मातृशिशु अस्पताल दुर्दशाको नमूना, अस्पतालमा स्रोत साधन छ डाक्टर छैन, विरामी छन् औषधी छैन

यदुनाथ बन्जारा
11 January, 2022 2:04 pm
Advertisements

पोखरा : सरकारी तहबाट सञ्चालन हुँदै आएका स्वास्थ्य संस्थाहरु मध्ये कतिपय त नाम मात्रका छन्। त्यस मध्यकै गण्डकी प्रदेश मातहत रहेको मातृशिशु मितेरी अस्पताल पोखरा १६, बाटुलेचौर अस्तव्यस्तताको नमूना जस्तै बन्न पुगेको छ । अस्पतालको नाम मातृशिशु अस्पताल भएपनि उक्त अस्पतालमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ र बाल रोग विशेषज्ञ दुवै त्यहाँ उपलब्ध छैनन् । सरकारले त्यहाँ अस्पतालको नाम अनुसारको काम देखाउन स्त्री तथा प्रसुती रोग र बालरोग विशेषज्ञको स्थायी प्रबन्ध मिलाउन जरुरी थियो तर दरबन्दी र जनशक्ति व्यवस्थापनमा प्रदेश सरकार असक्षम सिद्ध भएको छ ।
कर्मकाण्डी शैलीमा चलेको देखिन्छ मातृशिशु मितेरी अस्पताल। स्थायी दरबन्दी ४ जना मेडिकल अधिकृत रहेको उक्त अस्पतालमा १ जना डा.पुस्कर पौडेल मात्र कार्यरत छन उनी नि मेसु रहेका छन् । बाँकी ३ जना डाक्टर मध्ये डा.अस्मिता पाठक अध्ययन बिदामा छिन्, अर्का डा.अनुप पण्डित सरुवा लिएर काठमाडौं गए भने अर्का डा.सुजु जमरकट्टेल विदा स्वीकृत नगराई विदेश तर्फ भासिएकी छिन् । साढे दुई वर्ष बढी भइसक्दा पनि उक्त दरबन्दीमा अर्को चिकित्सक पठाउन प्रदेश सरकार असक्षम रहेको छ ।
यस्तै मातृशिशु मितेरी अस्पतालमा कार्यरत रहेका बाल रोग विशेषज्ञ डा.रामचन्द्र बास्तोला र स्त्रीरोग विशेषज्ञ डा.प्रेमराज पंगेनीलाई सरुवा गराई अन्यत्र पठाइयो तर उक्त रिक्त स्थानमा पदपूर्ति गर्न प्रदेश सरकारले कुनै ठोस पहल आजसम्म गरेको पाइएको छैन। समितिको तर्फबाट राखिएको बाल रोग विशेषज्ञ डा.पवित्रा सापकोटाको भरमा अस्पताल जेनतेन चलेको छ । रिक्त रहेको ठाउँमा भ्याकेन्सी खुलाएर डाक्टर आपूर्ति गर्न नसक्ने निरिह सरकारबाट आम नागरिकले सास्ती कहिले सम्म बेहोर्ने भन्ने कुरा अझै अनिश्चित छ ।
प्रदेश सरकारको निरिहता यति सम्म छ कि सूचना निकालेर पद खाली गराई भर्ना गर्नुपर्ने डाक्टर सुजु जमरकट्टेलको ठाउँ दुई वर्ष सम्म पनि पदपूर्ति गर्न नसकेको अवस्था कायमै छ । भएका दरबन्दीका चिकित्सक पनि मातृशिशुमा दरबन्दी राखेर पढ्न गएका छन् । व्यक्तिगत क्षमता विकास गर्न लागिरहेका चिकित्सकहरुले आम नागरिकलाई कहिले सम्म वेवास्ता गर्ने ? पढ्न जाने, बाहिरी देश जाने चिकित्सकहरुका स्थानमा स्वास्थ्य मन्त्रालयका करारका चिकित्सक पठाउन पनि सक्छ तर गण्डकी प्रदेश सरकार मातहत रहेको मातृशिशु अस्पताल प्राथमिकतामा पर्न सकेको देखिदैन ।

विमाको औषधी लिन हैरान छन् सेवाग्राही

स्वास्थ्य विमा गरेका सेवाग्राहीहरुलाई दिइने औषधी अहिले बढीमा १५ दिनको मात्र दिइने गरेको छ । मातृशिशु अस्पतालमा सेवा लिन आउने विरामीहरु नियमित खाने औषधीका लागि १५–१५ दिनको तारिख खेप्न बाध्य पारिएका छन्। पोखराकै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा नियमित औषधी खाने विरामीलाई दुई देखि तीन महिना सम्मको दबाइ दिने गरिएको अस्पतालका सूचना अधिकारी नारायण प्रसाद आचार्यले बताइरहदा यही पोखरा–१६ को मातृशिशु अस्पतालमा १५ दिन भन्दा बढी समयको औषधी दिन नसकिएको नि.मेसु पुस्कर पौडेलले स्वीकार गरे ।


स्वास्थ्य विमा बोर्डले विमा बापत दिइएको औषधीको सोध भर्ना रकम स्वास्थ्य विमा बोर्डबाट पाउन नसकेका कारण औषधी पर्याप्त खरिद गर्न नसकिएको मेसु पौडेलले बताए । सप्लायर्सलाई अघिल्लो आ.व.कै वक्यौता दिन नसकेका कारण समस्यामा छौं उनले भने । अघिल्लो आ.व.०७७/०७८ कै करिब २० लाख रुपैया स्वास्थ्य विमा बोर्डबाट आउन बाँकी छ, यो आ.व.को छ महिनाको त छदैछ उनले भने ।
यस विषयमा स्वास्थ्य विमा बोर्डका निर्देशक दामोदर बस्यौलाले विमा बोर्डमा पैसा सकिएको र अर्थले निकासा दिन ढिला गरेकाले कतिपय अस्पतालहरुमा रकम पठाउन ढिलाई भएको स्वीकार गरे । औषधी किन्न नै समस्या पारेकोबारे हाम्रो जिज्ञासामा उनले भने माघको पहिलो हप्ता सम्म निकासा दिइ सक्ने छौं । देश भरमा विमामा आवद्ध ४३० अस्पताल भएकोले अभिलेख प्रशोधन गर्न ढिलाई भएको बताउँदै निर्देशक बस्यौलाले अब नियमित पैसा पठाउने बताए ।

आइ.सि.यू. उपकरण सड्न सक्छ

मातृशिशु अस्पतालका आइ.सि.यु. का लागि अत्याधुनिक उपकरणहरु किनिएका छन् । आई.सि.यु. मनिटर देखि बेड र भेण्टिलेटर समेत खरिद भएको पनि एक वर्ष भइसकेको छ । तत्कालीन स्वास्थ्य मन्त्री नरदेवी पुनले आइ.सि.यु. र भेण्टिलेटर कक्षको उद्घाटन गरेकी थिइन। मन्त्रीले तामझामले गरेको उद्घाटन कक्ष भेण्टिलेटर र बेडहरु एउटा हलमा डम्पिङ गरेर राखिएको छ । आइ.सि.यु. बेडहरु कर्मचारी, कार्यालय सहयोगी सुत्ने बेड बनेका छन् ।
विषय विज्ञ फिजिसियन डाक्टर र एनेस्थेसियलिस्ट चिकित्सकको व्यवस्थापन गर्न नसक्दा कबाडी झै थन्किएर बसेका छन् करोड बढी मूल्यका स्वास्थ्य उपकरणहरु । सरकारले जनशक्ति नै तयार नगराई किन किन्यो स्वास्थ्य उपकरण ? वर्ष दिन बितिसक्दा पनि प्रयोगमा नआएका ती सामानहरु कबाडी बनेर सडेर बिग्रनु अगावै प्रयोगको वातावरण बनाउन पर्ने होइन ? जनताको कर राजस्व बाट उठेको पैसाले किनेका महंगा स्वास्थ्य उपकरण कसका लागि, किन गरियो खरिद यो यक्ष प्रश्नको जवाफ आवश्यक परेको छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: