प्रहरी विरुद्ध प्रशासनमा उजुरी, चन्दा उठाएको रकममा भ्रष्टाचार भएको भन्दै छानविन गर्न माग

सराङकोट न्यूज
10 August, 2021 5:21 pm

प्रहरी विट निर्माणमा चन्दा आतंक मच्चाएर भ्रष्टाचार गरेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीमा उजुरी परेको छ । पोखरा–३, नदीपुरमा सेती जलविद्युत केन्द्रको मूल नहर माथी अतिक्रमण गरि प्रहरी विट बनाउँदा चौकी इन्चार्ज प्र.ह. गौतम श्रेष्ठ समेतको मिलेमतोमा निर्माण उपभोक्ता समितिले उठाएको चन्दामा भ्रष्टाचार गरिएका हुन सक्ने भन्दै छानविनको माग गरिएको छ । २०७८ श्रावण १८ गते प्रशासनमा दिएको उजुरीको बोधार्थ सराङकोट न्यूजलाई प्राप्त भएको छ ।
सडक मापदण्ड नियमन गर्ने वडा कार्यालय बाटै मापदण्ड विपरित स्थलमा नक्सा पास नगरी पक्की संरचना निर्माण गरी कानूनको धज्जी उडाइएको विषयलाई उजुरीमा उठाइएको छ। सरकारी नीति नियम विपरित संरचना निर्माण गर्ने क्रममा सहदेव बानियाको अध्यक्षतामा गठन गरिएको निर्माण उपभोक्ता समितिका केही पदाधिकारीहरुले एकलौटी गरेको विषयमा उजुरी कर्ताले छानविन हुनुपर्ने माग गरेको पाइएको छ ।
नदीपुरको बालमन्दिर चोकमा निर्मित अस्थायी प्रहरी विट निर्माणमा ३२ लाख रुपैया खर्च भएको त्यो सबै रकम चन्दा उठाएर जुटाइएको निर्माण समितिका सचिव सनकमान सिकेले बताए । उक्त रकममा जिन्सी सहयोग समेत समावेस रहेको सिकेले बताए ।
निर्माण समितिको कोषाध्यक्ष मिम कुमारी श्रेष्ठ पौडेलले सिलामा नाम लेख्न लगायतका काम बाँकी रहेकोले थप सहयोग उठाइएको हुन सक्ने बताइन । तर समितिका आर्थिक संयोजक भास्करध्वज श्रेष्ठले काम सम्पन्न भइसकेकोले चन्दा उठाउने काम बन्द गरिएको बताए ।
छानविनको माग गर्दै जिल्ला प्रशासनमा उजुरी परेको र तत्सम्बन्धमा छानविन भइरहेको जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्र.जि.अ. अनिल कुमार शाहीले बताए । नागरिकको गुनासो आएपछि यथार्थ छानविन गर्नु प्रशासनको दायित्व रहेको सहायक प्र.जि.अ. शाहीले बताए।
सुरक्षाको दृष्टिले प्रहरी विट आवश्यक भएपनि निर्माण स्थल छनोट नियम संगत नभएको विषयमा सर्वत्र आलोचना भएको छ । केही दिन अघि सिचाइ डिभिजन कार्यालय प्रमुख ई.किरण आचार्य र प्र.जि.अ. स्थानेश्वर गौतमले स्थलगत अनुगमन गरेका थिए । यता छानविनको माग गर्दै उजुरी परेको छ भने निर्माण समिति भने उद्घाटनको चाजो पाँजो मिलाइरहेको छ । छानविनको निस्कर्ष कस्तो आउँछ त्यो पनि हामी पछ्याउने छौं ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: