याम्दीमा स्वीकृति नलिई डाँडा कटानमा दोषी को ? प्राविधिक, राजस्व प्रशासन कि जनप्रतिनिधि

यदुनाथ बन्जारा
25 January, 2022 11:51 am
Advertisements

पोखरा : पोखरा महानगरपालिका वडा न.ंं १ र २५ को सिमामा रहेको याम्दी पुलको मुखैमा सम्भु शाहले डाँडा कटान गरिरहेको खबर आयो। याम्दी खोला नै थुनिने गरी ढुंगा माटो खोलामा थुप्रिएको छ । डाँडा कटान सँगै खोलाको मापदण्ड नै मिचेर पक्का चेक ड्याम निर्माण गरिएको छ । राजमार्गको पुलको माथिल्लो भागमा लगाइएको चेक ड्याम पर्खाल जग्गा धनी सम्भु शाहले ठेकेदार राम कुमार कुशवाह मार्फत् गराउँदै आएका छन् ।
पोखरा महानगरपालिका २५ नम्वर वडा समेत हेर्ने इञ्जिनियर ज्योती थापाका अनुसार याम्दी खोलाको मापदण्ड किनारबाट ३० मिटर हो तर खोलाको किनारै छेउबाट पक्कि पर्खाल लगाइएको छ । जग्गाधनी सम्भु शाहले आफ्नो जग्गामा जाने बाटो निर्माणका लागि खोलाको मापदण्ड नै मिचेर व्यक्तिगत बाटो निर्माण कार्य अगाडि बढाएका छन् डाँडा कटान कार्य गर्दा झरेको ढुंगा माटोले याम्दी खोलाको वहाव थुनिने अवस्था छ ।
याम्दी पारीको भिरालो जग्गा जुन सरकारी वनक्षेत्र सँग जोडिएको छ । उक्त भिरालो डाँडा कटान गरेर रेष्टुरेन्ट बनाउने योजना सहित डाँडो खार्न लागिएको छ । तल याम्दी खोला माथि सार्वजनिक वन रहेको वीचको भिरालो जग्गा खार्दा महानगरपालिकाबाट कुनै अनुमति पत्र लिइएको छैन, वातावरणीय प्रभाव मूल्यांकनमा विचार पु¥याइएको छैन तर स्काभेटर लगाएर विगत १५ दिन देखि उक्त ठाउँमा मेसिन चलेको चलै छ ।

दोषी को ?

जग्गा धनी सम्भु शाहले आफ्नो श्रीमती सुस्मा कुमारी शाह को नाममा रहेको कि.नं. १६९४ को करिव ११ रोपनी जग्गा मध्य ६ रोपनी जग्गाको सतह मिलाउने र रेष्टुरेन्ट चलाउन भन्दै डोजर चलाउने माग गर्दै २५ नम्वर वडा कार्यालय हेमजामा निवेदन दिएका थिए । वडा नं. २५ का अध्यक्ष शोभाखर तिम्सिनाले कटान अनुमति दिने आसयले महानगरपालिकाको वातावरण शाखालाई सम्वोधन गरी कभर लेटर पठाएको सराङकोटलाई प्राप्त पत्रबाट खुल्न आएको छ । वडा कार्यालयमा प्राविधिक इञ्जिनियर समेत कार्यरत भएपनि माग भएको जग्गा कटान गर्न मिल्ने नमिल्ने वारेमा इञ्जिनियर मौन रहेको पाइन्छ । वडामा कार्यरत इञ्जिनियरले वडाको संवेदनशिल विषयमा किन बोल्न सकेनन् खोजिएको विषय नै बनेको छ ।
(क) वडा नम्वर २५ कार्यालयले मिति २०७८ मंसिर २१ गते मुचुल्का गरी पठाएको छ । वडा सदस्य जित बहादुर कार्की, वडाका कर्मचारी ना.सु. इश्वरी प्रसाद वास्तोला सहितले मुचुल्कामा सहि गरेका छन् तर मुचुल्कामा सहि गर्ने सिउडीबार सामुदायिक वनका अध्यष गंगा पराजुली थापा, शिव बहादुर थापा, रश्मी पराजुली, सागर कुँवर समेतका व्यक्तिहरुले समेत भौगोलिक गंभिर्यता वुझेको देखिदैन । वन जंगल तलको भाग कटान गर्दा भिरालो जग्गाको वन र तल्लो भाग याम्दी खोलालाई पार्ने प्रभावको वारेमा समेत नसोचीकन साक्षी वसेर सहि गरेका छन् ।

ख)महानगरका प्राविधिकले डाँडा कटान गर्ने क्षेत्रको कुनै स्थलगत अवलोकन गरेको छैनन् । वडाका इञ्जिनियरले स्थल गत अवलोकन गरेपनि कटान गर्न हुने नहुने वारे मौन वसेको देखिन्छ । स्थलगत नै नहेरी ३ दिनको लागि डोजर लगाउन प्रतिदिन ४८ हजारका दरले १ लाख ४४ हजार राजस्व असुल गर्न योजना महाशाखाले खाली पेपरमा अनुरोध गरेको देखिन्छ । सोही आधारमा राजस्व असुल भएको पाइन्छ ।
(ग) राजस्व तिर्ने व्यक्ति जग्गा धनी सम्भु शाह भन्छन् राजस्व लिए तर अनुमती पत्र दिएनन् । हाकिम सरुवा भई नयाँ हाकिम आएपछि हाकिमले अनुमती दिन मानेनन् । अनुमति दिन नमिल्ने लागेर नै नदिएको हो भने पुरा अध्ययन अवलोकन नगरी राजस्व तिर्न किन सिफारिस गरियो भन्ने कुरामा शंकाको सुविधा लिन सकिन्छ ।
(घ) राजस्व तिर्ने जग्गाधनीले आफूसँग राजस्व लिइसकेकोले आफू वलियो भएको बताए । पत्र दिन आलटाल गरेपनि राजस्व रसिदकै आधारमा डोजर चलाएको शाह बताउँछन् ।
ङ) पत्र नलिइ डाँडा कटान गर्न लागेको १५ दिन भइसक्यो मापदण्ड मिचेर रिटेनिङ वाल लगाएको लगाई छन् तर महानगरका कसैबाट पनि निगरानी छैन, अनुगमन छैन । वडा कार्यालयका कर्मचारी, प्राििधक देखि जनप्रतिनिधि ओहोर दोहोर गर्ने वाटो त्यहि हो । त्यत्रो काम दिन दहाडै भइरहँदा किन गरेनन् सोधपुछ किन खोजिएन अनुमती पत्र कागज ? यसले मिलेमतो भएको आशंका उव्जाएको छ । जव सराङकोट साप्ताहिकलाई गोप्य सूचना आयो अनि हामीले स्थलगत अध्ययन बाट वैधानिकताको आधार खोज्न थाल्यौ तव मात्र महानगरपालिकाका सुरक्षा कर्मचारी, राजस्व महाशाखा, र प्राविधिकको निद् हराम भएको छ दौडधुप सुरु भएको छ ।
त्यति मात्र हैन याम्दी पुलको छेउमै रहेको जौ वारी प्रहरी चौकी , वडा प्रहरी वगर समेत मौन रहेको पाइयो । अवैध वालुवा वोक्न गएका रित्ता ट्रक समात्न पुरुञ्चौर तल ढोडनी घाट पुग्ने कास्की प्रहरीले छेउकै याम्दी पुल मुनिको अवैध डोजर चलेको, खोलाको मापदण्ड मिचेर ताण्डव मच्चाएको थाहा नपाएको घटनालाई विडम्वना मान्न सकिन्छ ।
यता वडा नं. २५ कार्यालयका ना.सु इश्वरी प्रसाद वास्तोलाले मुचुल्कामा जोडवलले सहयोग गरे, हस्ताक्षर गरे तर अनुगमन निगरानी त परै जाओस् हामीले सोध्दा थाहा छैन भन्दै टक्टकिए भने महानगरको वातावरण शाखा प्रमुख निर्मलमानसिंह भण्डारीलाई थाहै छैन रे । योजना महाशाखाका प्राविधिक जगन्नाथ कोइराला २५ नम्वरकै इञ्जिनियरको विश्वासमा आफू नगएको बताउँछन् उता २५ कि इञ्जिनियर ज्योती थापा भन्छिन् –“त्यो काम महानगरकै इञ्जिनियरको हो ।”
एउटा झुटलाई सत्य सावित गर्न सय झुट वोल्नु पर्छ भने जस्तै भएको छ । याम्दीको डाँडा कटान लाई छोप्न माखे साङ्लो जस्तो सरोकारवाला निकाय र व्यक्तिहरु तेलमा पानी तैरिय झै तरक्क भएका छन् । यस विषयमा आधिकारिक कुरा के थियो भन्ने जान्नका लागि योजना महाशाखा प्रमुख खेम नारायण पौडेलसँग सम्पर्क गर्न खोज्दा उनले मोवाइल उठाएनन् । पोखरा महानगरका वेथिति न्यूनिकरण गर्ने अभियानमा सकृय भूमिका निभाइरहेका महानगरका प्रमुख प्रशासकिय अधिकृत वलराम रिज्याललाई भेट्न सकिएन । फोन तथा मोवाइलमा सम्पर्क गर्न खोज्दा फोन उठेन ।
डोजर आतंकका कारण अति नै व्यथिति वढेको छ । शुभ लाभ सँग जोडिएर आउने यस्ता कार्यहरु अत्यन्तै पारदर्शी र प्रकृयागत हुनुपर्छ । पोखरा महानगरका प्रत्येक जसो वहाहरुमा डोजर खेती फस्टाइरहँदा त्यसको अनुगमन छायाँँमा परेको कारण दीर्घकालिन असर पर्ने कुनै पिनि योजना संचालनका लागि गैह्र जिम्मेवार हुने पात्रहरुलाई काुननी कठघरामा उभ्याउन जरुरी देखिन्छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: