पोखराको सडकमा ‘कोरोना महोत्सव’ हुँदै, सम्भावित महामारीको जिम्मा कसले लिने ?

यदुनाथ बन्जारा
28 December, 2020 1:28 pm
Advertisements

कोरोना महामारी जारी रहँदा पोखराको सडकमा भने महोत्सव हुने भएको छ । रेष्टुरेन्ट व्यवसायीहरुको संस्था रेवान पोखराले अंग्रेजी नयाँ वर्षलाई लक्षित गरेर विगतका वर्षहरुमा झै यो वर्ष पनि सडक महोत्सव गर्न लागेका हुन् । दशौं हजारको संख्यामा मानव सागर सडकमा ओरालेर आयोजना गरिने उक्त महोत्सव यो महामारीमा आवश्यक थियो, थिएन भन्ने बारेमा दुई थरिका वहस र तर्क वितर्क सुरु भएका छन् ।
आम नागरिकलाई ज्यान बचाउन गाह्रो परिरहेको वेला रेवानलाई महोत्सव गर्ने लहड चलेको छ । १० औं हजार मानिसको भिड हुने सडक महोत्सव आयोजना गर्न अनुमती लिन रेवानले पर्यटन परिषद् देखि गृह मन्त्रालयसम्म लविङ गरेर जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, महानगरपालिका समेतलाई प्रभावित पारेको बुझिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई कोरोना महामारीमा १० औं हजारको भिड गराउने महोत्सव गर्न स्वीकृति दिनुभएको हो भन्ने हाम्रो जिज्ञाशामा उनले भने, माथिबाटै पत्र ल्याएका रहेछन् हामीले गर या नगर केहि भनेका छैनौ । कास्की प्रहरी प्रमुख उपरीक्षक जीवन श्रेष्ठ पनि आयोजक रेवानले माथिबाटै पहल थालेको बताउँछन् । यता स्थानीय सरकार पोखरा महानगरपालिकाले वसुन्धरा पार्कको मञ्च नराख्ने गरी महोत्सव गर्न अनुमती दिएको छ । पोखरा महानगरपालिकाका सूचना अधिकारी भरतराज पौडेलले रेवानलाई केहि सर्त सहित सडकमा महोत्सव गर्न अनुमती दिएको बताए । महोत्सव स्थल रहने पोखरा महानगर वार्ड नं. ६ का वडा अध्यक्ष जगत पहारीले पनि माथिको आदेश अनुसार ३ दिन महोत्सव गर्न सहमती प्रदान गरिएको खुलाए ।
सवैले माथिकै आदेश, माथिकै दवाव माथिकै सेटिङलाई सिरोपर गर्दै पोखरामा जात्रा चलाउन दिने हो भने त्यसबाट पार्ने नकारात्मक असर को जिम्मा कसले लिने भन्ने प्रश्न उव्जिएको छ । रातको समयमा सडकमा हुने दशौं हजाकरो भिडभाडका कारण कोरोना महामारी फैलिन सक्ने प्रचुर सम्भावना रहने चिकित्सक हरुको दावी रहेको छ । सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल पोखरा महानगर वार्ड नंं ६ का संयोजक अनिल थापा आफूले पनि कोरोना कहरमा मेला महोत्सव गर्न उचित नहुने बताउँछन् । उनले भने हामीले वडा अध्यक्षसँग पनि ध्यानाकर्षण गराऔं तर माथिको आदेश भन्दै सडक महोत्सव गर्न अनुमती दिएको बताए ।
सडक महोत्सव पोखराको लेकसाइडमा हुने तर आदेश निर्देश काठमाडौंको सहनुपर्ने विडम्वनाका विषय वनेको छ । केहि रेष्टुरेण्ट व्यापारीहरुको हित र स्वार्थमा १० औं हजार नागरिकलाई कोरोना कुण्डमा होम्ने कार्यबाट उत्पन्न हुने महामारी र त्यसबाट उव्जने हानी नोक्सानीको क्षतिपूर्ति भर्ने जिम्मा कसको ? आदेश गर्ने माथिका मान्छेको कि स्थानिय सरकारको ? यो पनि एकिन गरिनु जरुरी छ ।
हामी सरोकारवाला सवै निकायको ध्यानाकर्षणको लागि खवरदारी मात्र गर्न चाहान्छौं । अझै वेला घर्केको छैन । दशौं हजार मान्छेलाई सडकमा नचाएर राज्यले उल्लेख्य फाइदा लिन सक्दैन वरु उल्टै जनता कोरोनाको जोखिममा फस्छन् र पोखरा महामारीमा फस्न सक्छ त्यसको परिणाम लकडाउन, निषेधज्ञा, क्वारेन्टाइन, आइसोलेसन जाँच, पड्ताल उपचारको जोखिम मोलनु भन्दा यो वर्ष कोरोना पूर्ण नियन्त्रण नभएसम्म सडक महोत्सव मात्र हैन व्यापार मेला महोत्सव सवै रोकौं । स्वस्थ्य रहने, कोरोनालाई परास्त गर्न स्वास्थ्य मापदण्ड पालना गरौं, सामाजिक दुरी, भौतिक दुरी कायम राखेर जीवन यापन गर्न तर्फ सोच्ने हो की ?
सडक महोत्सव आयोजना गर्न दिने हो भने पोखरा र देशभरमा हुने सवै खालका मेला महोत्सव चलाउन अनुमती दिनु पर्छ यसले एउटा नजिर स्थापित गर्न सक्छ । सवैको पहुँच माथि नपुगेपनि रेवानको सडक महोत्सवले नियन्त्रण हुदै गएको कोरोना महामारी फैलाउन वल पुग्ने खालका मेला महोत्सव गर्न बाटो खुल्ने निश्चित छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: