गण्डकी ट्रकमा कारबाही काण्ड, गैह्र व्यवसायी पनि पदाधिकारी !

सराङकोट न्यूज
7 September, 2021 12:53 pm

पोखरा : पोखरामा मुख्यालय रहेको गण्डकी ट्रक यातायात व्यवसायी संघमा यतिखेर कारबाही काण्डले चर्चा पाएको छ । संस्था दर्ता ऐन २०३४ बमोजिम दर्ता भई समितिको अवधारणा बमोजिम सञ्चालन हुदै आएको संघलाई तत्कालीन ओली सरकारको पालामा २०७४ चैत्र १८ गतेको समिति खारेज हुनुपर्ने नीति आकर्षित भएको छैन । सोही प्रकृतिको गण्डकी मझौला मिनी ट्रक संचालक समिति गण्डकी ढुवानी प्रा.लि. मा रुपान्तर भइसकेको हुँदा पनि लोकल, लाइन ट्रक र नीजि नम्बरका ट्रक ट्रिपर कन्टेनर, संचालक गर्दै आएको गण्डकी ट्रक यातायात व्यवसायी संघ भने प्रा.लि. मा रुपमान्तर नगरेपनि हुने छुट पाएको छ ।
संघमा २०७७ माघ पहिलो साता रविन्द्र गिरीको अध्यक्षतामा नयाँ नेतृत्व आएको छ । नयाँ नेतृत्वले व्यवसायीको प्रतिनिधित्व गरिरहदा गैह्र व्यवसायी पदाधिकारीमा पुग्न विभिन्न तिकडम गरेको रहस्य बाहिर आएको छ । दुर्गादत्त भुगाइले ग१ ख ४७७९ नम्बरको ट्रकको व्यवसायीको हैसियतमा संघको द्वितीय उपाध्यक्षको पद हत्याए । आफू पदमा पुगे लगतै २ हप्ता पछि २०७७ माघ २३ गते ट्रक अर्कै व्यक्तिलाई बिक्री गरे। उनी माघ २३ गतेबाट गैह्र व्यवसायी भए तर उनी संघको दित्तीय उपाध्यक्ष पदमा बहाल नै रहिरहे।
संघको विधान अनुसार भाद्र १८ गते सुक्रबार मात्र संघले भुगाइको राजीनामा स्वीकृत गरेको जनाएको छ । संघले माघ २३ गते देखि भाद्र १८ गतेसम्म्म ६ महिना गैह्र व्यवसायीलाई जिम्मेवारीमा राखेर विधान विपरित कार्य गरेको छ । गैह्र व्यवसायी दुर्गादत्त भुगाइले दित्तिय उपाध्यक्षको हैसियतमा माघ देखि भाद्रसम्म संघबाट लिए खाएको सुविधा फिर्ता हुनुपर्ने कतिपय व्यवसायीहरुले माग गरेका छन् । संघले असुल उपर गर्छ गर्दैन त्यो भने हेर्न बाँकी नै छ । त्यस्तै संघमा पदमा पुग्न कतिपयले ब्लु बुकमा मात्र सवारी धनी हुने गरेका र ती सवारीहरु अन्य व्यवसायी वा चालकले व्यवस्थापन गर्दै आएको बताइएको छ । त्यस्ता कागजी व्यवसायीलाई संघको पदाधिकारी वा सदस्य बनाउँदा व्यवसायिक हित हुनेमा ढुक्क हुन नसकिने कतिपय व्यवसायीले बताएका छन् ।

दुईतिर सदस्यता लिएको भन्दै कारबाही

नेत्र बहादुर खत्री पुराना ढुवानी व्यवसायी हुन् । ट्रक यातायात संघ र गण्डकी ढुवानी प्रा.लि.दुवै तिर उनको सदस्यता कायम रहेको छ । यस अघिको कार्यसमितिमा पनि सदस्य पदमा रहि काम गर्दै आएका उनलाई रविन्द्र गिरी नेतृत्वको कार्यसमितिले पनि कासस पदमा मनोनित ग¥यो ।
मनोनित गरेको केही महिनामै उनलाई कार्यसमिति बाट बर्खास्त गरियो । फकाई फकाई आफूलाई समितिमा मनोनित गरेर केही महिनामै बर्खास्त गरिएको भन्दै नेत्र बहादुर खत्रीले दुःख व्यक्त गरेका छन् । मेरा दुवै संस्थामा गाडी छ भन्ने सबैलाई प्रस्ट जानकारी थियो । अघिल्लो समितिलाई पनि थियो तर नियोजित रुपमा मलाई बर्खास्त गरेर अपमानपूर्ण व्यवहार गरियो खत्रीले भने । संघ विधि र प्रक्रियामा चल्नुपर्छ आर्थिक पारदर्र्शिता हुनु पर्छ भन्ने मेरो सोच विचारका कारण मलाई हटाइएको हो दुवैतिर गाडी भएको भन्ने एउटा बहानामात्र रहेको उनको भनाई छ ।
संघका वरिष्ठ उपाध्यक्ष विकास थापासँग यी दुवै खाले कारबाहीको आधारबारे जिज्ञासा राख्दा विधान बमोजिम भएको बताए तर विधानमा भएको व्यवस्थाबारे जान्न खोज्दा बताउन सकेनन् । संघको विधान अध्यक्ष भन्दा बाहेक अरुले हेर्न पढ्न दिन नमिल्ने थापाले बताएका थिए । सरकारी निकायमा दर्ता भएर चलेको सार्वजनिक संस्थाको विधान यति गोप्य राख्नुपर्ने कारण भने बुुझ्न सकिएन ।
उनको व्यवसाय खुल्ला र पारदर्शी हुनुपर्छ अर्को कम्पनीमा शेयर हालेको भरमा पदबाटै बर्खास्त गर्नु भन्दा मनोनित गर्नु पहिल्यै सत्यतथ्य बुझेर मात्र गर्ने हो भने बीचमा कारबाही गरेर आफ्नै व्यवसायीको मान मर्दन गर्नुपर्ने थिएन कि ?
उता पदाधिकारी बन्न कागजी व्यवसायी बन्ने अनि पदमा पुगेपछि गाडी नै बिक्री गरेर गैह्र व्यवसायीले संघको नेतृत्व मा पुग्ने कार्यका बारेमा कडा नीति अपनाउनु पर्छ । विधानमा रहेको व्यवस्था आम व्यवसायी समक्ष जानकारी गराउन सके मात्र पनि व्यवसायिक शुद्धिकरणको अपेक्षा राख्न सकिन्छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: