मातृशिशु अस्पतालमा आइ.सि.यु. छ जनशक्ति छैन, प्रदेश सरकारको आँखा कहिले खुल्छ ?

यदुनाथ बन्जारा
23 September, 2021 9:32 am
Advertisements
Advertisements

पोखरा : पोखरा महानगरपालिका वडा नं. १६ मा मातृशिशु मितेरी अस्पताल गण्डकी प्रदेश सरकार अन्तर्गतको जिल्ला अस्पताल हो । साविकमा बाटुलेचौर हेल्थ पोस्टको नामले परिचित उक्त स्थानमा हाल मातृशिशु मितेरी हस्पिटलले विस्तारित रुप लिएको हो ।
मातृशिशु मितेरी अस्पतालले सेवा विस्तारमा कछुवाको रुप लिएको छ । राज्यले स्रोत साधनमा लगानी गरेपनि दक्ष जनशक्ति र व्यवस्थापकीय पाटोमा लय समात्न सकेको छैन । सरकारले जनशक्ति परिचालन गर्न नसक्नु एउटा कारण छ भने सरकारको अनुकम्पाले गठन गर्ने अस्पताल विकास समिति दलिय राजनीतिको चक्रव्युहुबाट माथि उठ्न सकेको छैन ।
गण्डकी प्रदेश सरकारले मातृशिशु मितेरी अस्पतालमा सघन उपचार कक्ष (ICU) उपकरण खरिद गरी सेट–अप ग¥यो । अघिल्लो सरकारका सामाजिक विकास मन्त्री नरदेवी पुनले मिति २०७७ पुष २४ गते उद्घाटन गरिन् । ३ वटा भेन्टिलेटर र ५ वटा आई.सि.यु. बेड जडान गरी उद्घाटन समेत भएको आठ महिना पूरा भइसकेको छ तर त्यसको उपयोग हुन सकेको छैन । उपयोगमा नआउनुको मुख्य कारण भनेकै जनशक्तिको अभाव हो ।


आइ.सि.यु. र भेन्टिलेटर सञ्चालनका लागि नभइ नहुने जनशक्ति फिजिसियन र एनेस्थेसियोलोजिस्ट हो । यी दुवै जनशक्ति मातृशिशु मितेरी अस्पतालमा उपलब्ध गराइएको छैन । करोड भन्दा माथीको मेसिन उपकरण किन्न सक्ने, आइसियु कक्ष भवन बनाउन सक्ने सरकारले दुई जना चिकित्सक पठाउन नसक्दा माल पाएर चाल नपाएको भने जस्तै भएको छ ।
अस्पतालको पहिलो तलाको एउटा सानो हलमा आइसियु सम्बन्धी शैया र उपकरणहरु असरल्ल फिजाएर राखिएको छ । उक्त हल कोठा अहिले स्टाफ सुत्ने कोठाका रुपमा प्रयोग गरिएको छ । समयमै ती उपकरण प्रयोगमा नल्याइए बिग्रन सक्ने विज्ञ जानकारहरु बताउँछन् तर पनि जनतालाई सेवामा टेवा दिने मूल्यवान उपकरणहरु कहिले प्रयोगमा ल्याउने हो यकिन छैन । अघिल्लो सरकारले जनशक्ति नै व्यवस्थापन नगरी भित्र्याएको क्ष्ऋग् उपकरण यो सरकारले तत्काल प्रयोगमा ल्याउने व्यवस्थापन मिलाउन जरुरी देखिएको छ ।
आइ.सि.यु सेवा कहिले सुचारु हुन्छ भन्ने बारेमा मातृशिशु मितेरी अस्पताल प्रशासनलाई केही जानकारी छैन । उनीहरुको एउटै उत्तर छ “जनशक्ति आएपछि यता जनशक्ति व्यवस्थापन गर्ने प्रदेश सरकार स्वयम बेखबर छ । गण्डकी प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य निर्देशनालयका उच्च अधिकारीहरु समेत जनशक्ति व्यवस्थापन कहिले हुन्छ भन्ने बताउन सक्दैनन् । स्वास्थ्य निर्देशनालयका निर्देशक डा.राम बहादुर केसी जनशक्ति माग गर्ने कार्य अगाडी बढेको बताउँछन् । त्यसमा पनि एनेस्थेसियोलोजिस्ट त पाउनै गाह्रो हुने स्वास्थ्यका आधिकारीहरु बताउँछन् । अब तालिम दिएर भएपनि पठाउने डा.केसीले बताएका छन् ।
प्रदेश सरकार अन्तर्गतको उक्त अस्पतालमा रहेको ४ जना मेडिकल अफिसरहरु मध्ये अहिले १ जना मात्र कार्यरत छन् । ती मध्ये दुई पढ्न धरान र काठमाडौंमा छन् भने एक मे.अ. चिकित्सक डा. सुजु जमर कट्टेल २०७६ भाद्र अर्थात् २ वर्ष देखि बेखबर छिन् र पनि उनलाई कारवाही नगरी दरबन्दी होल्डमा राखिएको पाइएको छ । अस्पताल प्रशासनको अकर्मण्यताका कारण सेवाग्राहीले सेवा पाउनबाट वञ्चित हुनु परेको छ ।
सराङकोटले दरबन्दी होल्डमा राखी डाक्टर बेखबर भएको समाचार प्रकाशन गरेपछि स्वास्थ्य मन्त्रालयले चासो व्यक्त गरेको छ । स्वास्थ्य मन्त्रीका स्वकिय सचिव शम्भुराज चापागाइले दरबन्दी होल्ड प्रकरणमा तत्काल कारबाही अगाडी बढाउन मातृशिशु मितेरी अस्पताललाई निर्देशन दिदै यसबारेमा तत्काल कारवाही अगाडी बढाइने चापागाइले बताएका छन् ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: