चिकित्सकको मिलेमतोमा औषधी पसलमा खाद्य पदार्थको व्यापार

यदुनाथ बन्जारा
5 July, 2022 12:54 pm

पोखरा

औषधी पसलहरुमा खाद्य पदार्थहरु खुल्लम खुल्ला बिक्री गरिन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ तर नेपालको औषधी सम्बन्धि ऐन नियम विपरित गई कतिपय औषधी व्यवसायीहरुले खाद्य सामाग्रीहरु धमाधम विक्री गर्दै आएको भेटिएको छ । यो कार्य त्यसै फस्टाएको भने होइन यसमा चिकित्सकहरुको प्रत्यक्ष मिलेमतो रहेको उनीहरुले विरामीलाई लेख्ने प्रेस्किृप्सन (पूर्जा) बाट प्रस्ट हुन आउँछ ।
कतिपय चिकित्सकले कमिशनको लोभमा परेर न्यूट्रास्यूटिकल र फुडसप्लिमेन्ट जस्ता (खाद्य पुरक) वस्तुहरु विरामी पूर्जीमै लेख्ने गरेका कारण अधिकांस औषधी पसलहरुको कमाइ धन्दा फस्टाएको छ । औषधी व्यवस्था विभागमा दर्ता स्वीकृत नै नभएका भिटामिन जुस, क्याप्सुल, ट्याबलेटहरु समेत डाक्टरको सिफारिस पुर्जामा लेखेर विक्री गरिनु गैह्रकानूनी कार्य हो भन्ने जान्दा जान्दै कतिपय चिकित्सकहरुको मिलेमतोमा औषधी व्यवसायीहरुले गैह्र कानूनी धन्दा गर्दै आएका हुन् ।

औषधी व्यवस्था ऐनले नेपालमा विक्री हुने औषधीहरुको गुणस्तर नियन्त्रण गर्ने काम औषधी व्यवस्था विभागले गर्छ। गुणस्तर परीक्षण गरी स्वीकृत प्राप्त औषधीहरु मात्र उत्पादन विक्री वितरण एवम् दोश्रो वा तेश्रो मुलुकबाट आयात गर्न पाउने प्रावधान तोकिएको छ । त्यसरी स्वीकृत प्राप्त औषधीहरु बाहेक औषधी पसलहरुमा विक्रीका लागि राख्न र चिकित्सकहरुले पूर्जामा लेख्न समेत पाउँदैन । नेपाल चिकित्सक संघ गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष चिकित्सक निर्मल लामिछाने भन्छन् “चिकित्सकले डि.डि.ए.ले स्वीकृत नगरेका औषधी विरामीलाई प्रेस्काइभ गर्न पाइदैन चाहे त्यो औषधी होस् या फुड् सप्लिमेन्ट नै ।”
चिकित्सकले फुड सप्लिमेन्टहरु समेत प्रेस्काइभ गरिदिदा विरामी किन्न बाध्य हुने गरेको पाइन्छ । कमजोरीको लागि साग सब्जी, फलफूल गेडागुडी, खान सिफारिस गर्न छोडेर मेडिकलमा अवैध रुपले राखिने खाद्य पुरक अर्थात फुड सप्लिेमेन्ट वस्तुहरु क्याप्सुल, ट्याबलेट र जुस अन्य भिटामिनहरु समेत प्रेस्क्राइभ गरेर भिडाउने गरेको पाइन्छ जबकी ती फुड सप्लिमेन्ट र न्युट्रासिटिकलहरु र औषधी व्यवस्था विभागमा दर्ता भएका हुन्छन् 

न औषधी पसलमा राखेर विक्री गर्न नै पाइन्छ ।
यस विषयमा नियमित अनुगमन गर्न समेत औषधी व्यवस्था विभागले प्रभावकारिता देखाउन नै सकेको छ । काठमाडौंमा रहेका डिडिएको कार्यालयले वर्षमा २,३ पटक मोफसलका जिल्लाहरुमा अनुगमनमा खटाउने गर्दै आएको छ । अनुगमनका बेलामा छलिने र अरु बेला ढुक्क सँग मनोमानी गर्ने गरिदा केही औषधी व्यवसायी र चिकित्सकहरुलाई खुँदो पल्टिएको छ । त्यसको प्रत्यक्ष मारमा सर्वसाधारण विरामीहरु पर्ने गरेका छन् ।
असारको पहिलो साता मात्र रुपन्देहीको बुटवलमा

 

रहेको आरु इन्टरप्राइजेजले औषधी जस्तै देखिने क्याप्सुल र ट्यावलेट विना लेबलको आयात गरी अनाधिकृत लेबल लगाइरहेको फेला परेको थियो। लेबल विनाको क्याप्सुल ट्याबलेट अनाधिकृत आयात गरि मनोमानी ढ·बाट मूल्य, मिति सहितको लेबलको लगाइउको रहेको अवस्थामा फेला पर्नु गंभिरताको विषय बनेको छ ।
डि.डि.ए.ले यतिखेर दमौली, पोखराको बजारमा अनुगमन गरिरहेको बुझिएको छ । अनुगमन कर्ताहरुले वर्षको एक दुई पटक गर्ने अनुगमनलाई बाक्लो बनाएर नियमित गर्नु जरुरी छ । औषधी जस्तो संवेदनशील विषयमा राज्य थप जिम्मेवार सकृय रहन जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्: