क्या मज्जा सरकारी डाक्टरको जागिर ! दरबन्दी होल्डमा राखेर २ वर्ष वेखबर

यदुनाथ बन्जारा
8 September, 2021 11:56 am

पोखरा : लमजुङ मध्य नेपाल नगरपालिकाकी डा. सुजु जमर्कट्टेल पेशाले डाक्टर हुन् । मेडिकल अफिसरमा लोक सेवा पास गरेर सरकारी अस्पतालमा जागिर खाइरहेकी डाक्टर जमरकट्टेल विगत २ वर्षदेखि स्पेनको वार्सिलोना शहरमा छिन्। मेडिकल अफिसरमा जागिर खाई रहेकी डा.जमरकट्टेल २०७६ भाद्र देखि विदेशमा रहदै आएकी छिन् तर उनको जागिर अझै नेपालमै कायम छ ।
डा.सुजु कुनै पनि विदा स्वीकृत गरेर वा सरकारसँग अनुमति लिएर विदेश गएकी हैनन् । कानून त अध्ययन विदा वा असाधारण विदा लिन आवश्यक पर्ने सेवाको शर्त, मापदण्ड पूरा नभएका कारण उनले विदा सुविधा पाउने कुरै थिएन । तर कानूनी आधार मापदण्ड पूरा नभएपनि उनी कार्यरत अस्पताल प्रशासन संगको मिलेमतोमा जागिर थमौती गरिदिने तारतम्य मिलाएर कार्यरत अस्पतालमै दरबन्दी होल्ड गर्ने गरी डा.सुजु स्पेन गएको खुल्न आएको छ ।
पोखरा–१६ स्थित मातृशिशु मितेरी अस्पतालमा २०७६ भाद्र पहिलो हप्ता हाजिर भएको एक हप्ता लगतै उनले अस्पताल छोडेको मातृशिशु मितेरी अस्पतालका प्रशासन शाखाका ना.सु. कृष्ण शर्माले पुष्टी गरे । उनी पढ्न स्पेन गएको मौखीका जानकारी बाहेक कानून बमोजिम कुनै आधिकारिक जनाउ छैन । अस्पतालमा विदा स्वीकृति त परको कुरा भयो । उनी व्यक्तिगत प्रयोजनले सरकारलाई कुनै सूचना जानकारी नै नदिइ अस्पतालमा विगत दुई वर्षदेखि सम्पर्कमा छैनन् अर्थात कानून विपरित गैह्र हाजिर छिन् । त्यस अघि उनी प्राथमिक स्वास्थ्य केन्द्र गल्कोट बागलुङबाट समय लिइ मातृशिशु मितेरी अस्पताल सरुवा भएकी थिइन् उनको, व्यक्तिगत फाइल र दरबन्दी मातृशिशु अस्पतालमै कायम गरिएपछि उनले नेपाल छोडेकी अस्पताल प्रशासनले बताएको छ ।

किन बढेन कारबाहीको प्रक्रिया ?

कानूनी शासनको कुरा गर्ने हो भने दुई महिना सम्म विना सूचना, विना आधार सरकारी सेवामा गैह्र हाजिर रहने कर्मचारी उपर जागिरबाट बर्खास्त गर्ने प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ तर डा.सुजु गैह्र हाजिर प्रकरणमा दुई वर्ष सम्म कुनै कारबाही प्रक्रिया अगाडी बढाइएको छैन केवल एक वर्ष पछि गत भाद्रमा घर ठेगानामा पत्र पठाउनु वाहेक । उनी कार्यरत मातृशिशु मितेरी अस्पताल प्रशासनले मेडिकल अफिसर पदको दरबन्दी होल्डमा राखेर पुन डा. सुजुलाई नै हाजिर गराउने सेटिङ मिलाएर कारबाही अघि नबढाउन मौनता सोधेको पुस्टी हुन आएको छ ।
निजामति सेवा ऐन र स्वास्थ्य सेवा ऐनमा ६० दिन सम्म कार्यालयमा हाजिर नहुने कर्मचारीहरुलाई ६१ औं दिन बाट स्पष्टीकरण सोध्ने, घर ठेगानामा पत्राचार गर्ने, अन्तिममा सेवाबाट हटाउने बारे पत्रपत्रिकामा सूचना प्रकाशन गरी सेवाबाट अवकास दिने र दरबन्दी रिक्त मानी नयाँ पदपूर्ति गर्ने प्रावधान छ । त्यसको लागि दरबन्दी रहेको कार्यालयले तालुक अड्डा विभाग र मन्त्रालयलाई कानूनी फर्मेटमा लिखित जानकारी गराउने दायित्व रहन्छ तर विडम्वना दरबन्दी रहेको कार्यालयले नै कानूनको पालना नगरी डा.सुजु जमरकट्टेललाई संरक्षण गरी कानूनको धज्जी उडाएका छन् ।
२०७६ भाद्र देखि अस्पतालमा हाजिर नरहेकी मे.अ.डा.सुजुलाई सेवाबाट हटाउन के कस्तो कारबाही प्रक्रिया अगाडी बढाउनु भयो भन्ने जिज्ञासामा अस्पतालका नि.मे.सु. डा.पुस्कर पौडेल तलब खुवाइएको छैन भन्दै तर्किए । डा.पौडेलले मन्त्रालयमा दरबन्दी रिक्त रहेको जानकारी गराइएको हामीलाई बताए तर स्थायी दरबन्दीमा कार्यरत स्थायी चिकित्सकलाई सेवाबाट हटाउने कारबाहीको कुनै प्रक्रिया नै नपु¥याई दरबन्दी के आधारमा रिक्त हुन्छ भन्ने बारेमा बताउन सकेनन् । डा.पौडेल नि.प्रमुख भएको १० महिना बितेको छ, त्यस अघिका मेसु.डा. प्रतिमा गौलीले पनि डा.सुजु गैह्र हाजिर प्रकरण ढाकछोप गर्दै कुने कारबाही अगाडी नबढाएको पाइएको छ। डा. गौलीले भनिन् –“डा. सुजु विदेश गएको मन्त्रालयलाई जानकारी छ ।”
अस्पताल व्यवस्थापन तथा सञ्चालकका लागि मन्त्रालयले गठन गरेको अस्पताल विकास समितिले पनि कानूनको खिल्ली उडाएको पाइयो । आफ्नो अस्पतालमा भएको दरबन्दी, जनशक्ति पदपूर्ति जस्ता महत्वपूर्ण कार्यमा मौनता सोधेर अनियमित सेटिङमा लिप्त हुने विकास समितिको कार्यशैलीले मातृशिशु मितेरी अस्पताललाई क्षति पु¥याएको छ, दुई वर्ष देखि सरकारी दरबन्दीलाई होल्डमा राखेर विदेश गएका चिकित्सकलाई पुन नियुक्ती दिने प्रपञ्च रच्नेहरुका कारण सरकारी बजेट फिर्ता गएको छ भने विरामीहरुले उपचार पाएका छैनन् ।
चारवटा मेडिकल अधिकृतको दरबन्दी रहेको मातृशिशु मितेरी अस्पतालमा १ जना मात्र कार्यरत छन् । दरबन्दीका मे.अ.डा.अस्मिता पाठक वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पढ्न गएकी छिन् भने अर्का मे.अ.अनुप पण्डित न्याम्स काठमाडौंमा पढ्न गएका छन् । बाँकी एक मे.अ.डा.सुजु जमरकट्टेल दुई वर्ष देखि बेखबर छिन उनको दरबन्दी गैह्रकानूनी होल्डमा राखिएको छ । सरकारी दरबन्दी काूननी विपरित होल्डमा राख्ने कार्यमा को को संलग्न छन् ? मन्त्रालयलाई जानकारी नदिई कार्यालयमा दुई वर्ष सम्म हाजिरी नहुने चिकित्सक र कानूनी कारबाहीको लागि प्रक्रिया अगाडी नबढाई अनुचित कार्यमा मिलेमतो गर्ने सार्वजनिक ओहोदा ओगटेर बस्ने पात्र पहिचान गरी कारबाही गर्न मन्त्रालय र संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निस्पक्ष छानविन गरी सत्यतथ्य बाहिर ल्याउन आवश्यक छ ।

हाजिर नहुदा पनि तलब खुवाइयो

डा.सुजु जमरकट्टेल २०७६ भाद्र देखि गैह्र हाजिर रहेको अस्पतालको हाजिर रजिस्टरले पुस्टी गर्छ । उनी भाद्र देखि स्पेनमा छिन् तर उनी कार्यरत अस्पतालले २०७६ मंसिर सम्मको तलब खुवाएको पाइएको छ । प्रशासनका सुब्बा कृष्ण शर्माले मंसिर सम्म ४ महिनाको तलब खुवाएको बताएका हुन् । सरकारलाई जानकारी नै नदिई विदेश जाने कर्मचारीलाई तलब खुवाउने आधार के छ स्पस्ट खुलेन ।
२०७४ माघ ७ गते स्थायी सेवा सुरु गरेकी डा.सुजुले जम्मा १९ महिना सेवा गरेको देखिन्छ। १९ महिना सेवा अवधिको सञ्चित विदाको तलब विना आधार खुवाउने मातृशिशु मितेरी अस्पतालको यो प्रकरणले सुशासनको खिल्ली उडाएको छ । भाग्ने र भगाउने बीचको मिलेमतोले सरकारी अस्पतालको सेवा माथी गम्भिर प्रश्न उब्जाएको छ । विदेश भासिने डाक्टरको जागिर जोगाउन सरकारी नुनपानी खाएका कर्मचारी र व्यवस्थापनको जिम्मा लिएका अस्पताल विकास समितिले कानून मुठ्ठीमा लिएर सरकारी अस्पताल र सेवाग्राही माथी घोर अन्याय गरेका छन् । अख्तियारले २०७६ श्रावण यताका निर्णयका फाइल, खर्चका फाइल तानेर तत्काल छानविन गर्न जरुरी छ ।
विदेश गएकालाई तलब खुवाउने र दरबन्दी होल्ड गरी पुन सेवा जोड्ने नियत राखेका हरुबाट प्रमाण नस्ट गर्न सक्छन् तत्काल सक्कलै फाइल तानेर छानविन गर्न तदारुकता देखाउनु पर्छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: