बाग्लुङ ट्राफिकको असुली धन्दा, पोस्टै पिच्छे असुलीको गन्ध

यदुनाथ बन्जारा
2 November, 2022 11:09 am
Advertisements

पोखरा

वुर्तिवाङबाट नियन्त्रणमा लिएको चरीको मोटरसाइकल कारवाहीको लागि बाग्लुङ ट्राफिक कार्यालय पठाइयो तर बाग्लुङ ट्राफिक प्रहरीले सवारी धनी खोज तलास र आवश्यक कारवाही गर्न छोडेर सरकारी अस्पतालमा काम गर्ने डाक्टरलाई उपहार स्वरुप चढ्न दिइयो । उक्त प्रकरण झण्डै एक महिना पछि सराङकोटले स–प्रमाण समाचार प्रकाशन गर्‍यो । डाक्टरले ल ३ प ९०८१ नम्वर लेखिएको उक्त मोटर साइकल सुटुक्क जिल्ला ट्राफिक कार्यालयमा फिर्ता गरे । जिल्ला ट्राफिक प्रमुख प्र.ना.नि. राजकुमार के.सी.ले फस्ल्याङ फुस्लुङ जवाफ दिएर प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखरालाई चित्त बुझाएको पाइयो । झण्डै १ वर्ष अघि जनपद प्रहरीमा ईप्रका वरेङडाँडा सरुवा भएका सई राजकुमार के.सी. वागलुङ ट्राफिक इञ्चार्ज भै अझै कार्यरत छन् । ट्राफिक प्रहरीबाट जनपद प्रहरीमा सरुवा भएर पनि जान नखोज्नु, पठाउनेले पनि पठाउन नचाहानुको पछाडि के कारण होला आम नागरिक देखि प्रहरी वृत्तसम्म राम्रै चर्चा हुने गरेको छ । प्रहरीमा सरुवा भएपछि हप्ता भित्रै आफ्नो पोस्टिङ भएको ठाउँमा रमाना लिएर जाने परिपाटी नै छ तर कतिपय ठाउँहरुमा भने सरुवा भएपनि लिसो जस्तै टाँसिएर बस्न रुचाउँछन् त्यसको कारण आर्थिक उपार्जन नै हुने अड्कल गरिएको छ । यसरी उपार्जन हुने कमाई तालुक अड्डा सम्म पुग्ने गरेरै होला हाकिम सापहरु सुनको फुल पार्ने कुखुरी जस्तै साविककै अड्डा मै काजको नाममा सुरक्षित रहन्छन् संरक्षित हुन्छन् ।
वाग्लुङ ट्राफिक प्रहरी प्रमुख प्र.ना.नि. राजकुमार केसी संरक्षित छन् । आरोप जे सुकै लागोस् उनलाई तालुक अड्डा प्रदेश प्रहरी र प्रदेश ट्राफिकले चलाउँदैन । उनको ठाउँमा अर्को इञ्चार्ज पनि पठाउँदैन । केसीको फूर्तिफार्ती उस्तै छ बाग्लुङमा । सरुवा भएको ठाउँमा जाने कि नजाने मेरो इच्छामा भर पर्छ । सइ केसीले सराङकोटसँग भनेका थिए । प्रहरीको नियमलाई उनले सिधा चुनौती नै दिएर बाग्लुङ इञ्चार्जबाट डेग चलेका छैनन् उनी ।

ट्रिपरलाई छुटै छुट

मध्यपहाडि लोकमार्गमा चल्ने कतिपय ट्रिपरहरुको व्लु बुक पनि छैन, रुट परमिट पनि छैन तर निर्वाध चल्न छुट प्राप्त छ ती कानून विपरितका ट्रिपरहरुलाई । कालो प्लेटमा नम्वर टाँसेका ट्रिपर हरुको परमिट कागज कस्तो छ, कहाँको छ थाहा छैन ट्राफिक प्रहरीलाई चेक जाँचका क्रममा कुनै ट्राफिक प्रहरीले मध्यपहाडी लोकमार्गको काममा चलेका ति ट्रिपरका चालक अनुमति पत्र नियन्त्रणमा ल्याइहाल्यो भने कागज पत्र नभएका चालक हैन कागजपत्र कारवाहीका लागि नियन्त्रणमा लिनेले खप्की खानु पर्छ । बाटैबाट ससम्मान फिर्ता दिनुपर्छ । वागलुङ ट्राफिक प्रमुखले किन त्यसो गरे ? त्यसबाट व्यक्तिगत रुपमा जे जति फाइदा भएपनि कानून कार्यान्वयनमा त्यसले राम्रो सन्देश दिएको छैन । ग १ ख ७८४८ मध्य पहाडि लोकमार्गको काममा चल्ने एउटा ट्रिपर हो तर गण्डकीमा दर्ताभएको उक्त ट्रिपरको रुट गण्डकी यातायात कार्यालयमा रहेको छैन । यो एउटा नमुना हो । यस्ता झण्डै एक दर्जन गाडी विना रुट चलेका छन् तर कारवाही दायरामा आउँदैनन् । प्रहरीको तल्लो तहसम्म यस विषयमा भुसको आगो झै धुवाइरहेको छ तर नियामक निकायको मौनता रहस्यमय छ ।

पोस्टै पिच्छे असुली

बाग्लुङ जिल्ला भित्र विभिन्न आठ वटा अस्थायी ट्राफिक पोष्ट रहेका छन् । ति पोस्टहरुमा रहेका ट्राफिकहरुबाट मासिक किस्ता असूल्ने गरिएको सूचना गोप्य स्रोतले सराङकोटलाई उपलब्ध भएको छ । ति पोष्ट मध्य जिल्ला प्रवेशको मुल नाका मालुढुंगा ट्राफिक पोष्टको किस्ता मासिक २० हजार रहेको बताइएको छ । यो मुख्य र महंगो पोष्ट हो । दोस्रोमा वुर्तिवाङ ट्राफिक पोष्ट रहेको छ त्यहाँबाट मासिक १५ हजार जिल्ला इञ्जार्चलाई किस्ता बुझाउनु पर्छ । यस्तै हटिया अक्षेते पोष्टले पनि १५ हजार बुझाउनु पर्ने स्रोतले दावी गरेको छ । खर्वाङ पोष्टले १० हजार मासिक किस्ता दर तोकिएको छ भने ग्यालेचौर, वलेवा र कुश्मीशेरा ट्राफिक पोष्टमा जानेले मासिक ५ हजार किस्ता बुझाउनु पर्ने स्रोतले बताउँछ । ८ वटा पोष्टबाट मासिक ९० हजार रुपैयाँ असुल गर्ने गरेको गन्ध आएको छ ।
हावा नचली पात हल्लिदैन भन्ने उख्खान यसै चलेको हैन । तालुक निकायले विशेष सयन्त्र प्रयोग गरेर शुक्ष्म छानविन गर्ने हो भने केहि दिनमै असुली काण्डको गुह्य भेद पर्दाफास हुने अपेक्षा गरिएको छ । प्रदेश ट्राफिक कार्यालयका सूचना अधिकारी प्र.ना.उ. इन्द्र सुवेदीसँग प्रतिकृया लिँदा विवादमा आएको विषयमा छानविन गरी दोषी पाइएका कारवाही गरिने बताए । यस अघि चोरीको बाइक डाक्टरलाई प्रयोग गर्न दिएको प्रकरणका सम्बन्धमा अनुसन्धान भईरहेको सूचना अधिकारी प्र.ना.उ सुवेदी वताए ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: