Prabhu Bank Ad

कमाउने भाँडो बनाइदा फेवाताल संकटमा

पदम श्रेष्ठ
5 January, 2021 3:19 pm

प्राकृतिक सुन्दरताका लागि विश्वमै चर्चित पर्यटकीय नगरी पोखराको फेवाताललाई धेरै मानिसले कमाई खाने भाँडोको रुपमा प्रयोग गरिदिदा तालको अस्तित्व दिनप्रतिदिन संकटमा पर्दै गएको छ।
पोखरा महानगरपालिकाको बैदाम क्षेत्र र ताल किनारा वरिपरि खुलेका हजारौं होटल, रेष्टुरेण्ट, प्याराग्लाईडिङ, ढुंगा व्यवसायी लगायत अनेकौं व्यवसायहरुको मुख्य आम्दानीको भर भनेको नै फेवातालको सौन्दर्य हो। माछापुच्छे मुस्कुराउने फेवाताल हेर्न आउने पर्यटकहरुलाई लक्षित गरी हजारौं व्यवसाय संचालन गरिए पनि तालको संरक्षणको लागि व्यवसायी र राज्यका निकाय गम्भिरतापूर्वक लागेको देखिदैन। परिणामतः ताल प्राकृतिक र मानवीय अतिक्रमणमा परेर दिनप्रतिदिन संकटमा पर्दै गएको छ।


हिजो र आजको फेवाताल

  • वि.सं २०१८ सालको नापि अनुसार फेवातालको क्षेत्रफल २२ हजार रोपनी।
  • वि.सं २०६४ को नापिमा १० हजारमा खुम्चियो।
  • २०४६ मा पंचायत ढलेपछि ताल किनाराको ६५ मिटरभित्र छाप्रा बनाउन शुरु। २०६२÷२०६३ को आन्दोलनपछि छाप्रा हटाएर पक्की घर बनाउन थालियो।
  • डा. वावुराम भट्टराई प्रधानमन्त्री हुँदा विश्वप्रकास लामिछानेको संयोजकत्वमा फेवाताल अतिक्रमण बारे छानवीन गर्न उच्चस्तरिय समिति गठन।
  • उक्त समितिले फेवातालको १ हजार ६ सय ९२ रोपनीभन्दा बढी जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममादर्ता भएको ठहर।
  • ९ सय ५० जना व्यक्तिको लालपुर्जा खारेज गर्न सिफारिस।
  • ७ सय जनाको जमिन संरक्षण क्षेत्रभित्र।
  • २०६९ जेठमा गरिएको सिफारिस अझै कार्यान्वयन भएको छैन।
  • फेवातालको बाँध २०३१ सालमा भत्किएर आधापानी वगेपछि २०३३ र २०३४ मा धेरैले तालको जग्गा आफ्नो नाममा दर्ता गरे।
  • २०३७ सालमा बाँध निर्माण।
  • २०३१ सालमा ३३ मिटर गहिरो फेवाताल २०६४ मा पुरिएर १८ मिटर मात्रै।
  • २०७७ सालमा फेवातालको चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समिति गठन।

ताल संरक्षणका लागि अहिलेसम्म जे जति प्रयासहरु गरिएका छन तीमध्ये अधिकांश कागजी योजनाहरुमा सिमित छन। नारा, भाषण, सामाजिक सञ्जालमा चर्चामा आउन गरिएका कार्यक्रमहरुले फेवातालको बास्तविक समस्या समाधान हुन सकेको छैन।
तालको मापदण्ड मिचेर किनारामा भौतिक संरचना ठडाएर बिदेशी डलर झार्न तम्सिनेहरुमा आफुलाई समाजसेवि, सुधारक, नामी व्यवसायीहरु पनि उतिकै छन्।


अतिक्रमित गर्ने होटल र संस्थाहरु
सेदिवगरमा पर्यटन विद् कर्ण शाक्यको पार्कभिलेज वाटर फ्रन्ट रिसोर्ट प्रालि, रत्नमन्दिर, हिमानीगृह, फिस्टेल रिसोर्ट, चिकित्सक जगदिशलाल बैद्यको दुई तले भवन, ड्यामसाइडको तारागाउँ होटल, पोखरा महानगरपालिकाको गेष्ट हाउस, पर्यटन वोर्ड कार्यालय, नेपाल प्रहरीको ब्यारेक, रत्नअगस्त लेक रिसोर्ट, नरपिस होटल, दुनाटपरी, भ्युपोइन्ट रेष्टुरेण्ट लगायत २ सय वढि भौतिक संरचनाहरु बनाएको पोखरा महानगर पालिकाको कार्यालयले सूचि तयार गरेको छ।


अहिले फेरि कोभिड–१९ को बड्दो संक्रमणले प्राकृतिक सम्पदाको संरक्षण गर्ने दायित्व बोकेका राज्यका निकायहरु सुस्ताएको मौका छोपि पर्यटकीय नगरी पोखराको फेवातालमा मानवीय अतिक्रमण गर्ने भूमाफियाहरु सक्रिय भएका छन्।
रामसार क्षेत्रमा सूचिकृत फेवातालमा खुलेआम धमाधम भौतिक संरचना निर्माण भइरहँदा पनि राज्यले आँखामा पट्टी बाँधेर बसिदिदा ताल दिनप्रतिदिन संकटमा पर्दै गएको छ। तालको किनारा नै पुरेर धमाधम भौतिक संरचना बनाउनेहरु यतिखेर निकै सक्रिय भएका छन्। फेवातालको पश्चिमी क्षेत्र पामे, खपौदीमा ताल नै पुरेर रेष्टुरेण्ट, होटल, गार्डेन बनाई रहँदा पनि सरोकारवालाहरुले रोक्ने तर्फ कुनै चासो दिएका छैनन। फेवातालको संरक्षणका लागि किनारा देखि ६५ मिटर क्षेत्रफल भित्र कुनै भौतिक संरचना बनाउन नपाइने नियम बनाईए पनि अहिले ताल नै पुरेर होटल र रेष्टुरेण्ट निर्माण गरिएको छ। उसो त ताललाई कुरुप पार्ने र जग्गा हडप्नेहरुमा नाम चलेका दर्जनौ पर्यटन व्यवसायी, राज्यका निकाय र सर्वसाधरणहरु अगाडि छन्। तालको मापदण्ड मिच्नेहरुमा पर्यटनविद् कर्ण शाक्यको पार्क भिलेज वाटर फ्रन्ट रिसोर्ट प्रालि, रत्नमन्दिर, हिमानीगृह, फिस्टेल लज, पोखरा महानगरको गेष्ट हाउस, तारा गाउँ रिसोर्ट, पर्यटन वोर्डको कार्यालय, नेपाल प्रहरीको गुल्म, चिकित्सक जगदिश लाल बैद्यको दुई तले भवन, अगस्त लेक रिर्सोट, नरपिस होटल, दुनाटपरी, भ्युपोइन्ट रेष्टुरेन्ट लगायतले मापदण्ड मिचेका छन्। उनीहरुले मापदण्ड मिच्दै होटल र भौतिक संरचना बनाएर, ढल, नाली र फोहोर मिसाएर तालको अस्तित्व माथि धावा वोलेका छन्। राज्यका निकाय नीरिह भईदिदा फेवातालमाथि मनपरि मौलाएको प्राकृतिक सम्पदा संरक्षण अभियन्ता रामवहादुर पौडेलले वताउँछन्।
पोखरा उपत्यका नगर विकास समितिका तत्कालिन अध्यक्ष विश्वप्रकास लामिछानेको संयोजकत्वमा गठित ताल अतिक्रमण छानविन समितिले फेवातालको १ हजार ६ सय ९२ रोपनी भन्दा बढी जग्गा व्यक्तिले हडपेको ठहर गर्दै ९ सय ५० जनाको लालपुर्जा खारेज गर्न सिफारिस गरेको थियो। ताल संरक्षणको मुख्य जिम्मेवारी लिनुपर्ने पोखरा महानगरपालिकाले २ सय भन्दा बढिले तालको मापदण्ड मिचेर भौतिक संरचना निर्माण गरेको सूचि गरेको छ। मानवीय र प्राकृतिक अतिक्रमणले गर्दा विसं २०१८ सालको नापिमा २२ हजार रोपनीमा फैलिएको ताल २०६४ मा नाप्दा १० हजारमा खुम्चिएको छ। ताल संरक्षणको मुख्य जिम्मेवारी लिएको पोखरा महानगरपालिका कार्यालयका जिम्मेवार पदाधिकारीलाई ताल अतिक्रमण बारे जिज्ञासा राख्दा यसो भन्छन।
माछापुच्छे« मुस्कुराउने फेवातालको सौन्दर्यको चर्चा स्वदेशमा मात्रै होईन, विदेशमा पनि उतिकै छ। फेवाको मोहोनी रुपले लठ्ठिएर देश, विदेशवाट लाखौं पर्यटक आउने भएकोले पोखरामा पर्यटन व्यवसायनि कै फस्टाएको छ। हजारौं होटल, रेष्टुरेण्ट, प्याराग्लाईडि·, अल्ट्रालाईट, डुंगा व्यवसाय लगायतका पर्यटनको क्षेत्रमा खरवको लगानीभएको छ। लाखौंले काम पाएका छन भने दाम कमाउनेहरु पनि उतिकै छन। पोखरालाई अन्तराष्ट्रिय क्षेत्रमा चम्काउने फेवातालको अवस्थाभने निकै दयनीय भएको पर्यटन व्यवसायीहरुको भनाई छ।
ताल संरक्षणका नाममा दर्जनौ संघसंस्थाहरु जन्मिएका छन भने करोडौंको बजेट खर्च हुँदै आएको छ। यसको कुनै लेखाजोखा छैन। अर्कोतिर गठन गरिएका छानवीन समितिले दिएका प्रतिवेदन, अदालतका आदेशको पालना गर्ने तर्फ राज्यका निकायले चासो नदिदा फेवाताल दिनप्रतिदिन संकटमा पर्दै गएको छ। नारा, भाषण र कागजमा मात्र अल्झिने व्यवहारमा नउर्ताने हो भने राष्ट्रको सम्पदा फेवातालको अस्तित्वसँगै जनताको खरवौंका लगानी पनि समाप्त हुनेछ।

चोरेको पैसाले अवैद्य संरचना बनाए : मेयर जिसी

फेवाताल संरक्षणको मुख्य जिम्मेवारी लिएको पोखरा महानगरपालिकाका मेयर मानवहादुर जिसीले फेवाताल किनारामा अबैद्य संरचना बनाउनेहरुले चोरेर ल्याएको पैसा खर्च गरेका आरोप लगाएका छन्।
मेयर जिसीले ताल अतिक्रमित गरेर बनाईएका संरचना चोरेर ल्याएको पैसा खर्च गरेर बनाईएका बताउँदै त्यस्ता अबैद्य संरचनाहरु दुई महिनाभित्रै भत्काई छाड्ने घोषणा गरेका छन्। ‘मान्छेले चोरेर ल्याएका पैसा खर्च गरिरहेका छन,’ नगर प्रमुख जिसीले मेहनत गरेर कमाएको रकमको सबैलाई माया लाग्ने भएकोले कसैले गलत ठाउँमा बेकारमा खर्च नगर्ने तर्क दिदै भने ‘कहाँबाट कमाएर ल्याएको पैसा हो ? थाहा छैन। अहिले तालको सिंमाङ्कन भइरहेको छ। नापजाँच सकिएपछि सबै भत्काईनेछ।’
मेयर जिसीले महानगरपालिकाले जति भत्काएपनि रातारात ताल अतिक्रमित गर्नेहरु सक्रिय भएका बताउँदै अब सामान मात्रै जफत गरेर नहुने भएकोले कठोर रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन्। उनले ताल अतिक्रमित गर्नेहरुलाई पटक पटक कारवाही गरेको दावी गर्दै नापिले तालको क्षेत्रफल निकालेपछि दुई महिनाभित्र अतिक्रमित सबै संरचनाहरु भत्काउने बताए।

 

प्रतिक्रिया दिनुहोस्: