मृगौला पीडित श्रेष्ठको मस्तिष्कमा पनि दाग, पैसाको अभावमा उपचारमा समस्या

पदम श्रेष्ठ
28 July, 2020 3:31 pm

पर्वतको फलेवास नगरपालिका २ थापाठाना स्थायी घर भई कुस्मा नगरपालिका ५ मेलमिलाप चोकमा सानो किराना पसल चलाउँदै आएका ३७ वर्षीय गणेश श्रेष्ठको आर्थिक अभावको कारण उपचारमा समस्या आएको छ।
१२ वर्षअघि सामान्य ग्यास्ट्रिकको समस्या देखियो, एक हप्ताकै अवधिमा आँखामा पनि समस्या देखियो। उनी तत्कालै आँखा नदेख्ने र मान्छे नै चिन्न नसक्ने भएपछि पोखरामा रहेको आँखा अस्पतालमा पुगे। तर उनका आँखामा कुनै समस्या नदेखिएपछि काठमाण्डौको चाबहिलमा रहेको हस्पिटलमा पुगेर स्वास्थ्य परीक्षण गर्दा दुवै मिर्गौला खराब भएको थाहा पाए। चिकित्सकले मिर्गौला प्रत्यारोपण गर्नुपर्ने र नियमित डाइलासिस गर्नुपर्ने बताए तर त्यस बेला नेपालमा प्रत्यारोपण सेवा सञ्चालनमा थिएन।
उपचारको खोजीमा गणेशलाई भारतको चण्डीगढमा रहेको पीजीआई हस्पिटलमा लगियो। आफ्नै आमा भीमकुमारी श्रेष्ठले छोरालाई मिर्गौला दिएर जीवन रक्षा गरिन्। करिब १ वर्ष भारतमै रहेर उपचार गरेर उनी नेपाल फर्किए। तर बाँचुन्जेलसम्म औषधि नियमित रूपमा सेवन गरेमा मात्रै उनी बाँच्ने भनी डक्टरले सिफारिस गरेका थिए। तर १२ वर्षपछि गणेशमा नयाँ समस्या देखियो। २०७६ सालको जेठमा अचानक टाउको दुख्न थाल्यो।
परीक्षणको लागि पोखराको मणिपाल शिक्षण अस्पतालमा १ महिनासम्म सघन उपचार कक्षमा राखेर उपचार भयो। लामो समय उपचार गराउँदा पनि न त स्वास्थ्यमा सुधार आयो न त रोग नै पत्ता लाग्यो। मणिपालाले उपचार सम्भव नभएको र लामो समय बचाउन नसिकिने बताएपछि घरमा लगेर आराम गराउन सल्लाह दियो। छिमेकी र आफन्त सबैले अब गणेश रहँदैनन् भन्ठाने। तर आमा र श्रीमतीको मन मानेन। उनीहरूले गणेशलाई १२ वर्ष अगाडि उपचार गरेको भारत चण्डीगढकै पिजीआई अस्पतालमै लगे, त्यो बेलामा गणेशको अवस्था अचेत थियो। ‘सास रहुन्जेल आस लाग्ने’ भने झै गणेशलाई बचाउन ०७६ असारमा श्रीमतीले उनलाई भारत लगिन्। जाँच गर्दा टाउकोमा गम्भीर खालको संक्रमण रहेको अस्पतालले बतायो।
पिजिआई मा भर्ना भएर २ महिना र चिकित्सकको निगरानीमा रहनको लागि १० महिना छोरी र श्रीमतीको साथमा गणेशले भारतमा बस्नुप¥यो। ०७६ फागुनमा १ महिनामा पुनः अस्पताल जाने गरी नेपाल फर्किए, तर कोरोनाको महामारीका कारण नेपाल आएपछि न त सवारी चले न त उपचारको लागि पैसा नै छ। चिकित्सकले बोलाएको समय पनि ३ महिना बढी भइसकेको छ।
अहिले मस्तिष्कको अवस्था के छ? भन्ने जाँच हुन पाएको छैन। अहिले सामान्य बोलचाल गर्ने भए पनि उनी राम्रोसँग बोल्न सक्दैनन्, शरीर फुलेको छ। पिसाब थैलीमा पनि समस्या देखिएका कारण शल्यक्रिया गर्नुपर्ने भएको छ। मस्तिष्कको उपचारलाई समेत खर्च नभएका उनमा पिसाब थैलीको उपचार त त्यसपछिको कुरा हो।
१२ वर्षदेखि मासिक ३० हजार रूपैयाँ बराबरको औषधि सेवन गर्दै आएका छन्। उनले यो अवधिमा ४३ लाख २० हजार बराबरको औषधि खाएका छन्। एक डोज मात्रै औषधि सेवन गर्न त्रुटि भयो भने उनमा समस्या थप बल्झिन्छ।
अहिले फेरि समस्या देखिएर मणिपालमा रहँदा करिब ४ लाख रूपैयाँ खर्च भएको श्रीमती गीताको भनाइ छ। यस्तै भारतमा उपचार गर्न दोस्रो पटक जाँदा ऋण काढेर १७ लाख खर्च गरेका छन्। सामान्य किराना पसल सञ्चालन गर्दै आएका गणेशको उपचारमा लागेको खर्च सबै ऋणमा रहेको छ। एक वर्षसम्म पसल बन्द गर्नु पर्दा करिब ५ लाख रूपैयाँ बराबरको सामान म्याद सकिएर नष्ट भयो।
छोरालाई मिर्गौला दिएपछि एउटा मिर्गौलाको भरमा बाँचिरहेकी आमा पनि उच्च रक्तचापबाट पीडित छन्। उनलाई नै मासिक ४ हजार बराबरको औषधि नियमित रूपमा खुवाउनुपर्ने बुहारी गीता आफूलाई थिचेको ऋणको बोझले झन तनावमा छिन्।
गणेशको परिवारमा श्रीमती, एक ६ वर्षीया छोरी र ६८ वर्षीया आमा रहेका छन्। बिहान बेलुकाको छाक कसरी टार्ने? भन्ने पीडामा रहेको परिवारले छोरीलाई कापी किताब किन्न समेत समस्या भोगिरहेको छ।
सहयोको लागि
Everest Bank Ac no: 03000501203006
NIC Asia Bank Ac no: 7987707545524001

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: