठक धरानमा अध्ययनरत रहेको बुझिन्छ । उनको तलब मातृशिशु अस्पतालबाट सिधै खातामा जम्मा गरिन्छ । यस्तै डा. त्रिभुवन भण्डारी र डा.अनुप पण्डित पनि कहाँ छन् एकिन छैन । अस्पताल प्रशासनलाई नै जानकारी छैन भने केन्द्र र प्रदेशका मन्त्रालयलाई चासो रहेको समेत पाइदैन । सरकारको काम दरबन्दीमा डाक्टरलाई भर्ति गरेर जागिर खुवाउनु मै ठीक्क छ । जिल्ला अस्पतालमा पोस्टिङ गरिदियो, सरुवा गरिदियो भयो पढ्न जहाँ जाउन जनताले सेवा पाउन नपाउन केही मतलब रहेको पाइदैन ।
त्यति मात्र हैन कोमागाने अस्पतालमा दरबन्दी मिलाएर आएकी लमजुङ घर भएकी डा.सुजु जमरकट्टेल सरकारी अनुमती समेत नलिई एम.डि पढ्न स्पेन पुगिन् । २ वर्ष सम्म विना जानकारी विदेश बसिरहदा पनि सरकारको आँखा पुग्न सकेन । प्रदेश सरकार अन्तर्गतको यस अस्पताल र प्रदेश सरकार स्वास्थ्य मन्त्रालय बीचको दूरी ८ किलोमिटर पनि छैन तर सरकारको स्वीकृती नलिई विदेश भासिएको कुरा मन्त्रालयले दुई वर्ष सम्म थाहै पाएन । अस्पताल प्रशासनले पनि तालुक निकायलाई थाहै दिएन ।
सराङकोटले यस विषयमा सुईको पाएर समाचार प्रकाशन गरेपछि बल्ल सोधपुछ अगाडि बढेको छ । सोधपुछ अगाडि बढेको पनि ६ महिना भयो तर अझै कारवाही टुङ्ग्याउन सकेको छैन । कारवाही नटुङ्ग्याउँदा अस्पतालले चिकित्सक पाएको छैन । प्रदेश सरकार मातहतको सदरमुकामकै त्यस अस्पतालको यो हालत छ भने दुर्गम क्षेत्रका सरकारी अस्पतालको के होला दुर्दशा ? एउटा सोचनिय विषय बनेको छ ।
यतिखेर अस्पतालको नेतृत्व नै नभएको अवस्था छ । ५० शैयाको अस्पतालमा विदेशषज्ञ चिकित्सकको नेतृत्व हुुनुपर्छ तर भएका मे.अ. समेत विदा भएका छन् । अस्पताल अस्थायी करार सेवाका चिकित्सकको भरमा चलेको छ । मातृशिशु अस्पतालमा कहिले आउँछन् बाल तथा महिला रोग स्थायी विशेषज्ञ ? आम जनताको यो प्रश्नको जवाफ कसले दिने ?

अलपत्र छ उपकरण

पृथ्वी सुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकारको पालामा स्वास्थ्य तथा सामाजिक विकास मन्त्री नरदेवी पुनले झण्दै करोड रुपैयाको आइसियु तथा सघन उपचार कक्षका उपकरणहरु किनिन् तर डाक्टर र विशेषज्ञको अभावमा उलपत्र छन् उपकरण । ड्राइभर विनाको मोटर किने जस्तै औचित्य हिन खरिदको उपयोग गर्न गराउन कहिले आउँछन् जनशक्ति ? आवश्यक जनशक्ति नै नभई समान किनेर थुपार्न किन हतार गरियो ? गण्डकी प्रदेश सरकारले कहिले व्यवस्था गर्छ जनशक्तिको ? कतै नाम मात्रको मातृशिशु अस्पताल बन्ने त हैन ? खरिद गरिएका आइ.सि.यु.का उपकरण प्रयोग नै नभएर कुहिने त होइनन् ? चिन्ताको विषय कहिले होला निराकरण ?

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: