पोखराका अटेरी विद्यालयहरु ! कहिले आँउछन् कानूनी दायरामा ?

यदुनाथ बन्जारा
27 July, 2022 11:27 am
Advertisements

पोखरा

१२ वर्ष अगाडिबाट नै राज्यले सरकारी तथा निजि विद्यालयहरुको पठन पाठन दिउँसोकोे सिफ्टमा मात्र गर्न निर्देशन गर्‍यो । तर टेरेनन्, १२ वर्षसम्म सरकारी संयन्त्रलाई निजि र सरकारी दुवै

विद्या

लयहरुले सरकारी नीति अवज्ञा गर्दै कानूनलाई ठाडो चुनौती दिदै आएका छन् । पटक पटक गरिएका परिपत्रहरु कागजी खोष्टा झै बनाइदिएका छन् ।

सरकारले शैक्षिक गुणस्तर वृद्धिका लागि मा.वि. तह अर्थात् १ देखि १२ कक्षासम्मको पढाई दिवा सत्रमा मात्र गर्ने गरी व्यवस्था मिलाउन निर्देशन गरेको थियो तर निजि तथा सरकारी विद्यालयहरुले अटेर गरेर विहान र दिवा गरी दुवै सत्रमा पठाउँदै आएका छन् । एउटा विद्यालयले दुवै सत्रको पढाई गर्दा विहानी सत्रमा पाठ्यभार समय (क्रेटिड अवार) पुग्न सक्दैन । पाठयक्रम विकास केन्द्रले तोकेको समय अनुसार एउटा सत्रमा कम्तिमा ५ घण्टा २० मिनेट पढाउनु पर्ने हुन्छ तर विहान पढ्ने विद्यार्थीले ६ बजे देखि १० बजेसम्म ४ घण्टा मात्र समय पाउँछन् त्यसमा पनि पढाई सुरु ६ः१५ बजेबाट र पढाइ विदा ९ः४५ बजे हुने गर्छन् त्यसो गर्दा साढे तीन घण्टामात्र कक्षा पढ्न पाउँछन् । स्पष्ट हुन आएको छ कि दुर्य सत्र पढाइ हुँदै आएका विद्यालयहरुको पाठ्यभार समय न्यून रहेको कारण शैक्षिक गुणस्तर खस्कन पुगेको छ ।
देशकै ठूलो महानगरको रुपमा परिचित पोखरा महानगरपालिकाका अधिकांस विद्यालयहरुले पनि सरकारी नीति नियमलाई अटेर गर्दै दुई सत्रमा पढाई गर्दै आएको पाइएको छ । संस्थागत विद्यालयहरुले सिमित स्रोत साधन र भौतिक पूर्वाधार प्रयोग गरेर वढि विद्यार्थीहरु पढाईरहेका छन् । व्यापारिक रुपमा नाफामुखी स्वार्थमा पाठ्यभार कम गरिँदा विद्यार्थीहरु ठगिएका छन् भने सरकारी तथा सामुदायिक विद्यालयहरुमा दुई सत्रमा दोहोरो जागिर खान पाउने भएका कारण सरकारी विद्यालय (सामुदायिक) हरु दुई सत्रमा विद्यालय संचालन गर्न लालायित देखिएको खुल्न आएको छ । दुई सत्रमा चलेका सामुदायिक विद्यालयलाई दिवासत्रमा मात्र चलाउन खोज्दा दुवै सत्रमा जागिर खाइरहेका शिक्षकहरुका कारण सत्र एकिकृत गर्न समस्या पारिरहेको गोप्य स्रोतले दावी गरेको छ ।

पोखराका सामुदायिक विद्यालयको के छ अवस्था ?

पोखराका सामुदायिक तर्फका ठूला विद्यालयहरु मध्य गनिने विद्यालयहरुनै पाठ्यभार समय नपुग्ने विहानी सत्रमा कक्षा ११–१२ पढाउँदै आएका छन् । पोखराको नमुना विद्यालय अमरसिंह मा.वि.मा विहानी र दिवा दुवै सत्रमा पढाई हुँदै आएको छ । विहानी सत्रमा मानविकी व्यवस्थापन र शिक्षा संकाय तर्फ पढाई भइरहेको र विज्ञान दिवास त्रमा पढाई गर्दै आएको छ । विद्यालयका प्रधानाध्यापक तेजस्वी वराल कक्षा कोठा अभाव भएका कारण विहानी सत्रमा पढाई गर्नु परेको बताउँछन् । देशकै धनी विद्यालयको सूचिमा रहेको अमरसिंह मा.वि. नै सरकारी नियम अटेरी गर्ने विदालयको पंक्तिमा रहेको छ ।
यस्तै पोखरा सिमलचौरको जनप्रिय मा.वि.ले पनि विहानी र दिवा सत्रमा पढाउँदै आएको छ । विद्यालयका प्रधानाध्यापक देविप्रसाद वस्ताकोटी विहानी सत्रमा ११/१२ कक्षाको व्यवस्थापन, मानविकी र शिक्षा विषयको र दिउँसो विज्ञान लगायतका अरु कक्षा दिउँसो पढाइ हुने बताउँछन् । महेन्द्र मावि नयाँबजारले पनि दुई सिफ्टमा पढाइ गर्दै आएको छ । पोखरा बहुमुखी क्याम्पस समेतको पढाई हुने भएकोले कक्षा कोठा अपुग भएकोले विहानी पढाइ गर्नु परेको प्रधानाध्यापक रामभक्त पौडेल स्वीकार्छन् ।
कालिका मा.वि. रामबजार पोखराले पनि विहानी सत्रमा व्यवस्थापन, मानविकी र शिक्षा पढाउँदै आएको र विज्ञान लगायतका विषय दिउँसो सत्रमा पढाउँदै आएको छ । कक्षा कोठा र जनशक्ति अभाव भएको विद्यालयका प्रधानाध्यापक वलराम गिरी बताउँछन् ।
तालवाराही मा.वि. वैदामले पनि राज्यको नीति अटेर गर्दै विहान र दिउँसो दुवै सत्रमा कक्षा चलाएको छ । कक्षा ११/१२ को व्यवस्थापन र शिक्षा विषय विहान पठाएको छ भने कक्षा १० सम्मको पढाई दिउँसो गराएको छ । अर्को वर्षबाट मात्र एकै सत्रमा पढाई गरिने प्रधानाध्यापक तारा प्रसाद पोखरेल बताउँछन् । उनि भन्छन् कक्षा कोठा र जनशक्ति अभाव छ ।
नेपाल शिक्षक संघ कास्कीका अध्यक्ष समेत रहेका भवानी कालिका मा.वि. विजयपुरका प्रधानाध्यापक रमेश भट्टराई कार्यरत विद्यालयमा पनि कक्षा ११–१२ विहानी सत्रमा सञ्चालित रहेको छ भने कक्षा १ देखि १० कक्षा सम्मको पढाई दिउँसोको सत्रमा हुँदै आएको छ । प्रधानाध्यापक भट्टराईले दिउँसोको एकै सत्रमा लाग्ने तयारी भइरहेको बताउँछन् । छोरेपाटन मा.वि.का प्र.अ. सँग प्रतिकृयाको लागि सम्पर्क गर्दा फोन उठेन ।
महेन्द्र मा.वि. भलामका प्रधानाध्यापक समेत रहेका शिक्षक महासंघ कास्कीका अध्यक्ष वोधराज पौडेल राज्यको निति नियम र महानगरको निर्देशन पालना गर्दै माध्यमिक तहको शिक्षालाई एकै सिफ्टमा पढाउने व्यवस्था तत्काल मिलाउन पर्ने बताउँछन् । विहानी सत्रमा पाठ्यभार समय नपुग्ने हुँदा गुणस्तरीय नतिजा आउन नसक्ने बताउँछन् । नीजि तथा सामुदायिक विद्यालयहरुमा एक रुपता ल्याउन अध्यक्ष पौडेलले सुझाव दिए ।
पोखरा महानगर शिक्षा महाशाखाले दिवा सत्रमा मात्र पढाइ संचालन गर्न भन्दै २०७८ फागुन २० गते लिखित निर्देशन जारी ग¥यो तर पनि विद्यालयहरुले टेर पुच्छर लगाएका छैनन् । पोखरा १ को राष्ट्रिय मा.वि., १३ को भद्रकाली मा.वि. र २२ को शुक्रराज मा.वि.ले यहि शैक्षिक वर्ष देखि विहानी कक्षा हटाएर दिवा सत्रमा पढाउने निर्णय लिएका छन् । शिक्षकहरुको विरोधका वावजुद यि तीन विद्यालयले राज्यका कानून र महानगरको निर्देशन पछ्याएको पाइएको छ ।
निजि विद्यालय (वोर्डिङहरु)ले विहानी सत्र कक्षा हटाउने तर्फ कुनै कदम उठाएको पाइएको छैन । पाठ्यभार समय तर्फ बोर्डिङ सञ्चालकहरुको ध्यान नजानुलाई विडम्वनापूर्ण रुपमा लिइएको छ । सिमित भौतिक संरचना प्रयोग गरेर असिमित विद्यार्थी पढाउने कार्यलाई नियमन गर्न एकैसत्रमा ल्याउनुको विकल्प देखिदैन ।
यस विषयमा पोखरा महानगरपालिकामा साउन ११ गते बुधबार दिउँसो ३ बजे मेयर धनराज आचार्यको उपस्थितिमा वैठक वोलाइएको वुझिएको छ । शिक्षा महाशाखाको आयोजनामा हुने बैठकमा सामुदायिक तथा संस्थागत विद्यालयहरु संलग्न हुने वताइएको छ । खासगरी संस्थागत विद्यालयहरुले शक्तिकेन्द्र प्रयोग गरी विहानी सत्र र दिवा सत्र दुवै कक्षा चलाउने गरी निर्णय गर्न दवाव दिन सक्ने स्रोतले दावी गरेको छ । पाठ्यभार पुरा हुनै नसक्ने विहानी सत्रलाई महानगरले कस्तो निर्णय गर्छ त्यो भने प्रतिक्षाको विषय भनेको छ । पोखरा महानगर शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्य ५ घण्टा २० मिनेट भन्दा कम समय पढाइ गर्ने गरी कुनै सत्र दिन नसकिने बताउँछन् । आशा गरौं आम विद्यार्थीको हित र शैक्षिक गुणस्तरको पक्षमा निर्णय आउने छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: