![](https://www.sarangkotnews.com/wp-content/uploads/2021/06/Nepal_Police_logo_MBQrVIZ5CE.png)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
तनहुँ सदरमुकाम अपेक्षाकृत शान्त देखिएपनि जिल्लाका गौडा वजारहरुमा गुण्डा आतंक कायमै छ । पृथ्वी राजमार्गको वेलचौतारा आसपासमा सशस्त्र गुण्डाहरुको आतंक नियन्त्रण गर्न प्रहरी असफल रहेको घटना धेरै पुरना भएको छैन अवैध क्रसर उद्योगका आसपास क्षेत्रमा लुटपाट, धाक धम्की दिने हतियारधारी गुण्डा कास्कीबाट पक्राउ परेका थिए । यस वाट पनि वुझ्न सकिन्छ तनहुँ आसपासका गौंडा वजार गुण्डाहरुको क्रिडास्थल हो । त्यहाँ प्रहरीको हैन गुण्डाको कानुन चल्छ । यति सम्मकी मोस्ट वाण्टेडमा परेका (फरार) गुण्डाहरु कडा सुरक्षा घेरामा जेल वसेका आफ्ना साथीहरुलाई खुल्लम् खुल्ला भेट घाट गरी प्रहरीकै अगाडि खानपान गरेर वाटा लाग्दा पनि कारागार सुरक्षा प्रहरीले सुईको पत्तो पाएनन् । त्यो घटना सराङकोटले तस्विर सहित प्रकाशन गरेपछि तनहुँ प्रहरीलाई तनाव भएको थियो र आलोचित पनि ।
अहिले फेरी तनहुँकै भिमाद वजारमा गुण्डाहरु ताण्डव नाच प्रदर्शन गरेर फरार भएका छन् । तनहुँको भिमाद वजार दक्षिण गौंडो हो । त्यहाँबाट कालिगण्डकी तरेर नवलपरासी हुँदै भारत प्रवेश गर्ने सवभन्दा छोटो दुरीको नाका हो । उक्त वजार चोरी मोटरसाइकल गिरोहका लागि पनि स्वर्ग मानिन्छ । पोखराबाट हराएका मोटर साइकल भिमाद हुँदै नवलपरासीको डेढ गाउँ देखि कावासोती सम्म चोरी निकासी पैठारी गर्ने गरेको कास्की प्रहरीले गरेको अप्रेसनबाट खुलेको थियो।
चोरी मोटरसाइकल मात्र हैन खोला नदी घाटको प्राकृतिक स्रोत साधन र क्रसरका कच्चा सामग्री र अवैध क्रसर संचालनका रक्षा कवचका रुपमा कार्य गर्ने टोले गुण्डाहरुको वर्चस्व पनि यतिखेर भिमादमा रहेको पाइएको छ । प्र.ना.नि.को कमाण्डमा रहेको प्रहरी चौकी टोले गुण्डाको अगाडि निरिह देखिन्छन् । अवैध मदिरा उत्पादन, ओसार पसार, सवारी नियमको ठाडो उल्लंघन भइरहँदा पनि भिमाद प्रहरी मुकदर्शक वनेर ड्युटी पकाउन वाध्य छ। विभिन्न समूहका गुण्डाहरुको निशानामा पर्न सक्ने भएपछि स्थानिय वासिन्दा गुण्डा विरुद्ध प्रहरीलाई सूचना दिनु “उजुरी गर्नुलाई तलाउमा बसेर गोहीसँग दुश्मनी मोले झैं” हुने वताउँछन्। त्यसैले प्रहरीले सूचना पाउनै मुस्किल पाए पनि कारवाही गर्न खुट्टा कमाउने अवस्था ।
केहि दिन अगाडि भिमादमा दुई समूहका गुण्डाहरुवीच भएको ग्याङ फाइटले बजार आतंकित वन्यो । लट्टे समूह, मियाँ समूह, नेपाली समूहका नाममा पटक पटक हुने झडप, खुकुरी हानाहान मात्र नभएर मध्य रातमा घर घरमा हुने इट्टा ढुंगा प्रहारबाट वजार क्षेत्र आतंकित छ । ८ किमी दुरीमा रहेको इप्रका वेलचौताराबाट प्रहरी पुग्दा फरार भइसक्ने ति गुण्डाहरु अझै फरार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्र.ना.उ. युवराज तिमल्सिना ग्याङ फाइट गर्ने दुवै गुण्डा समूहको व्यापक खोजी भइरहेको वताउँछन् । प्रहरी र प्रविधि दुवै लाई भरपुर प्रयोग गरेर गुण्डाहरुको खोजी राखिएको र अव केही दिनमै पक्राउ गरी कानुनी दायरामा ल्याइने प्रनाउ तिमल्सिनाले वताए । भिमाद क्षेत्रमा मात्र हैन तनहुँका विभिन्न गौंडा र वस्तीहरुमा आतंक मच्चाउने गुण्डाहरुलाई राजनीतिक दलको संरक्षण रहेको जानकारहरु बताउँछन् । अपराधमा राजनीतिकरण र राजनीतिमा अपराधीकरण दुवै शान्ती सुव्यवस्थाका धमिरा छन् माखेसाङ्लो टुट्न जरुरी छ ।
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2023/11/Annapurna-Bal-Tatha-Mahila-Aspatal-Final-Ad-copy.jpg)