वडा कार्यालय बन्द गरेर घुमफिरमा जाँदा सेवाग्राही मर्कामा, महानगरको रहस्यमयी मौनता

सराङकोट न्यूज
21 February, 2023 9:25 am
Advertisements
Advertisements

पोखरा

फागुन महिनामा सार्वजनिक विदाका कारण जनता हैरानी खेप्न वाध्य छन् । राज्यबाट पाउने सेवा लिन महंगो सावित भएको छ । विदा दिने कार्यमा नेपालमा रहेका तीनै सरकारको बृहत्तर प्रतिस्पर्धा छ । केन्द्रीय सरकारले एकै चुट्कीमा देशै बन्द गर्छ । प्रदेश सरकार पनि सानो तिनो बहाना जोडेर सार्वजनिक विदा गरेर प्रदेशका सरकारी तथा सार्वजनिक कार्यालय बन्द गर्दै आएको छ ।
महानगर सरकारले पनि विमानास्थल उद्घाटन गर्ने दिन खुसियालीमा बन्द गर्‍यो। अव त्यो रोग वडा सरकारसम्म सरेको छ । पोखरा महानगरपालिका वडा नं. १ वगरले घुमफिरका लागि वडा कार्यालय बन्द गरेर हिडेको छ । वडा कार्यालय वगरले २०७९ फागुन ५ गते सूचना प्रकाशन गरेर ६ गते देखि ८ गतेसम्म कार्यालय बन्द गरेर हलेसी खोटाङ र दोलखाको कालिञ्चोक जाँदा कार्यालय बन्द रहने उर्दी जारी गरेका थिए । कार्यालय बन्द गर्ने निर्णयको सूचना कार्यालय भित्र सूचनापाटीमा टाँसिएको थियो । लामो समयको बन्दबाट काम हुन नसकि आजित भएका नागरिकहरुलाई सेवा दिनुपर्नेमा विदा माथि विदा थपेर कर्मचारी र जनप्रतिनिधि घुमफिरमा गएका हुन् । १ नम्वर वडाका ३ जना जनप्रतिनिधि र ७ जना कर्मचारी सहित १० जनाको टोली खोटाङको हलेसी र दोलखाको कालिञ्चोक गएका थिए । उनिहरु ६ गते गएर ८ गते राति ३ बजे पोखरा फर्किएका थिए । वडा कार्यालयले अवलोकन भ्रमणको लागि आन्तरिक स्रोतबाट ३ लाख रुपैयाँ बजेट छुट्याएको छ । आन्तरिक स्रोत भन्नाले नागरिकले तिरेको कर राजस्व लाई वुझिन्छ । जनताले तिरेको कर राजस्व खर्च गरेर जनतालाई नै सास्ती भएको कुरा कसले बुझ्ने ?
यस विषयमा पोखरा महानगरपालिकाले २०७९ मंसिर २८ गते अवलोकन भ्रमण सम्बन्धि निर्देशन जारी गरेको थियो । प्रमुख प्रशासकीय अधिकृतले जारी गरेको निर्देशनमा अवलोकन भ्रमणमा जाँदा वडा कार्यायलको सेवा प्रवाहमा कुनै असर नपर्ने गरी विदा वा आलोपालो मिलाउन भनेको छ तर वडा नम्वर १ कार्यायले महानगरको निर्देशन विपरित कार्यालय नै बन्द गरेर बन्दको सूचना प्रकाशन गरी भ्रमण गएका छन् । (हेर्नुहोस् पत्र) यस अघि पनि वडा नं. १ कार्यालय नै बन्द गरेर लमजुङको घले गाऊँ लगायतको भ्रमण गएको भन्दै सेवाग्राहीले चर्को आलोचना भएको थियो ।
बन्दप्रति आम नागरिकले असन्तृष्टि व्यक्त गरेका छन्। महानगरले सूचनाको चिरकटो फालेको छ । तर त्यसको कार्यान्वयन शुन्य छ र पनि महानगरको मौनता रहस्यमय छ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: