सरकारले नै बढाइरहेछ कोरोना संक्रमण

सराङकोट न्यूज
24 August, 2021 10:11 am
Advertisements

कोरोना संक्रमण हुनेको दर दिन प्रतिदिन बढ्दै गइरहेको छ । सरकारले संक्रमण बढ्नुको खास कारण के हो भन्ने बारेमा अध्ययन कति पनि गरेको छैन । जबसम्म कोरोना संक्रमणको दर बढ्नुको खास कारण पहिल्याएर समस्या समाधानको पहल हुँदैन तबसम्म कोरोना संक्रमण घट्ने छाँटकाँटा देखिदैन ।

के कस्ता कारणले कोरोना बढे ?

खोप स्थलको भिड

कोरोना विरुद्धको खोप लगाउने केन्द्रहरुले संक्रमण स्थल बन्न पुगेका छन् । एउटा खोप केन्द्रमा ५ सय खोप पठाइन्छ तर दुई हजार भन्दा बढीको खचाखच भिड त्यहाँ जम्मा भएका हुन्छन् । खोप लगाइने लक्षित समूह भन्दा तेब्बर चौवर संख्यामा खोप आकांक्षीहरुको भिड लाग्दा सरकारले त्यसपछि व्वस्थापन गर्न सकेको छैन ।
खोप केन्द्रको संख्या न्यून तोकिनु र उक्त केन्द्रमा धेरैवटा समूहलाई एउटै केन्द्रमा खोप लगाउने केन्द्र तोक्नु मुख्य समस्याको जड बनेको छ । समूह तोकिएका भन्दा पनि बढी विभिन्न कागज र परिचय पत्र बनाएर अनावश्यक व्यक्तिहरु खोप केन्द्रमा जम्मा हुँदा पनि त्यसको जाँच, छानविन र सुरक्षा प्रबन्ध मिलाउन सरकारी निकाय असक्षम बनेको छ । खोप केन्द्रहरुमा सुरक्षाकर्मीहरु खटाइए पनि ती सुरक्षाकर्मीहरु स्वयम आफ्ना मान्छेलाई खोप केन्द्रमा भित्र छिराउन व्यस्त रहेको देखिन्छ । सुरक्षा कर्मीहरुकै कारणबाट खोप केन्द्रमा तनाव सिर्जना भइरहेको पाउनु दुःखद बनेको छ ।

जुलुस, धर्ना, आन्दोलन

२५ जना भन्दा बढी जमघट नहुन सरकारले जारी गरेको सूचना राजनीतिक दलका संघ, संगठनहरुले ठाडै उल्लंघन गर्दै आएका छन् । प्रतिपक्षी दल आवद्ध भातृ संस्थाहरुले सरकारको विरोध गर्ने वहानामा ¥याली, जुलुस, आन्दोलन गर्दै भिडभाडलाई प्रश्रय दिए । महेश बस्नेतको अगुवाइमा भएको सयौंको जुलुस होस् या धर्नाका कार्यक्रमले कोरोना संक्रमणको पारो ह्वात्तै बढाएको छ ।
दिनभरी जुलुस गर्ने एउटा व्यक्तिले कोरोना बोकेर घरमा जाने र निर्दोष व्यक्तिहरुमा कोरोना सार्ने कार्य अझै पनि भइरहेको छ। प्रहरी मुढभेढमा होमिन बाध्य हुने र प्रहरी संगठन समेत कोरोना संक्रमणको सिकार भइरहेको अवस्था छ। दलका नेताहरु जनतालाई जबर्जस्ती आन्दोलनमा होभाएर सर्वसाधारणको ज्यान लिन केन्द्रित छन् । यो बेला भनेको भिडभाडको आन्दोलन गर्ने हैन, आफ्नो माग, असहमती भएमा त्यसको प्राप्तीका लागि समय सापेक्ष कदम चाल्ने बुद्धिमताको खडेरी परेका कारण कोरोना संक्रमणको वृद्धि भएको बुझ्न गाह्रो पर्दैन ।

सार्वजनिक सवारीमा जोर विजोर

कोरोना संक्रमणको पारो चढ्दै गएको भन्दै सरकारले सवारी साधनमा जोर विजोर लागू गरेको छ । निजी नम्बरका सवारी साधनहरुमा जोर विजोर लगाए पनि सार्वजनिक सवारी साधनहरुमा जोर विजोर प्रणाली लगाउँदा त्यसबाट कोरोना संक्रमण बढी हुने अवस्था आएको छ । आधा मात्र सवारी चल्ने भएपछि बसमा यात्रुको चाप स्वतः बढी देखिएको छ । यात्रुको संख्या यथावत रहँदा सवारी आधा कटौती गरिनुले यात्रुहरु बसमा खचाखच भरिभराउ हुन बाध्य भएका छन् । सिट भन्दा २०–२५ जना बढी उभिएर यात्रा गरिरहेको दृश्य सामान्य भएको छ ।
जोर विजोर नम्बर लागू गर्दा बस धनी मात्र खुसी छन् अरु कोही छैनन् । दुई दिनमा कमाउने पैसा एकैदिन कमाउन सक्ने भएपछि बस धनी र चालक दुवै खुसी छन् । यात्रु खुसी छैनन् । बाध्यताको शिकार भएका छन् सर्वसाधारण यात्रुहरु। अतः प्रशासनले सार्वजनिक सवारीमा जोर विजोर प्रणाली हटाएर यात्रुहरुलाई खचाखच यात्रा गर्ने बाध्यताबाट मुक्ति दिनुपर्छ ।

पहुचवाला स्वतन्त्र छन्

सरकारले होटल, रेष्टुरेण्ट व्यवसायीलाई नखोल्ने व्यवसायको सूचीमा राखेको छ तर यो नियम साना तिना व्यक्तिले चलाएको होटल रेष्टुरेण्टलाई मात्र लागू गरिएको छ ।
प्रहरीसँग पहुँच भएका ठूला राजनीतिक दलसँग नाता साइनो जोडिएका व्यक्तिहरुले चलाएको होटल रेष्टुरेण्टहरु कहिल्यै बन्द भएनन् । राजधानी काठमाडौंका कतिपय होटलहरु, रेष्टुरेण्टहरुमा दिनानु दिन पार्टी हुन्थे, बैठक बस्थे, रमाउने गर्थे, गर्दै आएका छन् । तर ती होटलमा निषेधाज्ञाको प्रभाव कहिल्यै परेन। यी कारण नै हो कोरोना संक्रमण बढेको सरकारले तत्काल सुक्ष्म समिक्षा गरेर कोरोना नियन्त्रणको नीति तर्जुमा गर्नुपर्छ । तब मात्र सकारात्मक नतिजा हासिल गर्न सकिन्छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: