चाडबाड पछि सेलायो राजमार्गका ट्राफिक ,कारबाहिको सट्टा असुलि !

सराङकोट न्यूज
12 November, 2024 8:43 pm
Advertisements

ग २ ख ९३१ नम्बरको जम्बो हाएसलाई मुग्लिन पुल मुखमा रहेका ट्राफिक प्रहरीले झ्याप्प रोके । चालकले सहचालकलाई भने ” जा कान्छा कुरो मिलाएर आ ” । गाडी अलि अगाडि गएर साइड लागेर रोकियो । केही समय पछि कान्छा भनिने सह चालक आए गाडी चढे ढोका लाग्यो । चालकले सोधे कान्छा कति लियो ? “२ सय” , १ सयमा मानेन है ! चालकले प्रतिप्रश्न तेर्स्याउदै गाडी हुइक्याइरहे । यात्रु कोचाकोच थिए त्यो गाडिमा ।३ जनाको सिटमा ५ जना थिए , जाडोको बेलामा उकुस-मुकुस गर्मी थियो , अगाडी सिटमा समेत चालक बाहेक ३ जना यात्रु चढाइए। ट्राफिकले बडि यात्रु बोकेको सहजै देखिन्थ्यो । १५ जनाको सिटमा २२ जना यात्रु हालेर लामो बाटोको यात्रा एकातिर जोखिम अर्कातिर यात्रुलाइ सास्तीपुर्ण यात्रा । केही बोलम प्रतिक्रिया दिउँ भने ड्राइभर रिसाएर रफ ड्राइभ गर्ला भन्ने मनचिन्ताले यात्रुहरु कस्ट सहेर चुपचाप थिए ।यात्रुहरुले ट्राफिकले अब ठिक पार्ने भो भनेर आशा गरेका थिए तर २ सयमा बिकेका ट्राफिकले न यात्रु प्रती ध्यान दिए न जरिवाना राजस्व नै तिराए । कुरो मिल्यो खाजस्वमा !


मनले चिमोट्यो यो पङ्तिकारलाइ । आखै अगाडी भएको , कानैले सुनेको , त्यतिमात्र हो र आफैले भोगेको कस्टकर यात्रा भित्र आइपरेको बेथिति । सबैलाइ जानकारी गराउन पर्छ , सरोकारवाला निकायको आँखा सम्म पुर्याउनुपर्छ भन्ने लाग्यो र सामाजिक सन्जालमा पोस्ट गरे । त्यसपछि सुरु भयो प्रतिक्रिया । राजमार्ग सुरक्षा हेर्ने प्रदेश ट्राफिक कार्यालय पोखराले धादिङ ट्राफिकलाइ रिपोर्ट गरेको थाहा भयो । बेनिघाट ट्राफिकले गाडी रोके चालक सहचालकलाइ भित्र लगेर सोधपुछ गरे तर नियम बिपरित बोकेको यात्रुको सङ्ख्या त्यहा पनि हेरिएन , कानुन बिपरित यात्रु बोक्ने गाडि चालकबाट कुनै जरिवाना राजस्व उठाइएन ।बेनिघाट चौकिमा पुग्दा २१ जना यात्रु कोचिएकै अबस्थामा थिए ।ट्राफिकको कोठा भित्र केमा कुरा मिल्यो त्यो भने थाहा पाइएन तर चालक २ सय रुपैयाँ ले दुख पाइयो भन्दै सहचालक सङ्ग गुनगुन गर्दै थिए । कानुनले तोके भन्दा बढी यात्रु बोकेको बिषयमा के कारबाही भयो भन्ने हाम्रो प्रश्नमा बेनिघाट ट्राफिक पोस्टका इन्चार्ज प्र ह रामु सापकोटा कुनै कारबाही नगरिएको बताउछन । २१ जना बोकेको प्रतक्ष देख्ने भोग्ने यो पङ्क्तिकारलाइ ढाटेर उक्त हाएसले बच्चा सहित १७ जना यात्रु बोकेको प्र ह सापकोटाले बताए । उनले पनि कानुन बिपरित यात्रु बोक्ने , बाटामा ट्राफिकलाइ घुस खुवाउने सवारी चालकलाइ कारबाही त के बचाउ गरे यो कुरा पनि छानबिनको दायरामा ल्याउनु जरुरी देखिन्छ । यो प्रकरण बाहिरिएपछी प्रदेश ट्राफिक पोखराले आरोपित पात्र प्र ज हेम बहादुर बुढाथोकीलाई प्रदेश तानेर छानबिन अगि बधाइएको सुचना अधिकारी प्र नि दिपक थापाले बताएका छन । राजस्व नकाटी छोड्ने बेनिघाट ट्राफिकको के हो मिलेमतो त्यो पनि छानबिन हुनुपर्ने प्रतक्षदर्शी यात्रुले बताएका छन । जनपद प्रहरी बाट ट्राफिकमा आउन मरिहत्ते गर्ने पात्रहरुले ट्राफिकको सहि मर्म बुझ्न नसकेको हो वा महत्वाकांक्षी बनेका हुन भन्ने एउटा बिषय छ नै ।
राजमार्गमा ट्राफिक प्रहरी छ्याप्छ्याप्ती देखिन्छन । तर के चेक गर्छन थाहै नहुने । न यात्रु गन्छन , न भाडा सोद्छन , न समान चेक गर्छन निर्बाध गन्तब्य पुग्छन गाडिहरु । नेपालिहरुको ठुला चाडबाड सकिएको छ । चाडबाडमा गरिने चेक जाँच पनि आलोचित बन्ने गरेको यस्तै खस्याकखुसुक भएर होला । ट्राफिक प्रहरिको ध्यान चाडबाड सकिए सङ्गै सुस्ताएको छ । ट्राफिक सुस्ताएपछी सडक प्रगोगकर्ता चालक हरु खुसी भएका छ्न । ६-७ जना यात्रु बढि कोचेर लादा करिब ५ हजार बढि भाडा उट्छ त्यसबाट बाटाको चेकिङमा २/३ सयका दरले घुस बुझाउदै जादा पनि चालक र ट्राफिक दुबै फाइदामै रमाउने भएपछी यो बिकृती र बेथितिको शृङ्खला महारोग बन्दै गएको छ ।

पाठक बृन्द यो २ सय रुपैयाँको घुस कान्डको चर्चा मात्र होइन । यति सानो कुरा किन उठ्यो भन्ने लाग्यो होला तर यो रकम कलम सानो भएपनी गल्ती गर्नेलाइ जोगाउने , यात्रुलाइ सास्ती दिने अनि घुस खुवाएर काम पट्याउने ती दुबै पात्र गलत देखिन्छन दुबै दोषी हुन । यो प्रवृत्तिको भन्डाफोर हो । पात्र को थिए भन्ने भन्दा पनि सिङ्गो प्रहरी सङ्गठनलाइ बदनाम पार्ने र नागरिकलाइ जोखिम सहितको सास्ती दिने कार्यशैलीको बिरुद्दमा उठाइएको इस्यु हो यो । कानुन बमोजिम कागज नबोक्ने , बढी यात्रु चढाएर कानुन मिच्ने अनि ट्राफिकलाइ घुस खुवाएर काम लिने प्रकरणमा घुस खुवाउने पक्षलाई पनि भ्रष्टाचारमा अनुसन्धान गरिनु पर्छ । राष्ट्रसेवकको खोल ओढेर कानुनलाइ धज्जी उडाउदै नागरिकलाई सास्ती दिने कार्य रोक्न जिल्ला देखि केन्द्र सम्मको निगरानी हुनुपर्छ । राजमार्गमा हुने सरुवालाइ पारदर्शी र भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति अपनाउनु पर्छ । गणबाट आएका जनपद प्रहरीलाई ट्राफिकको जिम्मेवारी दिनु भन्दा ट्राफिकको आवश्यक दरबन्दी सृजना गरेर पदपूर्ति गर्ने तर्फ सरकारले ध्यान दिनु पर्छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: