गण्डकी बोर्डिङले गर्‍यो होम सेन्टरको दुरुपयोग, कपि साटेर पासलाई फेल, फेललाई पास !

सराङकोट न्यूज
6 September, 2022 9:07 pm

पोखरा

देशकै चर्चित राष्ट्रियस्तरको गण्डकी बोर्डिङ यतिखेर विवादको पोखरीमा डुवुल्की मार्दै छ । सार्वजनिक गुठी अन्तरगत चलेको गण्डकी बोर्डिङले देशभरीबाट छानेर परीक्षार्थी पढाउँदै आएको छ । केहि वर्ष अघिसम्म उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयको पछिल्ला वर्षहरुको एकेडेमिक नतिजा खस्कने क्रममा रहेको भन्दै शिक्षाप्रेमीहरुले चिन्ता व्यक्त गर्दै आएका छन् ।
गण्डकी बोर्डिङका कतिपय शिक्षकहरुले विद्यार्थीको शैक्षिक गुणस्तरमा लाग्नु भन्दा विद्यार्थीको कपिको सिम्वल नम्वर साटेर, फेललाई पास, पासलाई फेल गराउने धन्दामा स्वयं सह–केन्द्राध्यक्ष नैलागेको रहस्योद्घाटन भएको छ । कोरोनाको कारण २०७८ सालको कक्षा १२ को परीक्षा होम सेन्टरले नै लिने निर्णय वमोजिम गण्डकी बोर्डिङले लिएको गणित विषयको परीक्षामा सामेल भएका मध्य दुई विद्यार्थीको उत्तर पुस्तिका (कपि) परिवर्तन गर्ने हर्कत सोही विद्यालयका सहायक केन्द्राध्याक्ष झपिन्द्र अधिकारीले गरेको बुझिन् आएको छ । सहायक केन्द्राध्यक्ष अधिकारीले सोही विदालयका कर्मचारीका जेहेन्दार छोराको उत्तरपुस्तिकाको सिम्वोल नम्वर र कपि नम्वर समेत कलमले केरेर अर्को कमजोर विद्यार्थीको सिम्वोल नम्वर र कपि नम्वर सट्टा पट्टा गरी कपि परीक्षणका लागि राष्ट्रिय परीक्षा बोर्ड पठाएको खुल्न आएको छ ।
कपिमा सिम्वल नम्वर साटिएको कुरा नतिजा प्रकाशन भएपछि पत्ता लागेको थियो । जेहेन्दार विद्यार्थीले आफ्नो नम्वर अपत्यारिलो हुने गरी कम आएपछि दुई हजार राजस्व तिरेर कपि परीक्षण गर्दा आफ्नो सिम्वल नम्वर भनि निकालिएको कपि आफ्नो हस्ताक्षरको नभएको र आफ्नो सिम्वल नम्वर कलमले काटेर अर्केको सिम्वल नम्वर लेखिएको फेला परेको थियो ।
यसरी फेरिएको नम्वरबाट आफ्नो मार्क जम्मा ३६ नम्वर मात्र आएको थियो जवकी परीक्षा बोर्डले वास्तविक परीक्षार्थीको कपि पहिल्याउँदा पीडित जेहेन्दार व्यक्तिको नम्वर ५७ आएको पुष्टि हुन आएको थियो । एक कान दुई कान घटना बाहिरिदै गयो । पीडित विद्यार्थीको अभिभावक गण्डकी बोर्डिङका एक कर्मचारीसँग हामीले प्रतिकृया लिँदा आफ्नो छोरा माथि सहायक केन्द्राध्यक्षले घोर अन्याय गरेकोले कानून बमोजिम कारवाही हुन आफ्नो माग रहेको बताए ।
राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको मर्यादा विपरित कार्य भएको बारे प्रा.डा. चन्द्रकला घिमिरेको संयोजकत्वमा छानविन कार्यदल गठन गरी गण्डकी बोर्डिङका सहायक केन्द्राध्यक्ष झपिन्द्र अधिकारी, केन्द्राध्यक्ष प्राचार्य विरेन्द्र खड्का लगायत परीक्षासँग सम्बन्धित शिक्षक कर्मचारीसँग बयान लिई झण्डै एक हप्ता छानविन गरेर बोर्डलाई प्रतिवेदन दिइसकेको राष्ट्रिय परीक्षा बोर्ड पोखराका प्रमुख विष्णु नारायण श्रेष्ठले बताए । प्रतिवेदन केहि महिना अगाडि दिइसक्दा पनि निर्णय सुनुवाई गर्न परीक्षा बोर्डले ढिलाई गरेको कुरा थप रहस्यमयी बन्दै गएको छ ।
यता मुख्य आरोपी पात्र गण्डकी बोर्डिङका सहायक केन्द्राध्यक्ष झपिन्द्र अधिकारीले घटनाबाट जोगिन २०७८ फागुनमा राजिनामा दिए । आरोप टुंगो नलागे सम्म राजिनामा स्वीकृत गर्न हुन्न भन्ने शिक्षक कर्मचारी वृतमै चर्चा चल्यो तर करिव जेठ तिर झपिन्द्रको राजिनामा प्राचार्यले स्वीकृत गरे झपिन्द्र तत्काल जापान उडे ।
को को दोषी छन् राष्ट्रिय परीक्षा बोर्डको निर्णय सुनुवाई भएपछि खुल्ने नै छ । प्राचार्य केन्द्राध्यक्ष भएर संचालन हुने जुनसुकै घटना, परिघटनाको नैतिक, प्रशासनिक जिम्मा प्राचार्यले लिनुपर्ने प्रावधान छ । कमजोर विद्यार्थीलाई कपि साटेर राम्रो नम्वरमा पास गराउने खेलको गिरोह को को संलग्न छन् ? त्यस्तो अमर्यादित कानून विपरित र अनैतिक कार्य गर्न कसले निर्देशन दियो ? के उद्देश्यले घृणित चलखेल भयो ? एउटालाई डुवाएर अर्कोलाई उकास्दा कति आर्थिक चलखेल भयो ? सत्य तथ्य निस्पक्ष र पत्यारलाग्दो नतिजा राष्ट्रिय परीक्षा बोर्डले दिनु पर्छ ।
शिक्षा मन्त्रालयका सहसचिव संचालक समितिको अध्यक्ष हुने गण्डकी वोर्डिङका सदस्यमा प्रमुख जिल्ला अधिकारी, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख, शिक्षा महाशाखा प्रमुख सदस्य रहने गण्डकी बोर्डिङ यसै पनि सार्वजनिक ओहोदाको निगरानीमा चल्ने सार्वजनिक गुठी विद्यालय हो । राज्यको जिम्मेवार व्यक्तिहरु बसेको राष्ट्रिय विद्यालय भित्रैको परीक्षामा भएको गैह्रकानूनी कार्य उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको बुझिएको छ । अख्तियारले सत्यतथ्य छानविन गरी न्याय दिनेमा आशावादी हुनेहरुको संख्या पनि उल्लेख्य रहेको छ ।
नतिजा जति पछि उति विग्रदै गएको छ गण्डकी बोर्डिङको । यस वर्ष कक्षा १२ मा १५२ जनाले परीक्षा दिएकोमा ४१ जना फेल भएका छन् । २ जना विद्यार्थीले मौका परीक्षा समेत दिन नपाउने गरी फेल भएको विषयले देशभरबाट छानिएर आउने विद्यार्थी पढाउने गण्डकी बोर्डिङ प्रति आम नागरिकले चिन्ता व्यक्त गरेका छन् । गण्डकी वोर्डिङ पोखराको गर्व गौरवशाली शैक्षिक प्रतिष्ठान हो यसलाई विवादरहित बनाएर सञ्चालन गराउन सञ्चालक समिति, एसएमटी, स्थानिय समुदाय, विद्यार्थी अभिभावक र शिक्षा प्रेमीले गंभिरतापूर्वक सोच्न जरुरी छ । त्यसको लाग दण्ड र पुरस्कारको नियम लागु गर्नु आश्यक छ । राष्ट्रिय परीक्षा बोर्ड र अख्तियारको छानविनको नतिजालाई प्रतिक्षा गर्नुको विकल्प छैन ।

३ वर्षमा गण्डकी बोर्डिङ भित्र करिव १ सय रुख विना अनुमती काटिए

१० औं लाखको काठ साढें तिन लाखमा विक्री

नेपालको वन सम्बन्धि कानुनलाई कडा मानिन्छ । आफ्नै घर जग्गा छेउछाउमा नम्वरी जग्गाका कु काठ (चिलाउने–मौवा) काट्न पनि वन कार्यालयको अनुमती लिनु पर्छ, वेचविखन गर्ने भए सरकारलाई राजस्व तिरेपछि मात्र अनुमती पाइन्छ । यो भयो कानूनका कुरा अर्थात् विधिको शासन ।
पोखरामा रहेको गण्डकी बोर्डिङले नेपालको कानून मान्दैन । कानून नमान्ने कुरा उसले गरेको काम कारवाहीबाट प्रस्ट खुलेको छ । सरकारी स्वामित्वको जग्गामा चलेको गुठी बोर्डिङ स्कुल हो गण्डकी वोर्डिङ । सरकारी जग्गामा रहेका झण्डै ८० बटा ठूला रुखहरु काटेको विस्वस्त स्रोतले वताएको छ । वडेमानका रुखका फेद साक्षी छन् अझै । गोलिया काठका टिम्वरहरुको तस्विर सुरक्षित छ हामीसँग । काठ हुने डंगुर मुडाहरुका फेहरिस्त कैद छन् हाम्रो क्यामेरामा २०७६ साल जेष्ठ देखि २०७९ असार सम्म का तीन वर्षमा गण्डकी वोर्डिङ उजाड बनाइएको छ । २०७६ साल फागुनमा ४०÷४५ वर्षे रुख र साना वुटा गरी ६ वटा रुख काटिएको छ । २०७७ असोजमा १० वटा ठूला रुख पुषमा १ वटा, माघ २०७७ मा ६ वटा, २०७८ को असारमा मात्र स्वीमिङ मुल पश्चिम तर्फ करिव १ दर्जन रुख, २०७८ असारमा २ वटा सिमलका रुख, असारमै १३ वटा सिसौ र १ सल्लाको रुख, सिमलको रुख, तल्लो भेगतर्फ ४ वटा पुराना रुख गरी करिव ८० वटा हरिया जिउँदा रुख हरु काटिएका छन् ति रुखहर चाप, सिमल, टुनी र सिसौका रुखहरु रहेको स्थलगत अध्ययन गरेमा पुष्टि हुने छ ।

कहा बेचियो काठ ?

हरिया जिउँदा रुख करिव ७८ सुकेका ठूला रुखहरु ८ वटा र मुण्डन गरिएका झण्डै २० वटा रुखहरुको फेद बाहेक गण्डकी वोर्डिङ भित्र केहि भेटिदैन । सगला, अग्ला र मोटा रुखहरु काठमा प्रयोग हुन्छन् त्यो पनि संरक्षित रुख सिमल, चाप र सिसौका काठ १० औं लाख भन्दा बढीको हुन आउनेमा पोखरा–१६ स्थित महेन्द्रगुफा छेउको एक फर्निचरलाई जम्मा साढे तीन लाखमा कुतमोलाई गरी विक्री गरेको वुझिएको छ ।
सरकारी जग्गा हो गण्डकी बोर्डिङको जग्गा । संचालक समिति पनि सरकारी उच्च अधिकारी छन् । यति सम्मकी सरकारी रुख हटाउने समितिका सदस्य प्रजिअलाई समेत रुख काटेको बेचेको केहि थाहा छैन । डिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत रामकाजी श्रेष्ठले आफूलाई चाहिने जोखिमपूर्ण मात्र काट्नुहोस् अरु विक्रिका लागि नकाट्नुस् भन्ने निर्देशन दिएको गण्डकी बोर्डिङका प्रशासकिय अधिकृत लोक बहादुर थापाले बताए । तर विडम्वना वन कार्यालयको निर्देशन र राज्यको निति विपरित रुख भटाभट काटियो सुटुक्क वेचियो ।
सरकारी रुख हटाउने कार्यविधि २०७० वन विभागले वनायो । २०७६ मा संघिय वन ऐन आयो । कार्यविधि संसोधन २०७६ मा भयो । उक्त कार्यविधिले सरकारी जग्गामा रहेका रुखहरु हटाउने कानूनी प्रावधान तोकेको छ ।


डिभिजन वन अधिकृत संयोजक र जिल्ला प्रशासन कायाृलय, मालपोत कार्यालय, नापी कार्यालय, भूसंरक्षण कार्यालय जिल्ला समन्वय समिति र महानगरपालिकाले तोकेका अधिकृत सदस्य रहने प्रावधान छ । उक्त समितिले माग भई आएका सरकारी रुख हटाउने कार्यालय वा सडक, योजना निर्माण स्थलमा रहेका रुख वुटा हटाउन पर्ने नपर्ने एकिन गरी हटाउनु पर्ने देखिएमा वनका प्राविधिकले नापजाँच गर्ने र ल.ई. तय गरी काटिएका रुखका काठ सूचना निकाली लिलाम गर्ने र लिलामबाट आएको रकम वन कार्यालयको राजस्व खातामा जम्मा गर्नु पर्ने हुन्छ डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले बताए ।
तर गण्डकी वोर्डिङले अनुमती नलिई काटेका रुखहरु आफूखुसी विक्री गरी उक्त रकम गण्डकी वोर्डिङले खर्च गरेको पाइएको छ । वन कार्यालयले गण्डकी वोर्डिङ भित्रका रुखहरु के कति काटिए तत्काल मुचुल्का गरी कानून वमोजिम कारवाही गर्न जरुरी देखिन्छ । जिम्मेवार सरकारी उच्च अधिकारी संचालक समिति रहने गण्डकी वोर्डिङ भित्र भएको रुख कटान गरी मोटो कमिशन लिई कम मूल्यमा गोलिया मिण्डा विक्रि गरेको तर्फ अख्तियारको निस्पक्ष छानविन हुनु जरुरी छ ।

 

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: