छैठौं मैत्रीपूर्ण शिक्षक भलिबल रनिङ्ग शिल्डको उपाधी श्री चण्डीडाँडा मा.वि.लाई

सराङकोट न्यूज
11 February, 2024 10:03 am
Advertisements

स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिकाद्वारा सञ्चालित छैठौं अन्तरविद्यालय मैत्रीपूर्ण शिक्षक भलिबल रनिङ्ग शिल्ड प्रतियोगिता–२०८० को उपाधि फेदीखोला–१, मट्टिखान स्थित श्री चण्डीडाँडा मा.वि.ले हात पारेको छ ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुलनाराका साथ फेदीखोला गा.पा. वडा नं.–२, खड्केटारी स्थित श्री कालाभैरव मा.वि.मा यहि माघ २६ र २७ गते सञ्चालित प्रतियोगिताको फाइनल खेलमा संस्थागत आधारभूत विद्यालयको समूह (स्वाभिमान बोर्डिङ्ग स्कुल, विद्या विकास एकेडेमी, न्यु चण्डीकालिका बोर्डिङ्ग स्कुल) लाई २–० को सोझो सेटले पराजित गर्दै श्री चण्डीडाँडा मा.वि.ले रनिङ्ग शिल्डको उपाधि चुमेको छ ।
सेमीफाइनलमा चण्डीडाँडा मा.वि.ले सिद्धार्थ मा.वि.लाई २–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो भने संस्थागत आधारभूतले सामुदायिक आधारभूतलाई २–० को सोझो सेटले हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।


शनिबार नै तेस्रो स्थानका लागि भएको खेलमा सिद्धार्थ मा.वि.ले सामुदायिक आधारभूतको टिमलाई २–० को सेटले हराउँदै तेस्रो स्थान हासिल गरेको थियो ।
विजेता टिम श्री चण्डीडाँडा मा.वि.ले नगद रु. २० हजार, रनिङ्ग शिल्ड, ट्रफी, मेडल र प्रमाण–पत्र, उपविजेता संस्थागत आधारभूतले नगद रु. १५ हजार, मेडल, प्रमाण–पत्र र तेस्रो हुने सिद्धार्थ मा.वि.ले नगद रु. १० हजार, मेडल र प्रमाण–पत्र प्राप्त गरेका थिए । त्यसैगरी श्री चण्डीडाँडा मा.वि.का शिक्षक विपिन थापालाई सर्वोत्कृष्ट खेलाडी घोषित गरिएको थियो ।
११ वटा विद्यालय समावेश रहेको उक्त प्रतियोगिता नकआउटको आधारमा संचालन भएको थियो । शिक्षकहरुमा रहेको खेलकुद प्रतिभालाई प्रस्फुटन गर्न गाउँपालिकाले प्रत्येक वर्ष यो प्रतियोगिता संचालन गर्दै आएको छ ।
प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले गर्नुभएको थियो भने समापन तथा पुरस्कार वितरण गाउँपालिका उपाध्यक्ष देउकुमारी गुरुङले गर्नुभएको थियो ।

 

 

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: