यदुनाथ बन्जारा
अब ठगिएका, अन्यायमा परेका उपभोक्ताहरुले न्याय खोज्न निबेदन लेखेर उजुरी गर्न कार्यालयमै जानू पर्दैन ।आफ्नै मोबाइलबाट क्यु आर कोड स्क्यान गर्ने र धक फुकाएर स्मार्ट उजुरी गर्न पाइन्छ । त्यसरी गर्ने उजुरीमा आफ्नो नाम र नम्बर समिट गरे पनि त्यो नाम सार्बजनिक नगरिने जिल्ला प्रशासन कार्यालय कास्कीले बताएको छ ।उपभोक्ता अधिकार संरक्षणका लागि उजुरी, गुनासो र सुझावका लागि क्युआर कोडसहितको अनलाइन प्रणालीको सुरुआत गरेको हो ।
गृहसचिव एकनारायण अर्यालले मंगलबार आयोजित एक औपचारिक कार्यक्रममा क्युआर कोड सार्वजनिक गरे । बजारमा उपभोक्ता ठगिएको र मर्कामा परेको गुनासो आएपछि यो प्रणाली सुरु गरिएको हो । रात्रिकालीन व्यवसाय , शिक्षा स्वास्थ्य , यातायात देखि विभिन्न वस्तु र सेवा प्रवाहका सबै क्षेत्रका बारेमा गुनासो गर्न मिल्ने गरी व्यवस्था मिलाइएको छ । साथै जिल्ला प्रशासन कार्यालयकै सेवा प्रवाहमा पनि गुनासो गर्न मिल्ने गरी अर्को क्युआर कोड समेत बनाइएको छ ।
गृहसचिव अर्यालले संविधान र कानुनले उपभोक्ताको अधिकारलाई सुनिश्चित गरेको भन्दै उपभोक्ता आफै पनि सचेत र जागरुक हुनुपर्ने भनाइ राखे । कास्की प्रशासनले सुरु गरेको कामको प्रशंसा गर्दै उनले अब अरु जिल्लामा यसै गर्नका लागि निर्देशन जारी गर्ने प्रतिबद्धता जनाए । यस्ते प्रणालीले कास्कीमा गुणस्तरीय सेवा र वस्तु पाइन्छ भन्ने वातावरण सिर्जना गर्ने अर्यालको भनाइ थियो । ‘ठगिमा परेका पिडित उपभोक्ताले कसरी यो क्युआर कोड प्रयोग गरेर गुनासो गर्न सक्छन् भन्ने सचेतना फैलाउन आवस्यक छ, यसका लागि मिडिया र स्थानीय तहले व्यापक प्रचार गर्नुपर्छ ।’
नागरिक वडापत्रमा उल्लेखित कामहरु तोकिए बमोजिम सम्पादन भए नभएको पनि यो क्यु आर कोडले समेटेको छ । कर्मचारीले समयमै काम नगरे क्षतिपूर्तिको व्यवस्था संविधानले गरेको भन्दै उनले वस्तु र सेवा लिदा गुणस्तरहीन भएमा सम्बन्धित पक्षबाट क्षतिपूर्तिको व्यवस्थातर्फ पनि स्थानीय प्रशासनको ध्यानाकर्षण गराए । बजार अनुगमनल्र कारबाहीको पाटो अलि जटिल भएकाले कानुन परिमार्जनको चरणमा रहेको उनले सुनाए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले क्युआर कोडको पूर्ण कार्यान्वयन गर्न र दीगोरुपमा सञ्चालन गर्ने प्रतिवद्धता जनाए । पोखरामा यसबारेमा निकै नै बढी गुनासो आएकाले यो अभियान थालेको उनले सुनाए । पोखरा पर्यटकीय क्षेत्रसमेत भएकाले पर्यटक ठगिएमा पोखरा र कास्कीको साख गिर्ने भन्दै उनले यो नहोस् भन्नका लागि क्युआर कोड ल्याइएको प्रजिअ पाण्डेको भनाइ थियो ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले संविधानले मौलिक हकका रुपमा राखेको उपभोक्ताको अधिकारको संरक्षणका लागि क्युआर कोडको व्यवस्था गरिएको बताए । वस्तु तथा सेवा विस्तार, प्रविधिसहितको व्यावसायिक गतिविधि बढिरहेकाले अहिले सूचना प्रविधिको उपयोग गरी बजार निरीक्षणको एउटा उपाय अपनाइएको उनले उल्लेख गरे । बजार निरीक्षणको काम पनि भइरहेको उनले बताए ।
जिल्ला प्रशासन कार्यालय कास्कीका कम्प्युटर अपरेटर अनिल थापाले सजिलोसँग गुनासो राख्न सकिने गरी क्युआर कोड बनाइएको र आवश्यकता अनुसार परिमार्जन गर्दै लगिने बताए । उजुरी प्राप्त भएपछि त्यसको जानकारी उजुरीकर्तालाइ गराउने थापाले बताए
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका सचिव योगन्द्र केसीले प्रविधिको प्रयोगबाट नागरिकका गुनासालाई सम्बोधन गर्नु राज्यको सबैभन्दा ठूलो दायित्व रहेको भन्दै यस्तो राम्रो कामका लागि आफू र आफ्नो संगठनको सहयोग रहने बताए । उनले भने आफ्नो सस्था पृथ्वी राजमार्ग बस कम्पनी र प्रदेश भरका सबै सवारी साधनमा यो क्यु आर स्टिकर राखिने उनले बताए ।
पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले अव पर्यटक नठगिने र ठगिएमा सहजै गुनासो गर्ने अवसर मिलेको भन्दै खुसी व्यक्त गरे । पोखरा चेम्बर अफ कमर्सका उपाध्यक्ष नविन बरालले घरबाटै गुनासो गर्न पाउँदा बस्तु वा सेवाको उपभोग गर्ने अधिकार सुनिश्चित हुने विश्वास जनाए । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले क्युआर कोड कार्यान्वयनको प्रतिवद्धता जनाउँदै नियतवश उजुरी दिनेमाथि पनि कारवाही हुनुपर्ने बताए ।
कार्यक्रममा पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले प्रशासनले थालेको यो कदमको स्वागत गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाइन । प्रशासकीय अधिकृत भीष्मराज अर्यालले सन्चालन गरेको क्यु आर सार्बजनिक कार्यक्रममा जनप्रतिनिधि, नागरिक समाजका प्रतिनिधि र कार्यालय प्रमुखहरु उपस्थित थिए ।