गण्डकी मेडिकल कलेजले गर्‍यो सेवा विस्तार, मुटुरोग उपचारका लागि बाहिर जान नपर्ने दावी

सराङकोट न्यूज
22 December, 2022 12:18 am
Advertisements
Advertisements

पोखरा

पोखरामा रहेको गण्डकी मेडिकल कलेजले आफ्नो सेवा विस्तार गर्दै लगेको छ । यसै क्रममा गत मंसिर २८ गते गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ह्रदयरोग उपचार केन्द्र सुरुवातको औपचारिक उद्घाटन गर्दै सेवा शुभारम्भको घोषणा गरेका छन् । ह्रदयरोग सम्बन्धि उपचार सुरु गरेको केहि महिनामै क्याथ ल्याव (Cath Lab) जडान गरी सेवा सुरु भएको गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा प्रसाद अर्यालले बताएका थिए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले गण्डकी मेडिकल कलेजले मुटुरोग सम्बन्धि विशिष्ट सेवा शुभारम्भ गरेकोमा धन्यवाद सहित खुुसी व्यक्त गरेका थिए । गण्डकी प्रदेश बासीका लागि यो गौरवको विषय रहेको र कोभिडको महामारीमा खेलेको भूमिका प्रति मेडिकल कलेजलाई धन्यवाद दिदै मुख्यमन्त्री पोखरेलले स्वास्थ्य क्षेत्रमा सरकारको तर्फबाट सहयोग गर्न तयार रहेको बताएका थिए । पाठेघर, पाठेघरको मुख, स्तन क्यान्सर उपचार निःशुल्क प्रदान गर्नुका साथै रगत निःशुल्क प्रदान गर्ने व्यवस्था मिलाइएको मुख्यमन्त्री पोखरेलले बताएका थिए ।
केहि वर्ष अघि सम्म थाइराइड पत्ता लगाउने जाँच समेत बाहिर पठाउनु पर्ने अवस्था झेलेको गण्डकी मेडिकल कलेजले पछिल्ला वर्षमा गुणस्तरीय सेवा प्रवाहमा फड्को मारेको बुझ्न सकिन्छ । सामान्य रोग पहिचान र उपचार गर्न समेत काठमाडौं र भारत तर्फ जानु पर्ने अवस्थालाई अन्त्य गर्दै गुणस्तरीय शिक्षा र स्वास्थ्यमा ध्यान दिन गरेको पहल सराहनिय मान्न सकिन्छ । काठमाडौं र भारतमा पाउने उच्च तहको गुणस्तरीय सेवा पोखरामै भित्र्याउन थप योगदान गर्ने चुनौती गण्डकी मेडिकल कलेजलाई रहेको छ ।
गण्डकी मेडिकल कलेजका प्रिन्सिपल रविन्द्र श्रेष्ठले शैक्षिक गुणस्तर वृद्धि गर्ने नीति प्राथमिकतामा रहेको बताउँदै शैक्षिक पाटो सुध्रिए गुणस्तरीय स्वास्थ्य स्वतः सुधिने दावी गरेका छन् । गण्डकी मेडिकल कलेजले सामाजिक उत्तरदायित्व सम्बन्धि नीतिलाइ कार्यान्वयन गर्न कुनै कमि गर्न नहुने सामाजिक अभियन्ताहरुले सुझाव दिएका छन् ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: