सेतो हात्ती बन्दै उपहारको गाडी, विद्यार्थीको पैसामा गण्डकी बोर्डिङको हाली मुहाली

यदुनाथ बन्जारा
16 August, 2022 8:56 pm
Advertisements

पोखरा

गण्डकी बोर्डिङ नेपालकै चर्चित र सुविधा सम्पन्नमा गनिन्छ । सरकारी अनुदान र विद्यार्थीहरुको शुल्क नै गण्डकी बोर्डिङको मुख्य आम्दानी हो । आम्दानी बढाउनकै लागि गण्डकी बोर्डिङले आवासिय (होस्टेल) मा बस्नेलाई भर्नाको प्राथमिकता दिदै आएको छ । होष्टेलमा बस्ने विद्यार्थीहरुले गर्ने प्रवेश परीक्षा पनि सहज बनाइएको छ जसको कारण आर्थिक स्रोत बलिया भएकाहरु कम नम्बर ल्याए पनि गण्डकी बोर्डिङ पढ्न पाउँछन् । विद्यार्थीलाई होस्टेल राखेर भएपनि गण्डकी बोर्डिङ एकेडेमिक नतिजासँगै आर्थिक स्रोत पनि बलियो बनाउन तल्लिन छ सञ्चित कोषको रकमले पनि यो तथ्य पुष्टि गर्न मद्दत पुग्छ ।
झण्डै साढे २ सय रोपनी भन्दा बढि सरकारी जग्गामा सार्वजनिक गुठी अन्तरगत सञ्चालित गण्डकी वोर्डिङको सञ्चित कोष मोटो भएपनि विद्यार्थीहरुसँग लिने भर्ना शुल्क, मासिक शुल्कमा सर्वसुलभ बनाइएको पाइदैन नाम निकालेका तर सर्वसाधारण आम नागरिकका छोरा छोरीका लागि पढ्न पढाउन त्यति सहज भने छैन ।
गण्डकी बोर्डिङ भौतिक स्रोत साधनले सम्पन्न छ । स्कर्पियो गाडी–१, टाटा सुमो १ र टाटाको भ्यान १ गरी शिक्षक कर्मचारीका लागि ३ वटा सुविधायुक्त गाडी र विद्यार्थीहरु ओसार्ने छुट्टै बसहरु छन् । यति सुविधा सम्पन्न भएर पनि गण्डकी बोर्डिङ प्रशासन सुविधा थप्नमै उद्दत रहेको पाइएको छ तर विद्यार्थीको शुल्क सर्वसुलभ बनाउन त के बढाउन केन्द्रीत देखिन्छन् यसै शैक्षिक सत्रबाट विद्यार्थीसँग लिने शुल्कमा २० प्रतिशत वृद्धि गरिएको छ ।


विद्यार्थीहरुसँग शुल्क बढाउने निर्णय गण्डकी बोर्डिङ संचालक समितिले गरेको छ । राष्ट्रियस्तरको विद्यालय दावी गर्ने गण्डकी बोर्डिङ स्कुल संचालक समितिको अध्यक्ष शिक्षा मन्त्रालयका सह–सचिव हुने प्रावधान छ । अहिले मन्त्रालयका सचिव दिपक शर्मा गण्डकी बोर्डिङका अध्यक्ष छन् । कास्कीका प्रमुख जिल्ला अधिकारी, महानगर शिक्षा महाशाखा प्रमुख, शिक्षा विकास समन्वय इकाइ रहेका छन् । सरकारी निकायका उच्च अधिकारीहरु नै संचालक समितिमा रहने गण्डकी बोर्डिङ स्कुलले शुल्क सरलिकरण गर्नु सट्टा शुल्क वृद्धि गर्नु आम सर्वसाधारण नागरिकको पहुँचबाट टाढा पार्दै लान खोजेको बुझ्न सकिन्छ ।
सञ्चित कोषमा रकम वृद्धि गर्न र स्कुलका माथिल्ला व्यक्तिले सुविधा लिने उद्देश्यले विद्यार्थी सँग लिने शुल्क वृद्धि गरिएको वुझ्न सकिन्छ । सरकारी कर्मचारी समितिमा प्रत्यक्ष संलग्न रहेको गण्डकी बोर्डिङ स्कुलले कक्षा ११ को भर्ना शुल्क मात्र ३४ हजार र धरौटी १२ हजार पाँच सय छ भने कक्षा ११ र १२ को मासिक शिक्षक शुल्क ३९०० छ । कक्षा ४ र ५ मा २८००, ६ देखि १० कक्षासम्म ३२०० मासिक शुल्क तोकिएका छ यसमा यो वर्षबाट २० प्रतिशत वृद्धि गरिएको छ ।
शुल्क वृद्धिले सञ्चित कोष मात्र हैन प्राचार्य लगायतको सुविधा वृद्धि पनि गरिएको छ । ३ वटा गाडी भइरहेको ठाउँमा शिक्षा मन्त्रालयबाट २० वर्ष पुरानो निशान पेट्रोल गाडी ल्याउन गण्डकी बोर्डिङका प्राचार्य विरेन्द्र खड्का सफल भएका छन् तर त्यो गाडी यति खेर मर्मत खर्च वेहोर्न सेतो हात्ती पाले जस्तै कठिन बन्न पुग्ने देखिन्छ ।
खर्च गरी मर्मत गरिएको विषयमा कर्मचारी वृत्तमै असन्तुष्टि रहेको बुझिन आएको छ । मर्मत खर्चको कोटेशन नलिइ मर्मत खर्च गरिएको र मर्मत खर्चको अस्वभाविक विल आएपछि वल्ल कोटेशन कागज तयार गरिएको भन्दै भुक्तानी समस्या आएको थियो । झण्डै ८ महिना भुक्तानी रोकिए पनि यसै वर्ष साउनमा भुक्तानी भएको बुझिन्छ । त्यति खर्च हुँदा पनि उक्त गाडीले राम्रो काम गर्न नसकेको र ग्यारेजमा थन्किएर रहेको अवस्थामा छ । जिर्ण गाडी उपहारको रुपमा ल्याउनुको अर्थ मर्मत खर्चका नाममा आर्थिक कमिशन पो हो की भन्ने शंकाको फाइदा सृजना गराएको छ ।
सार्वजनिक गुठी अन्तरगत चलेको बोर्डि· स्कूललाई सरकारी प्लेटको गाडी उपहार दिएको विषय पनि अर्थपूर्ण रहेको बुझिन्छ । आजसम्म गण्डकी बोर्डिङले सरकारी सुविधामा स्कूल बसहरु समेत किन्न पाएको छैन तर शिक्षा मन्त्रालयले सरकारी गाडी बोर्डिङलाई दिएको विषय शिक्षक कर्मचारी वृत्तमै चर्चाको विषय बनेको छ । सेतो हात्ती जस्तो बन्न सक्ने सरकारी प्लेटको निशान पेट्रोल गाडी किन ल्याएर एकै पटकमा झण्डै पौने सात लाख रुपैयाँ खर्च गर्नु भएको त भन्ने हाम्रो जिज्ञाशामा गण्डकी बोर्डिङका प्रिन्सिपल विरेन्द्र खड्काले सरकारी कर्मचारीहरु आउँदा चढ्न ल्याइएको बताए ।
८ महिना अघि निर्माण गरिएको तर सार्वजनिक खरिद प्रकृया पुरा नगरेको भन्दै कार्यालय भित्रै विरोध आएको थियो । यद्दपि नयाँ आव लागे लगत्तै बजेट थप गरेर भुक्तानी दिइएको छ । यस बारेमा सत्य तथ्य छानविन हुन सके के मक्सद थियो भन्ने यथार्थ चित्र बाहिर आउने अपेक्षा गरिएको छ । जनताको छोरा छोरीबाट उठाएको शुल्कमा भारी वृद्धि गरेर सुविधा सम्पन्न जीप कार किन्नुलाई किमार्थ राम्रो मान्न सकिदैन ।

विद्यार्थी भर्नामा पनि भेदभाव

गण्डकी बोर्डिङले महानगरले पठाउने छात्रवृत्तिको नतिजा नहुँदै महानगर छात्रवृत्ति कोटामा उधारो भर्ना लिएको पाईएकोछ । महानगरकै जनप्रतिनिधिले आफ्नो छोरालाई नतिजा नआउँदै निःशुल्क भर्ना गराउन सफल भएको सम्वद्ध विस्वस्त स्रोतले बताएको छ। गण्डकी बोर्डिङका प्राचार्य विरेन्द्र खड्काले शुल्क नलिई भर्ना गर्नु भन्ने तोक लगाएपछि आजसम्म उधारो भर्ना नगर्ने गण्डकी बोर्डिङले थिति विगार्ने कार्यमा रेकर्ड तोड्न पुगेको छ ।
गण्डकी बोर्डिङ स्कुलका सूचना अधिकारी सहायक प्राचार्य यज्ञराज शर्मासँग प्रतिकृया लिंदा आजसम्म कसैको पनि छात्रवृत्तिमा उधारो भर्ना नगरिएको बताए । छात्रवृत्ति मा लड्नेहरुले प्रतिक्षामा बस्नु पर्छ । छात्रवृत्ति सूचिमा नाम आए पछि मात्र निःशुल्क भर्ना गर्ने गरिन्छ । शुल्क तिरेरै भर्ना भएकाहरुको नाम छात्रवृत्तिमा आएको खण्डमा पनि हामी भर्ना गरेको पैसा फिर्ता गर्दनौ यो हाम्रो स्कुलको नीति हो सूचना अधिकारी शर्माले भने । यसै सत्रमा तोकको भरमा निःशुल्क भर्ना भएको हो भन्ने सम्बन्धमा त्यस बारेमा मैले हल्ला मात्र सुनेको हुँदा एकिन कुरा लेखामा बुझ्नुस् वा प्राचार्यसँग बुझ्नुस् शर्माले भने ।
लेखा शाखाले प्राचार्यको तोक आदेश मान्नु कर्तव्य रहेको भन्दै अप्रत्यक्ष स्वीकार गरेको छ ।
गण्डकी वोर्डिङ जस्तो प्रतिष्ठित शैक्षिक प्रतिष्ठानले नीतिको खिलाफमा काम गर्दै जाने हो भने आउँदा दिनमा त्यसले कस्तो पाठ सिकाउँला ?

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: