राष्ट्रिय विभूती पार्कमा अवैध असुली, महानगरपालिका भन्छ–‘थाहा छैन’

यदुनाथ बन्जारा
3 August, 2021 1:03 pm

आफैले स्थापना गरेको राष्ट्रिय विभूती तथा शहीद पार्कमा अवैध असुली भइरहँदा पनि पोखरा महानगरपालिकालाई कुनै जानकारी छैन । विगत ३ महिना देखि पार्कमा प्रवेश गर्नेहरु बाट प्रति व्यक्ति २० रुपैयाँका दरले प्रवेश टिकट काटिदै आएको छ। पोखरा महानगरपालिकाद्धारा संचालित भन्दै प्रवेश शुल्क काटिएको छ । जुन टिकट हामी सँग सुरक्षित रहेको छ । तर पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश वराललाई प्रवेश टिकट काटिएको वारे कुनै जानकारी छैन । वराललाई मात्र हैन राजस्व महाशाखाका प्रमुख गणेश पाण्डेलाई समेत थाहा छैन। हामीले त्यहाँ प्रयोग गरिएको प्रवेश टिकट देखाएपछि पाण्डेले भने यो त शत प्रतिशत गलत भयो ।
महानगरलाई आफ्नै ढुकुटीबाट करोडौं खर्च गरेर निर्माण गरेको पोखरा–१८ जामुनबोट को राष्ट्रिय विभूती तथा शहीद पार्कको व्यवस्थापन गर्न सार्वजनिक निजि साझेदारी नीति अनुसार कुनै संस्थालाई जिम्मा लगाउने प्रयत्न पनि गरिरहेको वुझिएको छ । नागरिकको करवाट खर्च गर्ने अनि कुनै संस्थालाई पोसाउने खेलो गर्ने कार्यप्रति कर्मचारी वृतमै असन्तुष्टि रहँदै आएको छ। जहाँ नीजि क्षेत्रको कुनै लगानी हुन्न त्यहाँ साझेदारी कार्यक्रम लागु हुनै नसक्ने जानकारहरु वताउँछन् । सानिसा आफू लगानी गरेर व्याज अर्कैलाई खुवाउने सिक्वेन्स गेम रहेको वताइरहँदा पनि महानगर प्रशासनको चेत खुलेको देखिदैन । व्यवसाय कर असुुली, विज्ञापन कर असुलीको जिम्मा पोखरा उद्योग वाणिज्य संघलाई दिइएको कारण कमिशन त गएकै थियो वक्यौता समेत उठ्न नसकेको अवस्था छ ।
जामुनवोटको राष्ट्रिय विभूति पार्कमा पनि सानिसा नीति वमोजिम सुम्पने प्रयास भइरहेको वुझिन आएको छ । आजसम्म कुनै नीजि संस्थाले पार्क स्थापनामा आर्थिक सहभागिता जनाएका छैनन् तर केहि व्यक्तिको स्वार्थमा महानगरको सम्पत्ति व्यक्ति वा निहित संस्थालाई दिइनु किमार्थ राम्रो मान्न सकिदैन ।
राष्टिय विभूति तथा शहीद पार्क पोखराको गहना हो पोखरेलीको सम्पत्ति हो । यसवाट महानगरले वार्षिक करोड भन्दा वढि कमाउन सक्ने मात्र नभएर पोखराको चिनारी गराउन सक्ने ठाउँलाई वडा अध्यक्ष रण बहादुर थापाको व्यक्तिगत इशारामा महानगरको अनुमती समेत नलिई प्रवेश शुल्क उठाउन थालिएको छ । वडाले राष्टिय विभूति तथा शहीद पार्क व्यवस्थापन समितिको नाममा प्रवेश टिकटको कटाउँदा टिकटको दर रेट निर्धारण कर्मचारी व्यवस्थापन सम्बन्धि कुनै अनुमती सहमति छलफल केही भएको छैन । सिंगो महानगरको गौरव गर्न लायक पार्कमा वार्ड अध्यक्षको हालीमुहाली हुनुमा कर्मचारी भर्तिको स्वार्थ हावी भएको देखिन्छ ।

आम्दानी भन्दा खर्च वढि

राष्टिय विभूति तथा शहीद पार्क संचालन बाट महानगर पालिकालाई पाउने आम्दानी भन्दा आफ्ना मान्छेलाई जागिर खुवाउने होड चलेको देखिन्छ । ५ जना कर्मचारी त्यहाँ खटाइएको छ । प्रवेश टिकट कति काटिन्छ ? कति आम्दानी जम्मा हुन्छ दोस्रो कुरा हो पहिलो कुरा त जागिर नै रहेको वुझिन्छ । पार्कमा खटाइएको ५ जना मध्य १ जना उपत्यका नगर विकास समितिबाट खटाइएका छन् भने वाँकी ४ जना वडा नं. १८ का वडा अध्यक्षको तजविजले खटाएका छन् । पार्कबाट उठेको टिकटको आम्दानी भन्दा तलव खर्च वढि हुने गरेको छ चुहावटका कारण पार्क सुरुमै थला पर्ने त हैन भन्ने चिन्ता स्थानिय वृतमै हुने गरेको छ ।
राष्टिय विभूती पार्कलाई रितपूर्वक टेण्डरमा लैजानु राम्रो हुन्छ । पार्कको सरसफाइ सुरक्षा, खाजा नास्ता सवै समेटेर प्याकेजमा टेण्डर गरियो भने महानगरले वोझ वोक्नु पर्दैन उल्टो आम्दानी दिन्छ ।
पोखरा महानगरपालिका का राजस्व महाशाखा प्रमुख पार्कमा भइरहेको असुली रोकेर टेण्डर आव्हान गर्ने वताउँछन्। महानगरले एकल लगानी गरेको ठाउँमा सानिसा कार्यक्रम लागु गर्दा महानगरपालिका लाई घाटा हुने महाशाखा प्रमुख गणेश पाण्डे वताउँछन् । नागरिकको कर दस्तुरबाट चल्ने महानगर कहिले चल्छ विधि र पद्दतिमा ? जामुनबोटको शहीद पार्कमात्र हैन पोखराका सिल्टेसन ड्याम, सेती गर्ज, रामघाट, जस्ता कार्यक्रम लाई सानिसामा दिने निर्णय पुनरावलोकन हुन आवश्यक छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: