के यहि हो मितव्ययिता ? मेयर साहेप कुरा नचपाउनुस् न !

सराङकोट न्यूज
25 January, 2023 1:00 pm
Advertisements
Advertisements

पोखरा

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई कस्तो वनाउँलान ? यो आम नागरिकको चासोको विषय हो । हरेक नागरिकले आफ्नो महानगरको सफलता चाहेका हुन्छन् । नगर सफलताको मुख्य सम्वाहक नगरपिता अर्थात् मेयर नै हुन् । आफ्नो महानगरको मेयर काठमाडौं, धरान, सूर्योदय, धनगढी नगरका भन्दा अब्बल र चर्चित होस् भन्ने चाहान्छन् पोखरेली नागरिकहरु ।
आम नागरिक मध्य म पनि एक हुँ । पेशाले कलमजिवी भएपछि पेशाको मर्म र कलमको धर्म निभाउनु मैले आफ्नो कर्तव्य सम्झन्छु । म चाहान्छु हाम्रो महानगर विधि र प्रकृयामा चलोस्, सुशासन र सदाचारको लागि नमुना महानगर बनोस् । जनप्रतिनिधि र कर्मचारीहरु मितव्ययी बनुन् । फजुल खर्च गरेर नागरिकको रगत, पसिना र आसुँमा होली नखेलियोस् । कानुन कार्यान्वयनमा आफ्ना र विरानो, ठूला र साना, शक्तिशाली र निरिहका आधारमा विभेद नगरियोस्, विधिको साशनमा निरपेक्ष ढंगले प्रस्तुत भएको देख्न र सुन्ने अवसर पाइयोस् भन्ने अपेक्षा राख्नु मैले कर्तव्य सम्झेको छु । त्यसैले कलमले तितो सत्य ओकल्न खोज्छ ।
हो पोखरा महानगरपालिका लाई असल मार्गमा हिड्न बाटो देखाउन हाम्रो पहल रहन्छ । त्यसैको परिधिमा रहि हामीले गत अंकमा आन्तरिक सुशासनका वारेमा कलम चलाउने जमर्को ग¥यौ । उजुरीको चाङ्मा पोखरा महानगर, तर पनि छैन सुशासनको छनक” शिर्षकमा खोज खबर ग¥यौं । पोखरा महानगरका दोस्रो मेयर धनराज आचार्यले वितेका ८ महिनामा गरेका कार्यशैली प्रति उठेका केहि विषयहरु उठायौं ।
हामीले उठान गरेका विषय मध्य महंगो सचिवालय र मेयरले लिएको १ लाख ८१ हजारको मोबाइलको बारेमा मेयर धनराज आचार्यले फेसबुक लाइभ मार्फत् विहिबार तिखो टिप्पणी गरेका छन् । उनले आफूले लिएको मोवाइल दुई लाखको हो कि दुई हजारेका हो कि ५ रुपैयाको हो कि मलार्ई थाहा पनि छैन त्यो सचिवालयले लिइदिएको मोवाइल हो भनेका छन् । आफूले प्रयोग गरेको सुविधा सम्पन्न मोबाइल वारे कुनै जानकारी नै नभएको भन्दै नागरिकलाई हाक्काहाक्की ढाँटेका छन् ।
महानगर पिताले हैन मितव्यसिता वा मनोमानी खर्च मध्य कुन निति लिने भन्ने बारेमा सचिवालयलाई निर्देशन दिने ? नत्र सचिवालय कसको आदेशले चल्छ ? हामीले महानगरकै जिन्सी खाताको अभिलेखको आधारमा प्रमाण लिएर समाचार छापेका छौं । मेयरका नाममा १ लाख ८१ हजार (चार्जर २५ सय सहित को एउटा र ५९ हजारको अर्को गरी दुई लाख ४० हजार को मोवाइल लिएको जिन्सी अभिलेख छ (प्रमाण हेर्नुस् फोटोमा) तर मेयरले उक्त मोबाइल आफूले नलिएको फेसबुक लाइभमा वताएका छन्। त्यसो भए जिन्सी अभिलेख झुट्टा हो त ? या मयरको नाममा लिएको मोवाइल कहाँ छ ? कसले लिएको छ ? नागरिकलाई यथार्थ जवाफ चाहिएको छ ।
मेयरको सचिवालय चुस्त हुनुपर्छ,मितव्ययी हुनुपर्छ भन्नु अपराध हो ? रातो प्लेट लेखेको महानगरको ग १ च ५२५० नम्वरको जिप कसले प्रयोग गर्छ ? किन त्यो गाडीलाई सरकारी नम्वर राखिएन निजि नम्बरमै राखियो ? स्वकिय सचिव खेमराज आचार्यको नाममा २०७९ जेठमा ४९ हजार पर्ने र असारमा अर्को ए प्लस मोवाइल, एप्पलको २ लाख ५६ हजार पर्ने ल्यापटप कार्तिक २९ गते गएको देखिन्छ, वेनेली मोटरसाइकल समेत लागिएको देखिन्छ के त्यो फजुल खर्च भित्र पर्दैन ? जनताले लाखौंको सुविधा लिन पठाएका हुन त ?
अझ अचम्म लाग्दो कुरा आर्थिक अनुसशान कायम राख्न चुनिएका लेखा समितिका संयोजक वडा नं. २१ का वडा सदस्य झपट रानाभाट स्वयम् फजुल खर्च गर्न उद्दत रहेको पाइएको छ । एउटा वडा सदस्य लेखा समिति संयोजकले मोवाइल, ल्यापटप, स्कुटर सुविधा लिएको भेटिएको छ । यहि आधार बनाएर महानगरका अन्य उपसमितिहरुले सुविधा माग गरेमा करोडौं रुपैयाँ जान सक्ने तर्फ किन ध्यान गएन ? कुन ऐन, नियमले त्यस्तो दान गर्न निर्देशन दिएको छ त्यसको स्पष्ट जवाफ आउन आवश्यक छ । जनप्रतिनिधि वडा सदस्य वा विभिन्न उपसमितिमा रहेकाहरुलाई सुविधा दिन प्रदेश सरकारले के कस्तो कानुनी व्यवस्था गरेको छ ?
मेयर सापलाई यो पनि थाहा छैन कि आफैलाई आफ्नै नामबाट झिकिएको सुविधा त अविज्ञता दावी गर्ने नगरपितालाई आफ्ना जनप्रतिनिधि र कर्मचारीले के के सुविधा लिए ? के कति फजुल खर्च गरे त्यो उचित हो कि हैन भन्ने बारेमा कसरी थाहा होस् ।
तपाई सफल हुनै पर्छ । पोखरा महानगरका मेयरलाई असफल हुने छुट छैन किनकि तपाई असफल हुँदा नगर डुव्छ नगर डुव्दा हामी ५ लाख नागरिक डुव्छौ तसर्थ फेसवुकबाट पत्रकारलाई गाली गर्नु भन्दा आफू र आफ्नो टिम कति सहि बाटोमा हिडेका छ भन्ने बारेमा क्लोज क्याम्प राखेर समिक्षा गर्नुहोस् अझै वाँकी छ ४ वर्ष ४ महिना । यो प्रयाप्त समय हो सफलताका लागि । पत्रकारले गलत र भ्रमपूर्ण समाचार लेखेका छन् भने कारवाही गर्ने मार्ग खुल्ला छन् । हामी कानुन वमोजिम सहन भोग्न तयार भएर कलमी औजार उठाएका छौं । जय होस् ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: