![](https://www.sarangkotnews.com/wp-content/uploads/2020/08/salt-trading-1024x597.jpg)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
कृषि प्रधान देश नेपालका जनतालाई खेतीको मुख्य समयमा सरकारले युरिया मल उपलव्ध गराउन असफल सावित भएको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडको गोदाम विगत दुई महिना देखि रित्तो रहेको छ । यस्तै साल्ट ट्रेडिङ लिमिटेड पोखराको पनि उहि हालत रहेको छ । सोमवार आएको एक ट्रक युरिया मल कुखुरालाई चारो छरे झै ठिक्क भएको छ ।
यो सिजन कृषकको धानको मुख्य सिजन हो । युरिया मल नपाएर किसान बजार भरी भौतारिएका छन् तर सरकार सिंहदरवार र वालुवाटारको वातानुकुलित आलिशान महलमा वसेर सत्ताको लागि सिगौरी खेलिरहेका छन् ।
साल्ट ट्रेडिङ र कृषि सामग्रीका कर्मचारीहरु लकडाउनका कारण मल नआएको वताउँछन् लकडाउनमा खाद्यन्न, चिनि, खेलौना, सवारी साधन सवै वस्तुहरु नेपाल भित्रिनु र किसानका लागि नभइनहुने मल भने ल्याउन नसक्नुलाई विडम्वना पूर्ण ढंगले हेरिएको छ । सरकारी स्वामित्वको कम्पनीले कृषकलाई अत्यावश्यक पर्ने मल उपलव्ध गराउन नसक्नुले यो सरकार कृषक प्रति कति अनुदार छ भन्ने पुष्टि गराएको छ ।
वजारमा युरिया मलको चरम अभाव भएको फाइदा उठाएर तस्करले काला वजारी गर्ने गतिलो मौका पाएका छन् । २० रुपैयामा किन्न पाउने युरिया मल ५० रुपैयाँ सम्ममा विक्रि गरिरहेको सूचना प्राप्त हुन आएको छ । स्याङ्जाको वालिङबाट प्रहरीले २२ वोरा युरिया मल वरामद गरेको छ । आइतवार स्थानिय दुई व्यापारीबाट मल वरामद गरी आवश्यक छानविन र गुणस्तर परीक्षणका लागि गुणस्तर कार्यालय पठाइएको र रिपोर्ट प्राप्त भए पछि थप अनुसन्धान गरिने स्याङ्जा प्रहरीका सूचना अधिकारी राजेन्द्र अधिकारीले वताए ।
यसै गरी आज मात्र पोखरामा आएको एक ट्रक (४२० तोरा) युरिया मल पोखराका विभिन्न सहकारीहरुमा पठाइएको साल्ट ट्रेडिङ लिमिटेडका सूचना अधिकारी सागर शेरचनले वताए ।पोखरा र आसपासका विभिन्न १४ वटा सहकारीहरुमा पठाइएको अनुदानको मल व्यापारीहरुको पसलमा नपुग्ला भन्न सकिने अवस्था छैन । सरकारले तोकेको मूल्य अनुसार १६ रुपैयाँ २४ पैसामा लगेको युरिया मल २० रुपैयाँ सम्म विक्री गर्नु पर्नेमा २५, देखि २८–३० रुपैयाँ सम्म विक्री हुने गरेको मात्र हैन कतिपय सहकारीको नाममा मल लगेर व्यापारीको पोल्टामा हाल्ने गरेको पनि केहि वर्ष अघि सराङकोटले पत्ता लगाएर भण्डाफोर गरेको थियो । यो अभाव र हाहाकारको वेलामा त्यो प्रवृत्ति नदोहारियला भन्न सकिन्न ।
कृषि सामाग्री कम्पनी लि. र साल्ट ट्रेडिङ लि. ले मल विक्री मात्र गर्ने तर अनुगमन गर्न नसकिने वताएको छ । सरकारले कृषकका नाममा दिएको अनुदानमा कतै चुहावट भएको छ कि ? कालावजारी, गोदाम खोरी पो मोटाएका छन् कि ? भनेर किसान र सचेत नेपाली नागरिक आफै जाग्नु पर्ने भएको छ ।
अनुदानको युरिया मल कुन कुन सहकारीमा पाईन्छ ?
१. जन एकता सहकारी – बगर
२. जनप्रिय सहकारी – बुढिबजार
३. उपभोक्ता सहकारी – नागढुंगा
४. अर्घौ सहकारी –अर्घौ लेखनाथ
५. तालनगरी सहकारी – वेगनास
६. सिलिंगे सहकारी – बुढिबजार
७. पुल्चोक सहकारी – पट्नेरी
८. आधुनिक कृषि सहकारी – खाल्टे मसिना
९. झौरीखेत कृषि सहकारी – मालेपाटन
१०. प्रभुदाम हरियाली सहकारी – आर्वा
११. देउराली वहुउद्देश्यीय सहकारी – इशानेश्वर (लमजुङ)
१२. लेखनाथ सामुदायिक सहकारी – सिशुवा
१३. इन्द्र वराह सहकारी – सातमुहाने
अधिकांस कृषि सहकारी हुन् । कसलाई कति दरमा कति मल वेचेका छन् हिसाव र निसाफको लागि सूचना माग्ने अधिकार हरेक नागरिकलाई सुरक्षित छ निर्धक्क चासो राखेर सूचना माग्नु होला ।
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/07/pokhara-nagarpalika.jpg)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2023/11/Annapurna-Bal-Tatha-Mahila-Aspatal-Final-Ad-copy.jpg)