सुविधामै मस्त छ विहादी गाउँपालिका, विकास बजेट काटेर ५६ लाखको सवारी थपियो

यदुनाथ बन्जारा
25 April, 2023 7:50 pm
Advertisements

पोखरा

मुलुक आर्थिक संकटमा परिरहेको छ, कर्मचारीलाई तलव खुवाउन समेत सरकारलाई धौ धौ परेको छ । अर्थ मन्त्रालयले खर्च कटौतीको निर्णय गरेको छ । सवारी साधन खरिद कार्य रोक्का गरेको छ तर पर्वतको विहादी गाउँपालिकालाई संघीय सरकारको त्यो निर्णयप्रति वाल मतलव छैन। कार्यपालिकाबाट निर्णय गराउँदै विकास बजेटको खर्च सवारी साधन खरिद गर्न र भाडामा सवारी लिनमै मस्त देखिन्छन् । मुलुकमा जारी आर्थिक मन्दीका वीचमा यही फागुनमा मात्र विहादी गाउँपालिकाले ५६ लाख ५० हजारको सवारी साधन खरिद गरेको छ । कार्यालयमा ग १ झ ३७७ नम्बरको स्कर्पियो जिप छ त्यो जिप पालिका अध्यक्ष परविन गुरुङ चढ्छन्, वा १ झ ८५०६ नम्बरको स्कर्पियो जिप छ त्यो जिप पालिका उपाध्यक्ष मिना वितारी चढ्छिन् । त्यति हँुदाहुँदै नपुगेर फागुनमा सिप्रदी कम्पनीको डब्बल क्याव पिकअप खरिद गरिएको छ । २०७९÷११÷१४ गते मुल्याङ्कन समितिको निर्णय अनुसार ३० लाख ३९ हजार रुपैयाँमा उक्त पिक अप किन्ने निर्णय गरिएको छ । त्यो पिक अप जिप कसको सुविधाको लागि छुट्याइएको हो त्यो भने खुलेको छैन् ।
वडा अध्यक्षलाई ४ लाखको २२० पल्सर वाइक
विहादी गाउँपालिका वडा अध्यक्षले गाउँपालिकाको खर्चबाट ३ लाख ९५ हजारको बजाजको २२० पल्सर रोजेका छन् । विकासका योजना र पारदर्शिता रोज्नुपर्ने कार्यपालिकाले २०७९÷११÷१४ गते ७ वटा नयाँ पल्सर वाइक किन्ने निर्णय गरेकोे खुलेको छ । ति मध्य २ वटा २२० पल्सर प्रति गोटा रु.३९४९०० का दरले गरि कुल रु.७८९८०० खर्च गरेका छन् । यस्तै १६० सिसीका प्रतिगोटा रु.३५३९०० दरका गरि ३ वटामा कुल रु १०६१७०० रुपैयाँ र १६० सिसिकै पल्सर रु.३७९९०० का दरले २ वटाको ७५९८०० रुपैयाँ गरि ७ बटा वाइक खरिदमा मात्र २६ लाख ११ हजार ३ सय रुपैयाँ खर्च गरेका छन् । ६ वटा वडा रहेको विहादी गाउँपालिकाले ७ वटा पल्सर किनेको छ । जबकी उक्त पालिकाका ३ वटा वडा अध्यक्षले अहिले पनि १ वटा स्कुटर र २ वटा मोटरसाइकल चढ्दै आएका छन् । ६ नं. वडा अध्यक्ष मन बहादुर वस्यालले पालिकाको ध १ व. ४७८ नम्बरको स्कुटर चढ्छन् यस्तै वडा नं. ४ का वडा अध्यक्ष विष्णु प्रसाद भुषालले ध १ ब १५७ नम्बरको मोटरसाइकल चढ्छन् भने वडा नं. २ का वडा अध्यक्ष गणेश शर्मा पौडेलले ग १ ब ५९५ नम्बरको मोटरसाइकल चढ्दै आएकाछन् । भइरहेको सवारीलाई प्रयोग गरेर पालिकाको नागरिकका हितमा विकास निर्माण कार्य गर्नु पर्नेमा नयाँ नयाँ महंगा र स्ट्याण्डर सवारी साधन खरिद गरि जनप्रतिनि नै सुविधा उपभोगमा केन्द्रित रहेको पुष्टिगरेको छ । सरकारको निति निर्देशन विपरित गई महंगा सवारी खरिद गर्ने कार्य यसै पनि अलोकप्रिय कदम हो । भने अर्को तर्फ पालिकाले सार्वजनिक खरिद नियम विपरित गई पल्सर वाइक खरिद गरिएको बुझिन आएको छ ।
वडा अध्यक्षहरुले पहिले नै वाइक रोजेका र पछि कागजी प्रकृया मिलाएको बुझिएको छ । यतिसम्म सुविधा भोगि देखियो कि पल्सर १५० वाइक जुन २ लाख ८० हजारमा पाइन्छ । त्यो वाइक नकिनेर १६० सिसीको वाइकलाई १ लाख बढि रकम हालिएको छ । उर्फाको धनमा फुपुको श्राद्ध गरे झै गरि विहादी गाउँपालिकाले नागरिकको कर र सरकारी कोषमा होली खेलेको छ । त्यस पालिकाले गरेको खरिद प्रकृयाको बारेमा अख्तियारले छानविन गर्न जरुरी देखिन्छ ।

आफ्नै गाडी आफैलाई भाडामा लगाउने विहादीका अध्यक्ष !

जननिर्वाचित भएका पालिका अध्यक्ष, वडा अध्यक्षहरुको आफ्नो अर्थ उपार्जनमा केन्द्रीत रहि विभिन्न टिकडम गर्ने गरेका फेहरिस्तहरु धेरै पटक सार्वजनिक भइसकेका छन्। आफ्नो पालिका भित्रका विकास निर्माण गर्न आफ्नै डोजर प्रयोग गर्ने, आफ्नै ट्रक ट्रिपर प्रयोग गर्ने र विना प्रतिस्पर्धा मनोमानी मूल्य असुल गरी आर्थिक र व्यापारिक फाइदा लिने प्रवृत्ति महारोग बनेर फैलिरहेको छ ।
केन्द्रीय सरकार, प्रदेश सरकार बाट प्राप्त विकास अनुदान र स्थानीय नागरिकहरुबाट असुल गरिएको कर राजश्वलाई विलासी सवारी साधन हरुमा खर्च गर्ने गरिँदा विकास निर्माण कार्य कटौती हुने क्रम बढेर गएको छ । यसतर्फ नियामक निकायले आँखा चिम्लिएको फाइदा पालिकाका जनप्रतिनिधिहरुले उठाइरहेको पाइन्छ ।


यस्तै विहादी गाउँ पालिकाका अध्यक्ष परविन गुरुङले आफ्नो श्रीमती रिनु गुरुङको नाममा रहेको जीप गाउँपालिकाको लागि भाडामा लिएका छन् । दुई वटा गाडी हुँदा हुँदै आफ्नो ग १ ज ७२११ नम्वरको जिप पालिकाले मासिक १ लाख १० हजार भाडा आफ्नो श्रीमती रिनु गुरुङलाई बुझाउने गरी भाडामा लिएका हुन् ।
विहादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुण वहादुर कार्कीले २०७९ माघ ११ गते सम्झौता पत्रमा हस्ताक्षर गरी ग १ ज ७२११ नम्वरको गाडी मासिक १ लाख १० हजार भाडा तिर्ने गरी सम्झौता गरेका हुन् । माघ ११ गते सम्झौता गरेपनि गाडी भाडा सम्झौता माघ १ गते बाटै लागु हुने सम्झौताको वुदाँ नम्वर १ मा उल्लेख गरिएको छ । सम्झौता भन्दा ११ दिन अगाडि बाटै भाडा भुक्तानी गर्नु पर्ने गरी भएको सम्झौता सेटिङमा भएको हुन सक्ने बुझिएको छ । त्यस सम्झौताले पालिकालाई २ लाख २० हजार रुपैयाँको अतिरिक्त व्ययभार थपिएको छ । संघिय सरकारले गरेको खर्च कटौती सम्बन्धी नीति निर्देशनलाई अवज्ञा गर्दै महंगा मोटर साइकल ७ थान र गाडी खरिद सम्बन्धि कार्य गरेको विहादी गाउँ पालिकाले थप गाडी भाडामा लिएर पालिकालाई व्ययभार थप्ने काम भएको छ ।

एउटै हस्ताक्षरका ३ वटा कोटेशन रहस्यमय

गाडी भाडामा लिने भन्दै विहादी गाउँपालिकाले कर्मकाण्डी प्रकृया पु¥याउन खोजेको छ । २०७९ पुष २४ गते गाडी भाडामा लिने सम्बन्धी एक हप्ता भित्र दर रेट माग गरिएको सूचना बनाइएको छ भने २ दिनभित्र एउटै हस्ताक्षरका ३ वटा कोटेशन पत्र तयार गरी रिनु गुरुङको नामको कोटेशन स्वीकृत गरी मध्य ११ गते भाडा सम्झौता गरिएको छ । पुष २८ गते लु १ ज ४०५९ का सवारी धनी नरेन्द्र क्षेत्रीको नामबाट १ लाख १५ हजार मासिक भाडा ९÷२६ गते ग १ ज ६००० नम्वरको जिप धनि रामकुमार हिताङको नामबाट १ लाख १७ हजार मासिक भाडा र सोही मितिमा ग १ ज ७२११ नम्वरको जिप धनि रिनु गुरुङको नामबाट १ लाख १० हजार मासिक भाडा दररेट पेश गरिएको छ । पेश गरेको दर रेट मध्य सवैभन्दा कम १ लाख १० हजार रुपैयाँ कवोल गर्ने रिनु गुरुङसँग सम्झौता गरिएको छ ।


सूचना र दररेट कर्मकाण्डी देखिन्छ । अझ रहस्यको कुरा त के छ भने तीनै जनाको नाममा पेश भएको दररेट पत्रमा एएटै हस्ताक्षर रहेको छ । पालिका अध्यक्ष परविन गुरुङ र प्रमुख प्रशासकिय अधिकृत चुण बहादुर कार्कीको मिलेमतो र सेटिङमा रिनु गुरुङको नाममा सम्झौता गरिउको छ रिनु गुरुङ परविन गुरुङको श्रीमती हुन् । देश र जनताको विकास निर्माणको खर्च गाडी घोडा सुविधामा खर्च गर्ने कार्य रोक्न राज्यको ध्यान जानु जरुरी छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: