विन्ध्यवासिनी मा.वि.मा विद्यार्थीलाई राष्ट्रिय सेवादल (एनसिसि) तालिम सुरु

सराङकोट न्यूज
18 July, 2022 11:12 am

पोखरा

तस्विरमा देखिएका यी किशोरहरु आर्मी कम्ब्याट, बुट र टोपीमा सजिएर तन्दुरुस्त छन्। विन्ध्यवासिनी मा.वि. कक्षा ८ र ९ मा अध्ययन गरिरहेका ३६ जना छात्र छात्राहरु दिनको पढाई सकेपछिका हरेक दिन दुई घण्टा राष्ट्रका लागि सेवा गर्ने दृढ ईच्छाका साथ राष्ट्रिय सेवा दल (एनसिसि) को तालिममा होमिएका छन् ।
नेपाल सरकारले तय गरेका कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने जिम्मेवारी पाएको नेपाली सेना, मध्य क्षेत्र तालिम शिक्षालय, पश्चिम कमाण्ड विजयपुरले १६ वर्ष सम्मका किशोर किशोरीहरुलाई २०७९ श्रावण १ गते देखि २०७९ कार्तिक १७ गते सम्म प्रशिक्षण प्रदान गर्ने भएको छ ।
श्रावण १ गते आइतबार राष्ट्रिय सेवा दल तालिमको उद्घाटन गर्दै नेपाली सेनाका प्रशिक्षण सहायक सेनानी निरज थापाले तालिमका सहभागी छात्र छात्राहरुलाई तालिमको औचित्य र महत्वका बारेमा प्रस्ट पार्दै राष्ट्रिय सेवा दल ४८ औं जुनियर क्याडेटले प्रशिक्षण पश्चात राष्ट्रिय सुरक्षा देखि आत्मरक्षा सम्म प्रत्यक्ष टेवा पुग्ने बताउँदै विपत व्यवस्थापनमा परिचालन, राष्ट्र र राष्ट्रिय भावनाको विकास हुनुका साथै राष्ट्रप्रेमी नागरिकको पहिचान देखाउन सक्ने जनशक्ति तयार हुने बताएका थिए ।
विन्ध्यवासिनी मा.वि.का प्राचार्य कृष्ण प्रसाद आचार्यले राष्ट्रिय सेवादलको तालिमको अवसर विन्ध्यवासिनी मा.वि.का विद्यार्थीहरुले पाउनु गौरवको विषय भएको भन्दै खुसी व्यक्त गरे । यसै हप्ता मात्र विन्ध्यवासिनी मा.वि.ले राष्ट्रिय तहको उत्कृष्ट पाँच र प्रदेश तहमा सर्वोत्कृष्ट बन्न सफल भएको थियो ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: