शिक्षक शिक्षा पाठ्यक्रमलाई सान्दर्भिक बनाऊ

सराङकोट न्यूज
29 January, 2024 12:02 pm
Advertisements

पोखरा

सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराद्वारा आयोजित एक कार्यक्रममा त्रिभुवन विश्वविद्यालयअन्तर्गत शिक्षाशास्त्र सङ्काय र शिक्षक सेवा आयोगको पाठ्यक्रमका बिच सम्बन्ध हुनुपर्नेमा जोड दिइएको छ । कार्यक्रममा संस्थाका सदस्य उपप्राध्यापक सञ्जीवराज खनालले `त्रिभुवन विश्वविद्यालय शिक्षक शिक्षा कार्यक्रमको सान्दर्भिकता विषयक खोज´ शीर्षकको अनुसन्धान पत्रमार्फत शिक्षाशास्त्र सङ्काय र शिक्षक सेवा आयोगको पाठ्यक्रमबिच तालमेल नमिल्दा २०७९ मा लिइएको माध्यमिक तहको शिक्षक अनुमति पत्रको परीक्षामा देशभरबाट करिब १८% विद्यार्थी उत्तीर्ण भएको तथ्य अघि सारे । यसलाई आधार बनाई सम्बन्धित शिक्षक, विद्यार्थी र विषय विशेषज्ञसँगको अन्तर्वार्ता र लक्षित समूह छलफलबाट प्राप्त तथ्याङ्कका आधारमा गरिएको खोजमा पनि खनालले शिक्षा, मनोविज्ञान, पाठ्यक्रमजस्ता मुख्य विषय र शिक्षक सेवा आयोगको माध्यमिक तहको पाठ्यक्रमका बिच समानताको दर कम रहेको निष्कर्ष निकाले । उनले शिक्षाको स्तर वृद्धि गर्न अन्य सङ्कायबाट शिक्षाशास्त्रमा आउँदा पनि निश्चित आधार पूरा गर्न आवश्यक रहेको स्पष्ट पारे । अनुसन्धान पत्रमाथि टिप्पणी गर्दै डा. पितृराज बाँस्तोलाले धेरै विद्यार्थीले प्रतियोगितात्मक परीक्षामा आफ्नो ऐच्छिक विषयमा राम्रो गरे पनि अनिवार्य विषय, सामान्य ज्ञान, बौद्धिक परीक्षण, ऐन नियमजस्ता विषयमा कम अङ्क ल्याउँदा असफल हुनुपरेको कारण देखाउँदै उनले हाल मुख्य गरी शिक्षण सिकाइ प्रक्रियामा नै समस्या रहेकाले सम्बन्धित प्राध्यापक, विद्यार्थी र अभिभावकको समन्वय, प्रतिबद्धता र समर्पणबाट मात्र शिक्षामा सुधार ल्याउन सकिने तर्क राखे । उनले शैक्षिक योग्यता हासिल गर्न ३५ प्रतिशत र रोजगारीका लागि प्रतिस्पर्धाबाट उत्तीर्ण हुन ५०% अङ्क ल्याउन गरिएको हालको व्यवस्था भने उपयुक्त भएकोमा जोड दिए । माथिल्लो तहमा पढाइसँग रोजगारी उपयुक्त भए पनि स्नातक तहको पढाइ गर्दा भने विद्यार्थीलाई स्तरहीन कार्यमा नअल्झी नियमित र लगनशील हुन आह्वान गरे । कार्यक्रममा कार्यसमितिका सहसचिव मदनप्रसाद बराल, शिक्षाशास्त्र सङ्कायका पूर्व सहायक क्याम्पस प्रमुख यादवराज अधिकारी, डा. श्रीकृष्ण पन्थी, उपप्राध्यापक हरिश्चन्द्र भण्डारी, प्राध्यापक सङ्घ पृथ्वीनारायण क्याम्पस पोखराका सभापति डा. लक्ष्मीशरण अधिकारी, डा. भूमिराज बस्ताकोटी, उपप्राध्यापक सुरज पौडेल, उपप्राध्यापक गोविन्दप्रसाद गैरे, उपप्राध्यापक कृष्णप्रसाद त्रिपाठी, स्याङ्जा साहित्य प्रतिष्ठानका कार्यवाहक अध्यक्ष टिकाराम वाग्लेलगायतले देशका लागि दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षाशास्त्र सङ्कायमा राम्रो अङ्क ल्याउने विद्यार्थी प्रवेश गराउने नीति ल्याउन सुझाव दिए । सहभागीहरूले शिक्षाशास्त्र सङ्कायका विद्यमान पाठ्यक्रममा विषयवस्तु, शिक्षण सिकाइ प्रक्रिया र र प्रविधिमैत्री सिकाइ व्यवस्था राम्रो भए पनि यसलाई समयानुकूल व्यावहारिक बनाउन आवश्यक रहेको औल्याउँदै लगनशील विद्यार्थी, समर्पित शिक्षक र सिकाइमैत्री शैक्षिक परिवेशबाट नै शिक्षाको स्तर वृद्धि हुने धारणा राखे । कार्यक्रममा सबैजसो सहभागीहरुले अनुसन्धान र गोष्ठीबाट आएका निष्कर्षलाई सम्बन्धित निकायसम्म पुर्याएर कार्यान्वयन गराउनुपर्ने सल्लाह दिए । संस्थाका अध्यक्ष विष्णुप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव डा. भानुभक्त आचार्यले गरेका थिए । संस्थाले हरेक महिनाको दोस्रो शनिवार समसामयिक विषयमा आधारित भएर अनुसन्धानमूलक, सिर्जनात्मक र समालोचनात्मक कार्य गर्दै आएको संस्थाका उपाध्यक्ष हिममाया पौडेलले जानकारी दिइन् ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: