गण्डकी बोर्डिङ उत्तरपुस्तिका झेली प्रकरण : राष्ट्रिय परीक्षा वोर्डको कर्मकाण्डी प्रतिवेदन, मुख्य दोषी किटान गर्न असफल

यदुनाथ बन्जारा
18 July, 2023 1:20 pm
Advertisements

पोखरा

“हात्तीलाई मुसा हो भनेर मुद्धा हाल्यो भने हात्तीलाई हात्ती कायम गराउन दुई वर्ष तारिख बोक्नु पर्छ” भन्ने उक्ति नेपालमा यसै चलेको होइन् । सत्य कुरा के हो भन्ने कुरा छर्लङ्ग हुन्छ दोषी को हो भन्ने कुरा स्पष्ट हुन्छ तर पनि कर्मकाण्ड पुर्याउन छानविन गर्नैपर्छ । छानविनले पनि कर्मकाण्डी निर्णय दिन्छ । आँखै अगाडीका दोषीलाई दोषी भन्न पनि ओठ कमाउनुपर्छ र गोलमटोल निर्णय सुनाउनुपर्छ ।
यस्तै एउटा काण्ड गण्डकी बोर्डिङसँग प्रत्यक्ष सम्बन्धित छ। कुरा थियो, परीक्षार्थीको उत्तर पुस्तिका साटासाट गरी फेललाई पास र पासलाई फेल बनाउने घृणित र निकृष्ठ कार्यको ।

घटना विवरण

कोरोना कहरका कारण २०७८ सालको कक्षा १२ को परीक्षा सम्बन्धीत विद्यालयमै होम सेन्टर तोकिएको थियो । गण्डकी वोर्डिङ स्कुलको परीक्षा केन्द्रमा मिति २०७८ असोज ७ गते गणित विषयको परीक्षा भएको थियो । परीक्षार्थीहरु परीक्षा दिए निरीक्षक (गार्ड)लाई कपि बुझाएर गए ।
परीक्षाफल प्रकाशित भयो । नतिजा हेरेपछि परीक्षार्थी दिपेश ढकाल छाँगाबाट खसे झैं भए गणितमा राम्रो गरेका दिपेशले जम्मा ३६ अंक पाएका थिए भने आफुले सोचेभन्दा धेरै कम आएपछि सूचनाको हक प्रयोग गरि उत्तरपुस्तिका हेर्ने निर्णय गरि राष्ट्रिय परीक्षा बोर्डमा गइ कपि हेर्दा आफ्नो सिम्बोल नम्बर २४००००४६ केरमेट गरि अर्कैको उत्तर पुस्तिकामा लेखिएको पाएका थिए ।
उनको र.नं. उत्तरपुस्तिका नम्बर र सिम्बोल नम्बर समेत ओभर राइट गरि सच्चाइएको फेला परेको थियो ।
कपि साटासाट गरि नतिजा सच्चाउने जस्तो अपराधिक कार्य गरेको थाहा पाएपछि राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षस्तरीय निर्णय अनुसार मिति २०८०/१०/२६ गते राष्ट्रिय परीक्षा वोर्ड पोखराका कार्यालय प्रमुख विष्णु नारायण श्रेष्ठ संयोजक, सोमनाथ सापकोटा र भास्करदत्त पन्त सदस्य रहेको ३ सदस्यीय छानविन समिति बनाई सात दिन भित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइए बमोजिम कार्यदलले प्रतिवेदन बुझाएको थियो ।

के छ प्रतिवेदनमा ?

सिम्बोल नं. २४००००४५ भएका दिपज्वल श्रेष्ठ र २४००००४६ भएका दिपेश ढकाल वीच एक अर्काको गणित विषयको उत्तर पुस्तिकाको नम्बर ओभर राइट गरि सट्टापट्ट गरिएको कार्यदलले ठहर गरेको थियो ।
दिपज्वल श्रेष्ठको सि.न. २४००००४५ को कपिलाई अन्तिमको अंक 5 लाई ओभरराइट गरी 6 बनाइएको अक्षर केरमेट गरि Five लाई Six बनाइएको र.नं. को अन्तिम अंक काटी 7 बनाइएको, उत्तर पुस्तिकाको अन्तिम अंक काटी 9 बनाइएको भेटिएको हामीलाई प्राप्त प्रतिवेदनमा उल्लेख छ । सच्चाइएको कपिमा ५७ नम्बर अंक पाएको थियो ।
यस्तै दिपेश ढकालको सि.नं.२४००००४६ लाई ओभर राइट र केरमेट गरी दिपज्वल श्रेष्ठको उत्तरपुस्तिकामा उल्लेखित नम्बर मिलाउन अन्तिम अंक 6 लाई काटी 5 बनाएको अक्षर Six लाई केरमेट गरि Five बनाइएको र.नं. को अन्तिम अंक काटी 6 र उत्तर पुस्तिकाको अन्तिम अंक ओभर राइट गरि 8 बनाएको उल्लेख छ । सच्चाइएको कपिमा ३६ नम्बर अंक पाएको थियो ।
यहाँ स्पष्ट छ दिपज्वल श्रेष्ठले पाएको ३६ नम्बर दिपेश ढकाललाई र दिपेश ढकालले पाएको ५७ नम्बर दिपज्वल श्रेष्ठलाई दिन परीक्षाको मर्यादा विपरीत निच अपराध कार्य गरेको स्पष्ट खुल्न आएको छ ।

दोषी को ?

होम सेन्टरको फाइदा उठाइ सोही विद्यालयका शिक्षक कर्मचारीले गरेको कार्य को बाट भयो भन्ने विषयमा छानविन कार्यदल ठोस निर्णय दिन असफल भएको पाइएको छ । गण्डकी आवासिय विद्यालय परीक्षा केन्द्रको हल नं. ९ ग मा दुवै विद्यार्थीले परीक्षा दिएका थिए । सिम्बोल नम्वर समेत सँगैको रहेको थियो । उक्त हलको परीक्षा निरीक्षक (गार्ड) इन्द्र उपाध्याय रहेका थिए । छानविन कार्यदलसँग लिखित बयान दिँदा गार्ड इन्द्र उपाध्यायले आफूले कपि संकलन गरी कपि सिल गर्ने व्यक्ति सहायक केन्द्राध्यक्ष सम्म पु¥याउँदासम्म कुनै कैफियत नभएको बताएका छन् । उपाध्यायका अनुसार कपि सिल गर्ने आधिकारिक व्यक्तिबाट कैफियत हुनसक्ने आशंका उव्जिएको छ । त्यस परीक्षाको कपि सिल गर्ने व्यक्ति सहायक केन्द्राध्यक्ष झविन्द्र अधिकारी र केन्द्राध्यक्ष विरेन्द्र खड्का रहेका थिए । छानविन कार्यदलले विद्यार्थीको उत्तर पुस्तिका केरमेट गरी कपि साटी फेललाई पास पासलाई फेल गरी परीक्षा सम्बन्धी अपराध भएकोले उच्च मा.वि. शिक्षा परिषद् परीक्षा सम्बन्धी निर्देशिका २०६८ को परिच्छेद ३ (ञ) (२) बमोजिम कारवाही हुनु पर्ने दावि गरेको छ ।
छानविन कार्यदलले दोषी यहि हो भनेर ठोस निर्णय दिन सकेको छैन । अपराध भएकै हो, सिमित व्यक्ति संलग्न रहेको खुल्न आएको छ ।
तर पनि एकिन निस्कर्ष दिन नसक्नु कार्यदलको मुख्य कमजोरी हो । नाम चलेको गण्डकी आवासिय विद्यालयका उच्च अधिकारी मध्यकै संलग्न रहेको कारण ठोस नतिजा नदिने गरी कर्मकाण्डी छानविन भएको बुझिन आएको छ ।
गण्डकी आवासिय विद्यालयका तत्कालिन सहायक केन्द्राध्यक्ष झविन्द्र अधिकारी हाल जापानमा रहेका छन् । परीक्षा अनियमितता भएको कुरा वाहिरिन पुगेपछि अधिकारीले राजिनामा दिएर उपदान लगायतको हिसाव किताव नै नगरी उनि जापान गएको विद्यालय स्रोतले वताएको छ। उनको हर हिसाव रकम उनकी श्रीमतीले बुझेकी छन् । विद्यालयका अधिकांस शिक्षकहरुले विवादको टुंगो नलागेसम्म उनको राजिनामा स्वीकृत गर्न नहुने सुझाव दिएका थिए तर प्राचार्य विरेन्द्र खड्काले राजिनामा स्वीकृत गरेका थिए ।
परीक्षा अपराध काण्डमा के कति आर्थिक चलखेल भयो त्यो भने खुल्न सकेको छैन तर सोही विद्यालयमा कार्यरत कर्मचारी ख्याम नारायण ढकालको डिजेवल छोरा माथि गरिएको अपराध निकृष्ठ र निन्दनिय छ । छानविन कार्यदलले आफूले टुंगो लगाउन नसकेको काण्डको राज्यका अधिकार प्राप्त निकायबाट घटनाको छानविन गरी दोषी उपर दण्ड दिनुपर्ने राय दिएको छ । नेपाल प्रहरी, सि.आइ.की. र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानविन गराई दोषी उपर कानूनी कारवाही हुनुपर्ने माग गरिएको छ ।

रुख कटान बारे छानविन जारी


गण्डकी आवासिय विद्यालय भित्र रहेका सिमल, सिसौ र चापका रुख स्वीकृति विना कटान गरी समिलमा विक्रि गरेको सम्बन्धमा डिभिजन वन कार्यालय कास्कीे छानविन गरिरहेको छ । करिव ७० वटा खडा रहेका सिमल, चाँप र सिसौंका रुख हरु काटेर विक्रि गरेका थिए ।
रुख कटान सम्बन्धी समाचार सराङकोटले प्रकाशन गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा डिभिजन वन कार्यालय कास्कीले छानविन अगाडि बढाएको बताइएको छ । रुख कटान गर्दा स्वीकृति लिएर मात्र गर्न पर्नेमा गण्डकी आवासिय विद्यालयले विना अनुमती मनपरी ढंगले रुख कटान गरेको थियो ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: