मनाङका उम्मेद्वारमाथि आक्रमण गर्ने उपाध्यक्ष फरार, घाईते वडा अध्यक्षको ग्राण्डीमा उपचार हुँदै

सराङकोट न्यूज
16 November, 2022 10:11 am
Advertisements

पोखरा

मत माग्न घरदैलो गर्न नार्पाभूमि गा.पा. नार पुगेका प्रतिनिधि सभाका उम्मेद्वार टेक बहादुर गुरुङ बसिरहेको नार गेस्ट हाउसमा कार्तिक २५ गते राती आक्रमण गर्न गएका नार्पाभूमी गाउँ पालिकाका उपाध्यक्ष झ्याप्ले भन्ने मेङमर फुञ्चोक लामा र सोही गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष फुञ्चोक वाङ्गे लामालाई पक्राउ गर्न मनाङ प्रहरी असफल देखिएको छ ।
कार्तिक २५ गते राती नेपाली कांग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङ वास वसेको नार गेस्ट हाउसमा ढुंगा मुढा, लठ्ठी सहित उपाध्यक्ष फुञ्चो लामाको नेतृत्वमा गएका १५–१६ जनाले आक्रमण गर्दा होटल सञ्चालक समेत रहेका वडा नं. १ का वडा अध्यक्ष फूर्पा ठेले लामा सख्त घाइते भएका थिए । उनको टाउकोमा २२ टांका लगाइएको छ थप उपचारको लागि उनी सहित अर्का एकलाई हेलिकप्टर मार्फत् ग्राण्डी अस्पताल काठमाडौं लगि उपचाररत छन् । अर्का घाइतेलाई सघन उपचार कक्षमा राखिएको छ ।
निर्वाचनलाई शान्तीपूर्ण रुपमा सफल पार्न खटिएका प्रहरी, सशस्त्र प्रहरीले आक्रमणकारी कसैलाई पक्राउ गर्न सकेको छैन । नार र मेतामा प्रहरी चौकी रहेको छ भने नारमै सशस्त्र प्रहरीको एक टोली क्याम्प खडा गरेर बसेको छ तर घटनामा संलग्न कसैलाई पक्राउ गर्न नसक्नु लाई विडम्वना मानिएको छ ।
आक्रमण घटनाको नेतृत्व गर्ने नार्पाभूमी गाउँपालिकाका उपाध्यक्ष मेङमर फुञ्चोक लामा र वडा नं. २ का वडा अध्यक्ष फुञ्चोक वाङगे लामा विगत ४ दिन देखि फरार रहेको मनाङ प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक प्रेम सागर केसीले वताए । जनप्रतिनिधि नै फरार रहँदा समेत पक्राउ गर्न नसक्ने प्रहरीको असक्षमताले आम नागरिकमा सुरक्षा चिन्ता वढाएको छ भने आम निर्वाचन शान्तिपूर्ण हुनेमा आशंका बढेको छ ।
मनाङका नेपाली कांग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङलाई मार्ने नियतले आएको एमाले नेतृत्वको गुण्डा समूह विरुद्ध मनाङ प्रहरीमा किटानी जाहेरी दर्ता भएको छ । ज्यानमार्ने उद्योगमा सकृय रहेकाहरुलाई प्रहरीले कहिले पक्रेला त भन्ने हाम्रो जिज्ञाशामा मनाङ प्रहरी प्रमुख केसी भन्छन् “खोजी कार्य जारी छ, सिडिआर रिपोर्ट आएपछि पक्राउ पर्छन् ।”
मनाङमा अघिल्लो संसदीय निर्वाचनमा एमालेले जितेको थियो । यस पटक कांग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङले जित्ने प्रवल सम्भावना सहित जन लहर देखेपछि एमाले उम्मेद्वारकै निर्देशनमा गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्ष समेतलाई परिचालन गरेको हुन सक्ने नेपाली कांग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङले दावी गरेका छन् ।
राती वास वसेका उम्मेद्वारलाई आक्रमण गर्न आएकाहरुलाई खटाउने दुषित मनोवृत्तिका कारण राजनीतिमा अपराधिकरण मौलाएको वुझ्न सकिन्छ । ठूलो घटनाबाट जोगाउन र चुनावलाई शान्तिपूर्ण बनाउन सरकारले सुरक्षा व्यवस्था प्रभावकारी वनाउन जरुरी छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: