पारदर्शिताको ढोल पिट्ने हिमालय आँखा अस्पतालमा छैनन् सूचना अधिकारी

सराङकोट न्यूज
10 March, 2021 4:58 pm
Advertisements

हिमालय आँखा अस्पताल पोखराको नेतृत्व फेरिएको छ । मेडिकल डाइरेक्टर डा.ईन्द्रमान महर्जनले पदबाट राजीनामा दिएपछि डा. एलिया श्रेष्ठलाई का.मु.एम.डि.तोकिएको छ ।

हिमालय आँखा अस्पताल विभिन्न विवादमा तानिएको बेलामा एम.डि परिवर्तन हुनुलाई सामान्य रुपमा लिइएको छैन । लेखा अधिकृत वामदेव सुवेदी आफ्नै कर्मचारीको उजुरीमा यौन काण्डमा फसेर जेलको चिसो सिडीमा हावा खाइरहेका छन् । उनै लेखा अधिकृतले विरामीको पैसा, क्याम्पको सहयोग प्राप्त रकम आफ्नै खातामा राखेर अपचलन गरेको बारे अस्पतालकै कर्मचारी यूनियनले छानविनको माग ग¥यो छानविनले पनि कैफियत फेला पारेर असुल उपर गराउन लेखेको बुझिएको छ । यस्तै शनिवारिय क्लिनिकमा प्रति टिकट ४ सय रुपैया लिएर एक सयको मात्र विल (टिकट) सेवाग्राहीलाई दिएको र बाँकी ३ सय रकम कहाँ गयो, कसले अपचलन ग¥यो भन्ने बारेमा सञ्चार माध्यम मार्फत खुलासा भएपछि अख्तियारले उक्त प्रकरण छानविनमा चासो देखाएको छ । चश्मा घरबाट भाडा रकम भन्दै मोटो रकम छुट्याएर आम्दानी लुकाउने प्रपञ्च गरेको बारेमा कर्मचारी यूनियनले प्रश्न उठाएको छ । आफ्नै घरको भाडा कहाँ–कसलाई किन छुट्याएको भन्ने बारेमा भुसको आगो जस्तै विषय विवादित बनेको छ ।

यी र यस्ता विवादका बीच एम.डि.डा. ईन्द्रमान महर्जन राजीनामा दिएर बाहिरिएका छन् भने डा.एलिया श्रेष्ठलाई कामू जिम्मेवारी दिइएको छ । आन्तरिक समस्या र जारी विवादका बीच तपाई आँखा अस्पताललाई कसरी सञ्चालन गर्नुहुन्छ भन्ने हाम्रो जिज्ञासामा पहिलो कुरा पारदर्शिता, दोश्रो निस्पक्षता र तेश्रो जवाफदेहिताको आधारलाई केन्द्र मानेर आफू अघि बढ्ने डा.एलिया बताउँछिन् । उनको प्रतिवद्धता सफल हुन्छ या हुन्न त्यो भने केही समय पर्खनु पर्ने हुन्छ ।

Advertisements

सूचना अधिकारी नै छैनन्

नेपालमा सूचनाको हक सम्बन्धी ऐन २०६४ जारी भई कार्यान्वयनमा आएका १३ वर्ष पूरा भइसक्दा पनि कतिपय सार्वजनिक निकायहरु उक्त ऐन कार्यान्वयन गर्न आनाकानी गर्दै आएका छन् । सूचनाको हक सम्बन्धी ऐन कार्यान्वयन गर्दा आफूले गरेका अनियमितता बाहिरिने डरले यो ऐन कार्यान्वयन गर्न आलटाल गर्ने गरेको पाइन्छ ।

हिमालय आँखा अस्पताल पोखरा सार्वजनिक निकाय भएर पनि उसले आज सम्म सूचना अधिकारी तोकेर नियमानुसार राख्नुपर्ने सूचना अधिकारीको सूचना पाटी राखेको छैन । अस्पताल प्रशासनसँग पटक पटक सूचना अधिकारी राख्न अनुरोध गर्दा मुखले हुन्छ भन्ने तर काम भने गरेको छैनन् । सूचना अधिकारी को हुन भन्ने पहिचान नहुँदा सेवाग्राहीलाई हस्पिटलका सेवा प्रवाहबारे जानकारी लगायतका विभिन्न सूचना र जानकारी पाउन कठिन परेको छ । अस्पतालको सेवा बारे जानकारी लिनेदिने फोकल पर्सन नतोकिएको बारे नव नियुक्त कामु एम.डि. एलिया श्रेष्ठले सूचनाको हक सम्बन्धी ऐन कार्यान्वयन र सो बमोजिम सूचना अधिकारी तोक्नुपर्ने बारे अनविज्ञता प्रकट गरिन्।

सूचनाको हक पारदर्शिता र सुशासनको लागि एक विशेष अंग हो । का.मु.एम.डि.डा. एलिया श्रेष्ठले पनि पारदर्शितालाई आफ्नो प्राथमिकता बताएकी छिन् तर सूचना अधिकारी नै तोकिएको छैन । यसले पनि प्रष्ट हुन्छ बोली र व्यवहारको तारतम्य मिलेको छैन। अझ गज्जबको कुरा के छ भने हिमालय आँखा अस्पताल सञ्चालक समिति अध्यक्ष वरिष्ठ अधिवक्ता कृष्ण बहादुर गुरुङ रहेका छन् भने सदस्यमा अधिवक्ता सुरेन्द्र थापा मगर रहेका छन् ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: